काठमाडौं : मुक्तककार मीना चौलागाईंको मुक्तक सङ्ग्रह “मनोकाङ्क्षा” विमोचन भएको छ ।
शनिबार काठमाडौंको नेपाल प्रज्ञा-प्रतिष्ठानको पारिजात प्रवचनकक्षमा प्रतिष्ठानका कुलपति भुपाल राइको प्रमुख आतिथ्यतामा मीना चौलागाईको दोस्रो मुक्तकसंग्रह ‘मनोकाङ्क्षा’ विमोचन भएको हो ।
कार्यक्रममा कुलपति राईले मुक्तकले घटनाप्रधान र विषयवस्तुको प्रभावजन्य झट्का उत्पन्न गर्न सक्नुपर्छ। मुक्तक दर्शनढुङ्गा र चकमक ठोस्दा निस्किने झिल्को जस्तै बन्न सक्नुपर्छ। यस अर्थमा मुक्तककार मीना चौलागाईंका मुक्तक भावोत्पादक र सामयिक मूल्यबोध गर्न समक्ष रहेको बताउनु भयो ।
प्राज्ञ डा. कौशिला रिसालले मीना चौलागाईंद्वारा रचित ‘मनोकाङ्क्षा’ को समीक्षा गर्दै मुक्तक सङ्ग्रहमा प्रेम तथा शृङ्गारिक मनोभावना व्याप्त रहेको बताउनु भयो । मुक्तकमा सुखदुःखका कुरा, यथार्थ अनुभूति, मातृप्रेम, मानवीय संवेदना र आरोहअवरोह चित्रण गर्न सक्षम भएको डा. रिसालको भनाई छ।
कार्यक्रममा वरिष्ठ मुक्तककार ज्ञानुवकर पौडेल, नियात्राकार प्रतीक ढकाल, कवि- कलाकार रमेश पौडेल, मुक्तककार सुनिल अधिकारी, कृतिकारकी गुरु कोमल ढुङ्गेल कृतिकारकी सुपुत्री आयुश्री चौलागाईंले कृति र कृतिकारको चर्चा गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो ।
लोकार्पित मुक्तकसङ्ग्रहबाट पार्वती भट्ट, कार्मु चौलागाईं, प्रकाश बस्नेत गफाडी र निलाञ्जला भारद्वाजले तीन/तीनवटा मुक्तक वाचन गर्नुभयो।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको अध्यक्षतामा महासचिव यादव भट्टराईको उद्घोषण र प्रतिष्ठानका केन्द्रीय सदस्य दिव्य गिरीले स्वागत मन्तव्य राख्नुभयो ।
मुक्तककार चौलागाईंले मनोकाङ्क्षा’ मुक्तक संग्रहको विमोचन हुनु मेरो लागि अत्यन्त गर्वको र विशेष क्षण हेको बताउनुभयो।
मुक्तक लेखनका लागि सरल भाषा तर गहिरो अभिव्यक्ति हुनुपर्ने बताउनुभयो।
चौलागाईंको यस अगाडि पनि मुक्तक मिनार मुक्तकसङ्रह सार्वजनिक भैसकेको छ। आफू पहिलेदेखि नै मुक्तक विधामा प्रतिबद्ध भएर लागेको र यो दोस्रो कृतिबाट थप जिम्मेवारी महसुस भएको लेखक चौलागाईंको भनाई छ। मनोकाङ्क्षामा विभिन्न भाव र विषयका ३१२ वटा मुक्तक समेटिएका छन् ।