काठमाडौँ । नेपालको शान्तिक्षेत्र प्रस्तावबारे अनुमा कोइरालाले लेखेको ‘अनवेइलिङ द मिस्ट्रिज अफ नेपाल्स पिस जोन एण्ड पोलिटिकल डेडलक’ Unveiling the mysteries of Nepal's Peace Zone and Political Deadlock पुस्तक प्रकाशन भएको छ ।
बुक आर्ट नेपालले प्रकाशन गरेको पुस्तक काठमाडौँमा एक कार्यक्रमबीच विमोचन भएको हो ।
नेपाल-इण्डियाबीचको सम्बन्ध र राजा वीरेन्द्रले पेश गरेको शान्तिक्षेत्र प्रस्तावबारे रहस्योद्घाटन गरिएको पुस्तक अङ्ग्रेजी भाषामा लेखिएको छ ।
विमोचन कार्यक्रममा बोल्दै प्राध्यापकहरूले नेपाललाई शान्तिक्षेत्र घोषणा गर्नुका भित्रि तथ्यहरूलाई पुस्तकले रहस्योद्घाटन गरेको बताए । विमोचनका क्रममा बोल्दै वरिष्ठ अधिवक्ता एवं सामाजिक अभियन्ता स्वागत नेपालले यस पुस्तकले पाठकलाई तमाम भ्रमबाट मुक्त गराएको बताए । पुस्तकमा समेटिएका अनुसन्धानमा आधारित तथ्यहरू पढेपछि, नेपाल दुई ढुङ्गाबीचको तरुल नभएर दुई तरुलबीचको ढुङ्गा भएको आफूले महसुस गरेको उनको भनाइ थियो ।
अहिलेसम्म सार्वजनिक नभएका इतिहासका महत्त्वपूर्ण विषय पनि पुस्तकमा उजागर भएको नेपालले बताएका छन् । उनले यस पुस्तकलाई पाठ्यक्रममा समावेश गर्न सके नयाँ पुस्ताले पनि ऐतिहासिक घटनाक्रमलाई सही अर्थमा बुझ्न मद्दत पुग्नेमा जोड दिए ।
पुस्तकमाथि समीक्षा गर्दै कोइरालाका सोध निर्देशक समेत रहेका डा. निरञ्जन ओझाले विश्वविद्यालयमा पेश गर्ने अनुसन्धान पत्र एउटा निश्चित ढाँचामा बुझाउनुपर्ने भएपछि त्यसमा नअटेका विषयलाई पुस्तकका रूपमा प्रकाशन गर्न सुझाव दिएपछि पुस्तक तयार भएको बताए । उनले यस्तो पुस्तक प्रकाशन गर्दा आउने सम्भाव्य रहेको र ती चुनौतिको सामना गर्ने हिम्मत सहित पुस्तक बजारमा ल्याइएको भनाइ राखे ।कोइरालाले स्नातकोत्तरमा आफ्नो अनुसन्धान पत्र विश्वविद्यालयमा पेश गर्ने क्रममा संकलन गरेका तथ्यहरूलाई पुस्तकको रूप दिइएको बताइन् ।
विश्वमा नेपाललाई एक शान्तिप्रिय मुलुकका रूपमा परिचित गराउने उद्देश्यले गरिएको ‘शान्ति क्षेत्र प्रस्ताव’ को आजको अवस्था र उक्त प्रस्तावलाई इण्डियाले समर्थन नगर्नुका कारणसहितका नयाँ खुलासा र परिप्रेक्ष्य समेटेर पुस्तक प्रकाशन भएको लेखिका कोइरालाले जानकारी दिइन् ।
अनुसन्धानमा आधारित यस पुस्तकमा नेपालमा हुँदै आएका ठूला राजनीतिक परिवर्तनहरूसँग शान्ति क्षेत्र प्रस्ताव कसरी जोडिएको छ भन्नेबारे खुलासा गरिएको छ । पुस्तकले नेपाल र इण्डियाबीचको पुरानो तर जटिल सम्बन्धका धेरै विषयलाई सतहमा ल्याएको छ । पुस्तकमा दुई देशको ‘विशेष सम्बन्ध’ले बारम्बार भोगेको अवरोधका दीर्घकालीन असरलगायतका विषयलाई समेत समेटिएको कोइरालाको भनाइ छ ।
राजा वीरेन्द्रले सन् १९७३ को सेप्टेम्बरमा अल्जेरियामा सम्पन्न असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा शान्ति क्षेत्र प्रस्तावको अवधारणा अघि सार्दै विश्वका दुई ठूला देशबीच अवस्थित नेपालले आफ्नो भूगोल शान्ति क्षेत्र रहनुपर्ने चाहना राखेको बताएका थिए ।
नेपालले असंलग्न विदेश नीति अँगाल्ने धारणा राख्दै राजा वीरेन्द्रले भनेका थिए, ‘हामीलाई सुरक्षाका लागि शान्ति चाहिन्छ, हामीलाई हाम्रो स्वतन्त्रताका लागि शान्ति चाहिन्छ र हामीलाई विकासका लागि शान्ति चाहिन्छ ।’
पूर्वराजदूत प्रा.डा. मोहनप्रसाद लोहनीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेकपा मालेका अध्यक्ष सीपी मैनाली, इतिहासविद् डा. हेमन्तशमशेर जबरा र अधिवक्ता स्वागत नेपाल लगायत विशेष अतिथिका रूपमा रहेका थिए ।
पुस्तकमा यी विषयलाई समेटिएको छ
- विश्वमा नेपाललाई एक शान्ति प्रिय मुलुकका रूपमा परिचित गराएको शान्ति क्षेत्र प्रस्ताव आज कुन अवस्थामा छ ?
– सो प्रस्तावलाई इण्डियाले समर्थन नगर्नुका कारण के थिए ? –
के यो प्रस्ताव नेपालको आजको बदलिँदो भूराजनीतिकक परिवेशमा असान्दर्भिक छ वा सान्दर्भिक नै छ ? त्यसका कारणहरू के छन् ?
– के शान्ति क्षेत्र प्रस्ताव मरिसकेकै हो ?
– नेपालमा भइरहेका ठूला राजनीतिक परिवर्तनहरूसँग शान्ति क्षेत्र प्रस्ताव कसरी जोडिएको रहेछ ?