राष्ट्रियसभाका सदस्यहरुले शून्य समयमा कोभिड–१९ विरुद्धको खोप, मेलम्चीका बाढीपीडितलाई क्षतिपूर्ति, दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएकाका परिवारलाई न्याय तथा सुकुम्बासीका समस्या चाँडो समाधान गर्न सरकारसँग माग गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरुले कोरोना महामारी बढ्दै गएकाले सबैलाई खोपको व्यवस्था गर्नुपर्ने, भूमिहीनलाई जग्गाको व्यवस्था गर्नुपर्ने, यात्रा गर्दा ट्याक्सी चालकले ठग्ने गरेकाले त्यसप्रति ध्यान दिन सरकारसँग माग गर्नुभयो । सांसद खिलकुमार विकले खोप आपूर्ति गरी सबैलाई व्यवस्थितरूपमा लगाउन सरकारसँग माग गर्नुभयो ।
वृद्धवृद्धाले लामो समयसम्म लाइनमा बस्नुपरेको भन्दै उहाँले त्यसलाई सहज बनाउन सुझाव दिनुभयो । सांसद उदय शर्मा पौडेलले काठमाडौँ उपत्यकामा ट्याक्सी चालकले ठग्ने गरेकाले उनीहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । ट्याक्सीमा यात्रा गर्दा मिटरमा भाडादर निर्धारण गर्न उहाँले माग गर्नुभयो ।
सांसद कविता बोगटीले दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेका कारण जयसिंह धामी बेपत्ता भएको घटनामा सरकारले भारतीय पक्षको पक्षपोषण गरेको आरोप लगाउनुभयो ।
बेपत्ता धामीको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन उहाँले सरकारसँग माग गर्नुभयो । सांसद कोमल वलीले राष्ट्र निर्माणमा कलाकारको उल्लेख्य भूमिका रहेको भन्दै कलाकारलाई पीर, मर्का परेका बेला राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । कलाकार पल्पसा डङ्गोलको स्वास्थ्योपचारका लागि पहल गरिदिन उहाँले सरकारसँग माग गर्नुभयो ।
सांसद खिमलाल देवकोटाले सिन्धुपाल्चोकको मेलम्चीलगायत स्थानमा बाढीले अत्यधिक क्षति गरेकाले उनीहरुलाई सुरक्षित ठाउँमा बसोबासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
सांसद चक्रप्रसाद स्नेहीले देशभर लाखौँ सुकुम्बासी रहेको भन्दै उनीहरुलाई जग्गाको व्यवस्था गर्न सरकारलाई सुझाव दिनुभयो ।सांसद जगप्रसाद शर्माले शैक्षिक मजदुर समस्यामा परेकाले उनीहरुको समस्या समाधान गर्न सरकारले पहल गरोस् भन्नुभयो ।