काठमाडौं । संवैधानिक परिषदमा विभिन्न संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति असंवैधानिक रहेको भन्दै सभामुख अग्नि सापकोटा रिट लिएर सर्वोच्च अदालतमा पुगेका छन् ।
संसदीय सुनुवाइबिना गरिएको नियुक्ति अवैधानिक रहेको भन्दै सभामुख सापकोटासहित शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायतका विघटित प्रतिनिधिसभाका सदस्यहरू पनि शपथग्रहण र नियुक्ति बदर गर्न माग गर्दै अदालत पुगेका छन् ।
रिक्त रहेका विभिन्न संवैधानिक आयोगका पदाधिकारीको बुधबार नियुक्ति गरिएको थियो । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न आयोगका पदाधिकारीको नियुक्ति गरेकी थिइन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोग लगायत संवैधानिक निकायमा प्रमुख आयुक्त, अध्यक्ष, आयुक्त, सदस्य लगायत पदाधिकारी नियुक्ति भएको छ । गत मंसिर ३० गते बसेको संवैधानिक परिषद् बैठकले विभिन्न संवैधानिक निकाय र आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो ।
संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुनुपर्छ । तर प्रतिनिधि सभा विघटन भएको अवस्था संसदीय सुनुवाइ हुन सक्दैन । यस्तो अवस्थामा सिफारिस भएको ४५ दिनमा स्वतः नियुक्त हुने व्यवस्था छ ।
सभामुख सापकोटाले भने सो नियुक्तिको विषयमा सुरु देखि नै असहमति जनाउँदै आएका छन् । उनी संवैधानिक परिषद् बैठक तथा सपथग्रहण समारोहमा समेत अनुपस्थित थिए ।