यहीँ कार्तिक ६ गते आमाको स्मृति दिन भएकाले श्राद्ध गर्न पोखराको घरमा गएको थिए, म। श्राद्धको कार्यक्रम सकिएपछि पोखराकै प्रतिष्ठित स्कूल शान्तीनिकेतनका संस्थापक तथा पृथ्वीनारायण क्याम्पसका प्रध्यापक मेरा अनन्य मित्र डा. महेश्वर पराजुली सर छोरेपाटन घरमा भेटघाटका लागि आउनुभयो। केहीक्षणको भलाकुसारीपछि हामी लाग्यौँ लेकसाइड हुँदै खपौदीमाथि टापुमा अवस्थित फ़जाण्ट रिसोर्टमा।
रिसोर्ट भव्य थियो। स्विमिङ पुल, पिङ, गार्डेनलगायतका सानासाना कटेजले निकै सजाइएको थियो। खपौदीकोमाथि टापुमा त्यती भव्य रिसोर्ट भएको मलाई थाहै थिएन। तर, चाखलाग्दो कुरा के भने,- रिसोर्ट भव्य थियो तर ग्राहक शून्य। हामीले एक वेटरलाई खाजाको अर्डर दियौँ तर त्याहा नौ जना वेटर पालै पालो 'के ल्याऊ?' भन्दै सोध्न आइपुगे। रिसोर्टमा ग्राहक कोही नहुँदा र हामीलाई देख्दा सबैको ध्यान हामीतिरै आकर्षित भयो। मनोरम ठाउँ जहाँबाट फेवाताल र बजारको सुन्दरताको रस्पान गर्न सकिन्छ, खपौदीको टापुबाट त्यहाँ ग्राहक नै नजानु अचम्म जस्तै भो। नजिकका अन्य होटल पनि ग्राहकको ब्यग्र प्रतीक्षामा रहेको पाउँदा केही नमज्जा पनि लाग्यो।
त्यहाँ बसुन्जेल र पछि पनि मेरो मनमा कुरा खेल्यो- करोडौँको लगानी र १५-२० जना कामदार राखेका यी होटल/रिसोर्टहरूले खर्च कसरी धानेका होलान्? लगानीको व्याज र कामदारको तलबसहित नाफा सायद पर्यटन सिजनमा आर्जन गर्छन होला कि! हुन त अहिलेको समयपनि मौसमका हिसाबले प्रसस्त पर्यटक हुने समय हो। एसइईपछि रिसोर्टमा वेटर काममा लागेकी म्याग्दीको बेनीकी एक जना स्टाफलाई सोध्यौँ- ग्राहक कति आउँछन्? उनको जवाफ- 'कहिलेकाहीँ ग्रुपमा आन्तरिक पर्यटक र सहरका जोडी आउँछन् तर आजको ग्राहक त हजुरहरू मात्र हो। खै साँझपख आउँछन् कि!'
हामी साँझको करिब ६ बजेसम्म त्यहाँ खाँदै गफियौँ तर कोही नयाँ मान्छे आएको देखेनौँ। लाग्यो, त्यो मनमोहक ठाउँ रिसोर्टले अझै लगानी अनुसारको ग्राहक पाउन सकेको छैन। हामी त्यहाँबाट फर्कियौँ। पराजुली सरको गाडी कुद्यो मलाई छोरेपाटन घरमा छाडिदिन। भोलि फेरी अर्को नयाँ ठाउँमा घुम्न जाने भनी हामी छुट्टियौँ।
अचानक गाउँतिरको यात्रा
घर फिरेपछि साँझ दाजीले मलाई गाउँमा गएर जग्गा सम्बन्धी एक सिफारिस ल्याउन भनी कागजातको पोको जिम्मा लगाउनुभयो। यो उमेरसम्म दाजीले दिएको आदेश आनाकानी गर्ने हिम्मत नगरेको म नर्सरीको बच्चाले मिसले भनेको माने झैँ हस्, भने। भोलि अर्को नयाँ ठाउँ जाने हाम्रो योजना सम्भव नभएको कुरा मित्र पराजुलीलाई फोनमार्फत् जानाकारी दिए। हुन त भोलिपल्ट मेरा पुराना सहकर्मी मित्र भद्रराज त्रिपाठीलगायत धेरैँसँग भेटघाट गर्ने कार्यक्रम थियो तर दाजीसामु भनेको 'हस्'ले सबै 'प्लान' रोक्किए। यद्यपि, व्यावसायी तथा स्कूल संचालक बलबहादुर थापा सर ७ गते बिहान मलाई भेट्न घरमा आउनुभयो। एकछिन व्यवहारिक गफ गरियो। गफैगफमा झुलेर मेरो जन्म गाउँ स्याङ्जा आरुचौर जाने ९ बजेको नै बस छुटेछ।
बल सरले गाडीमा पृथ्वीचोक पुर्याइदिनु भो, १०:३० को बस चढ्नका लागि। दाजुको सल्लाह थियो, बसको टिकट लिइहाल्नु नत्र सिट पाइँदैन। त्यसैले मैलेपनि टिकट तुरुन्तै लिएँ। सिट सुरक्षित गरेँ। गाडी पोखराबाट आरुचौर स्याङ्जा प्रस्थान गर्यो। पिचबाटो कार्किनेटासम्म भएको हुँदा गाडी कार्कीनेटासम्म सहजै पुग्यो र त्यहाँ करिब एक घण्टा रोकियो। चिया पसलमा केही स्थानीय युवा पोखराको जुलुस, रवि लामिछाने र रास्वपाका बारेमा गफ गर्दै गरेको पाएँ। केही समय त्यहीँ गफमा सामेल भएँ। सायद, मेरो तर्क स्वीकार्य भएछ क्या रे! त्यहाँका गफमित्रहरूले फोन नम्बर लिनुभयो र त्यहीँ मेरो फेसबुकमा फ्रेन्ड रेक्वस्ट पठाउनुभयो। जुन मैले तत्काल स्वीकारेँ। खुसी लाग्यो छिमेकी गाउँमा मेरा साथी थपिए। अगी गाडी छुटेको पश्चाताप भएन। गाडी चल्यो कच्ची बाटो हुँदै अनि बयाले पुग्यो। म त्यहीँ झरेँ र पैदलयात्रामा वडा कार्यालय पिपलडाँडाँ तिर लागेँ।
अर्जुनाचौपारी- ५ आरुचौरका वडाअध्यक्ष मेरा प्रिय भाइ बद्रि पौडेललाई फोन घुमाएँ। तर, उहाँ आफ्नी ठूलीआमाको निधन भएका कारण काठमाडौँ तिर लाग्नुभएको रहेछ। तैपनि कार्यबाहक अध्यक्ष मेरा छिमेकी प्रिय भाइ बेल थापा र सचिव विष्णु बगाले जीले सिफारिस सहजै बनाइदिनुभयो।
त्यसरात बस्न काहुरे मामाघर जाने कि भनेर भाइ गोविन्द पौडेललाई फोन गरेँ। उनी पोखरा रहेछन्। सचिव भाइ विष्णुको बाइकमा बयाले मेरो जन्मस्थानमा झरेँ।
हामी जाने बाटैमुनी बलाराम चापागाई अंकलको घर थियो। त्यहाँ झरेर सबै चापागाई बन्धुको घरमा पसी भेटघाट गर्ने निधो गरेँ। घरभित्र पस्नासाथ बलाराम अंकलले मेरो झोला लगेरभित्र राख्दै सबैकोमा जाने तर बस्न चाहिँ आफ्नोमै आउने शर्त राख्नुभयो। यद्यपि, उहाँ र आन्टी दिनभर परालका भारी बोकेर थकित हुनुहुन्थ्यो। मनमा उहाँहरू थकित हुनुहुन्छ के दु:ख दिने भन्नेखालको भाव भएपनि मैले कुरा नकार्न नसकी मैले हुन्छको भावमा मुन्टो हल्लाएँ।
खाजा खाएर बन्धु टोल लाग्यौँ। ठूलीआमा, दीर्घ, ईश्वरी अंकल, डिल्ली दाइलगायत सबैलाई भेटियो। ९७ वर्षीय हजुरबुवा मणिरत्न चापागाई र हजुरआमालाई भने भेट्न पाइएन किनकी उहाँहरू सुतिसक्नु भएको थियो। भोलि बिहान दर्शन गर्ने विचार गरी बासबस्न पुन:बालाराम अंकलको घरमा फर्कियौँ।
गाउँमा कोदोको अभाव
मैले कोदोको रोटी खाने इच्छा जाहेर गरेँ। तर कोदोको पिठो छैन क्यारे भन्नुभयो आन्टीले। मलाई कोदोको रोटी खाने रहरनै भएको हुँदा दीर्घ अंकललाई कोदोको पिठो छ कि भनेर फोन गरेँ। तर, भैसीको पाडालाई खुवाउने खस्रो पिठो मात्र भएको बताउनुभयो। ईश्वरी अंकललाई फोन गरेँ। फोन उठेन पछि भन्नुभयो,- खोजेको भए अलिकति थियो कि! अन्य ठाउँमा पनि फोन गरेँ। तर, रोटी नै बनाउन मिल्ने गरी पिसेको कोदोको पिठो नभएको भन्नुभयो। मैले बुझे गाउँमा कोदोको रोटी खाने चलन कम भएछ। गाउँमा कोदोको परिकार खाने चलन हराउँदै गरेको कुरा बालाराम अंकलले पनि बताउनुभयो। हुन त गत साल कोदोखेती त्यती फस्टाएको पनि रहेनछ। गाउँमा पहिला-पहिला अर्थात् म स्कूल कलेज पढ्ने बेला कोदोको ढिडो बिहान र रोटी बेलुका खाने नियमित मूल खाना थियो। धान कम फल्ने र कोदो धेरै फल्ने ठाउँ भएको हुँदा कोदो नै मुख्य खाना थियो, हाम्रो गाउँमा। पाहुँना आउँदा कोदोको ढिडो लुकाएर खान भन्नुहुन्थ्यो आमाले अनि हामीले लुकाएर खाने गर्दथ्यौँ। भात त ढिडोपछि थोरै मात्र पाइन्थो। प्रसस्त भात खान चाडवाड नै पर्खिनुपर्थ्यो, मेरा धेरैँ साथी दौतारिलाई। तर, आज गाउँमा कोदो पाइँदैन र खाइँदैन बरु गाईवस्तुलाई खुवाइन्छ।
मधेस/भारतका धान चामल नै मुख्य खानाको रुपमा प्रयोग हुनेरहेछ। गाउँको पुरै खेत रोप्दा त अधिक ढिडो खाएपछि मात्र थोरै भात चाख्न पाइन्थ्यो भने अहिले त आइरुम्टा तलका सबै खेत बाझो छोडिएका छन्।
भोलिपल्ट बिहान अंकलहरूले भन्नुभयो-'टाढाका खेतबारीमा खेती गर्न युवा जनशक्ति छैन। सबै बाँझा छन्। कोदो खेती गर्ने, ढिडो-रोटी खाने चलन करिब शून्यप्राय भएको छ, गाउँमा। खेतबारीमा काम गर्ने युवा जनशक्ति सबै बेदेसमा छन्। विदेशबाट पैसा आउँछ। त्यसैले चामल किन्यो भात खायो, कोदो खेती हराउँदै गयो।' पाहुँना आउँदा घरभित्र निख्लो ढिडो खाएर थोरै भात डल्लोपारी हातमा लिएर बाहिर निस्की कुकुरलाई चेचे भनी बोलाउने चलन पनि थियो रे गाउँमा! ता कि पाहुँनाले बुझुन् यो घरमा भात पाक्दो रहेछ भनेर। अचम्मै लाग्यो मुख्य खानाको रुपमा कोदोको परिकार लुकाएर खान पर्ने मेरो गाउँमा अहिले कोदोको पिठो खोज्दा पाउन गाह्रो भयो। कोदोको अभाव भएछ। या भनूँ गाउँमा बजारको हावा पसेछ।
कृषिको रहर र डिल्ली दाइ
चिटिक्क परेका ढुंगेघर, फराकिलो आँगन, गाउँकोबीचैमा मोटरबाटो, गाउँकैमुनी पायक परेको धानखेत, माध्यमिक तहसम्म अध्ययन गर्न गाउँमै विद्यालय। स्वास्थ्य चौकी र टेलिभिजन, इन्टरनेट सुविधा भएको गाउँभन्दा टाढा काठमाडौँको धुलो-धुवामा बस्नु परेकोमा मलाई अहिले पश्चाताप लाग्छ। अक्करे भीर फोडेर खनेका सडकमा मोटर गुडेका छन्। चप्पलको सोललाई गोलाकार रुपले काटेर हामीले आफ्नै गाडी गुडाउँथ्यौँ। अहिले गाउँको बिचबाट गाडी चल्छ। आची गरेर पात वा ढुंगाले पुछ्दै दौडिन्थ्यौँ, अहिले हरेक घरमा सैचालय धारा छन्। तर, गाउँबाट बसाईँसरी जाने क्रम रोकिएको छैन। गाउँमा कच्ची बाटो त बन्यो तर मोटरबाटो कालोपत्रे नबनेको हुँदा गाउँमा विकासको अनुभूति नगरेकाले युवाहरूले गाउँ छाडेको पनि थाह पाएँ। गाउँमा खरले छाएका घर देख्नै मुस्किल छ। गाउँमा भौतिक विकाससँगै ग्रामिण जनताको जीवनशैली परिवर्तन भएको छ। तर, युवा नहुँदा गाउँ शून्य जस्तै छ। विकासका पूर्वाधार गाउँमा पुगेका छन्। तर, गाउँमा युवा छैनन्। अध्ययन, व्यापार, रोजगारी र बसाईँसराइका कारण गाउँका अधिकांश घरमा ज्येष्ठ नागरिक र महिला मात्र छन्। यस्तो अवस्था आरुचौर गाउँको मात्रै होइन, जिल्लाका सबै स्थानीय तहमा उस्तै छ। गाउँका युवाजति विदेश रहेछन्। पहिला भारत र मिडल इस्ट तिर मात्र जाने गरेका युवा अहिले युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान, कोरियालगायतका देशहरूमा पनि जान थालेछन्। छोराछोरी भेट्ने क्रममा बुवा आमाहरूले पनि तत् तत् देश घुमेर आएका पनि रहेछन्। युवा जनशक्ति विदेसिएकाले धेरै उर्बर खेतबारी बाँझै पल्टिएको रहेछ। विदेशबाट रेमिटान्स् आउने हुँदा कोदोको परिकारसमेत कम प्रयोग गरिन थालेको रहेछ।
गाउँको यस्तो बिसम् परिवेसमा पनि बयालेका मेरा दाइ डिल्ली चापागाईँको कृषिप्रतिको लगाव र कर्मशील चाहना गाउँकाऔषतको दैनिकीभन्दा निकै फरक देखियो। डिल्ली दाइ लामो समय रोजगारिको शिलसिलामा भारतको यमुनानगर बिताएर आएका भएपनि गाउँमा कृषि पेशा गर्नुपर्छ भनी प्रसस्त खेतबारीमा अन्नबाली लगाउनुभएको रहेछ। यो देख्दा निकै गज्जब लाग्यो।
गाउँमा गोरु पाल्न छाडिसकेका रहेछन्, धेरैँले। तर डिल्ली दाइले हल गोरु पालेर ८/१० हलको खेत र ३/४ हलको बारीमा अन्नबाली लगाउने गर्नुभएको रहेछ। मौसम अनुसार करिब ४५/५० मुरी धान र १२/१५ मुरी कोदो फलाउनुहुँदो रहेछ आफ्नै खेतबारीमा। उमेरले छ दसक पार गरेका भएपनि डिल्ली दाइ कर्मले अझै तन्नेरी उर्जाशील र फुर्तिला हुनुहुन्छ। बाख्राका अतिरिक्त रागो पनि पालेको र घरमा सानो कुट्न-पिसनको मिलसमेत राखेको पाएँ, उहाँले।
छिमेकी गाउँ कार्कीनेटामा धान, तोरी पिस्ने पेल्ने मेसिन कुक-कुक गर्दै आवाज निकाल्ने गर्थ्यो अनि हामी पनि बाल्यकालमा दुवै हात शंख जस्तै बनाएर त्यस्तै आवाज निकाल्ने प्रयास गर्थौँ। अहिले डिल्लिदाइ कै घरमा रहेछ मिल। घरको अर्गानिक अन्न र सागपात तरकारी खाइ उब्रेको अन्न बेचेर आर्थिक आय पनि गर्नुहुँदो रहेछ। गाउँमा रागो अभाव भएकाले रागो पालेर वर्षमा ६०/७० हजार त रागोबाट नै नगद आय गर्नुहुँदो रहेछ। मिलबाट र बाख्राबाट अतिरिक्त नगद आय हुँदो रहेछ। उहाँका अनुसार आरुचौरमा उहाँलगायत जम्मा ३/४ जनाले मात्र रागो पालेका छन् रे! उहाँ भन्नुहुन्छ,'अन्यत्र एक भैसी बराबर रु. १५०० पनि लिन्छन् रागोको भाडा तर मैले रु. १००० मात्र लिने गरेको छु र पनि ६०/७० हजार रागोबाट वार्षिक कमाई हुन्छ, बाख्राबाट र मिलबाट पनि अतिरिक्त नगद कमाई हुन्छ भने अन्न बेचेर पनि कमाइ हुन्छ। ताजा अर्गानिक अन्न, साग तरकारी, घीउ, दुघ मोही परिवारले खाएका छौँ। कपडा र नुन चिनी बाहेक खासै किन्न पर्दैन। मेरो लागि अमेरिका युरोप सबै यहीँ हो भाइ।'
राधा भाउजु भन्दै हुनुहुन्थ्यो,'दाइ त बेस्सरी मेहनती हुनुहुन्छ बाबु। म त उहाँजती काम गर्न सक्दिनँ।' दाइको कृषि मोह र पशुपालनको सोखका कुरा सुन्दा नै आनन्द महसुस भयो मलाई र लाग्यो कर्म गर्न सक्ने डिल्ली दाइ जस्ता कर्मशील युवालाई आरुचौर गाउँमै छ युरोप, अमेरिका।
मसँग कुरा गर्दापनि फुर्सद थिएन डिल्ली दाइलाई। कोदालीको बिड बनाउँदै हुनुहुन्थ्यो। उमेरले मध्य साठीको दसकमामा पुगे पनि जोशजागरले र क्रियाशीलाताले २०/२५ वर्षको जस्तो देखिने डिल्ली दाइ धेरैका लागि उदाहरणीय पात्र हुनुहुन्छ र उहाँको कर्मशील जीवनलाई शीर झुकाएर नमन गर्न मन लाग्छ। पछिल्लो बोइलर पुस्ता(केही काम नगरेको मोर्डन पुस्ता)लाई एक कथाको पात्र जस्तो लाग्न पनि सक्छ, डिल्ली दाइ। उहाँको यो कृषिकर्म, कृषिमोह र लगनशीलतालाई वडा/पालीकाले प्ररेणा, अनुदान र स्याबासी दिँदै उहाँको कर्मशीलातालाई जीवन्त राखोस् र युवा पुस्तालाई कृषिकर्मतर्फ आकर्षण गर्ने प्याकेज प्रोग्राम/योजना ल्याउने प्रयास गरोस भन्न चहान्छु।
गाउँलाई राज्यले आधुनिक कृषि प्रणालीमा समेट्न नसक्दा गाउँ रित्तिन लागेको छ। सबै दिल्ली दाइ जस्तै परम्परागत कृषिलाई निरन्तरता दिने हिम्मत गर्दैनन्। र गरेपनि उहाँजस्तै टिकिराख्न सक्दैनन्।
गाउँमा विहे गर्ने उमेरका केटी अभाव
गाउँका युवाहरू +२ वा ब्याचालर लेभलको अध्ययन पूरा गरेपछि विदेस जाने राष्ट्रिय चरित्र नै बनेको छ, यतिबेला। पहिला भारतका विभिन्न ठाउँ र खाडी मुलुकमा जाने आरुचौरे युवाहरू अहिले युरोप, अमेरिकालगायतका विकसित मुलुकमा रोजगारी अध्ययनका शिलसीलामा पुगेका रहेछन्। औषतमा धेरै युवाहरू दक्षिण कोरियामा रोजगारीमा गएका रहेछन्। 'कमाइ पनि राम्रो, अनि विवाहपछि श्रीमती पनि लैजान पाउने। बाउआमा घुम्न जान पनि पाइने भएको हुँदा कोरियानै हाम्रा केटाकेटीहरूको पहिलो रोजाइ बनेको छ' एक स्थानीयले सुनाउनुभयो। ढिलो विहे गर्ने नयाँ फेसन र दुवई, साउदी, कोरिया गएर कमाई गर्न थाल्दा केटाहरूको उमेर २८/३० वर्ष थाहै नपाइ पुग्दो रहेछ। कमाइको रसास्वादन गरेका अविभावकले पनि त्यो उमेरसम्म विहेको लागि खासै चासो दिँदा रहेनछन्। १४ वर्षको उमेरमा एसएलसी दिएर स्याङ्गजाबाट घर फर्किएको भोलिपल्टै १२ वर्षकी केटी विहे गरी भित्राएको म आहत जस्तो कल्चरल भिक्टिमलाई अहिले अलि छिटो जन्मिएछु कि जस्तो लाग्ने रहेछ।
बलाराम अंकल, गाउँकै प्राविका स्थायी शिक्षकका एक छोरा कोरियामा रहेछन्। अहिले २७/२८ वर्षका रहेछन् र उनको विवाह गर्ने सोचमा हुनुहुँदोरहेछ अंकल। बाबु पनि विवाह गर्न मन्जुर। अंकलले आफ्नो छोराको लागि विहे गर्न योग्य उमेर समुहको केटी आफ्नै गाउँ र ओरपर गाउँमा खोज्दै रहँदा रोजेर विहे गर्न केटीको संख्या नभएको सुनाउनुभयो।
केटाहरू विदेसमा कमाउन ब्यस्त हुँदा यता केटीहरूको विहे भइ सकेको हुने र बचेका पनि कोहीँसग प्रेम सम्बन्धमा हुने भएकाले विवाहका लागि केटी पाउन मुस्किल भएको उहाँले बताउनुभयो। नेपालमा जनसांखिक हिसाबले पुरुषभन्दा महिला बढी भएको तथ्यांकले देखाए पनि मेरो गाउँ तिर विशेषत ब्राम्हण परिवारमा विहे गर्ने उमेर समूहका केटीको अभाव रहेको थाह पाएँ। अहिलेका युवाले ढिला विहे गर्ने र एक सन्तानभन्दा बढी जन्माउन नचाहने आम प्रवृत्तिले पनि यस्तो हुन गएको हुन सक्छ।
पहिलो छोरा जन्मियो भने दोश्रो सन्तान जन्माउन नखोज्ने गर्नाले पनि जनसाख्यिक असमानता देखिन थालेको छ। अघिल्लो महिना सेप्टेम्बर १०-२९ करिब तीन हप्ता म चीन भ्रमणमा रहँदा चिनियाँ प्रोफेसर मिङ् म्याङ्ले भनेका थिए, चीनमा एक सन्तानको नीतिले ठूलो जनसांखिक असमानता निम्ताएकाले हाल चिनियाँ सरकारले तीन सन्तानको नीति ल्याएर विभिन्न प्याकेज प्रोग्राम लन्च गरेको छ।
मलाई लाग्यो, सायद नेपालले पनि ढिलोचाडो यो नीति अबलम्बन गर्नुपर्ने छ। नत्र ठूलो जनसांखिक विसमता देखिने छ। लैंगिक विभेद अहिले पनि नेपालमा पर्दाभित्र प्रसस्त छ। सिद्धान्त, शिक्षा र संविधानले समानता भनिरहँदा पनि प्रायको प्राथमिकता छोरा जन्माउनुमा रहेको तितो सत्य हो। परिणाम स्वरुप अहिले नै विवाह उमेरका केटीको संख्या कम देखिन थालेको छ। अंकलले भदै हुनुहुन्थ्यो एक दुई केटी पाइन्छन् तर बुझ्दै जाँदा तिनीहरू पनि विदेसमा बस्ने केटासँग प्राय:सामाजिक संजालमार्फत प्रेम सम्बन्ध रहेर विवाहको मिति पर्खेर बसेका हुँदा रहेछन्। अर्का तिर केटीहरू पनि विदेस जाने भएकाले उतै तिर आफ्ना लागि जीवनसाथी खोजेर बस्दा रहेछन्। विवाह गर्न मात्र गाउँ आउने वा उतै लिभिङ् टुगेदर मा बस्ने पनि गर्दा रहेछन्। यता गाउँतिर पनि प्रेम विवाह बढ्दै गएकाले मागी विवाहका लागि केटी पाउन मुस्किल हुँदै गएको रहेछ। त्यो मेरा लागि नयाँ कुरा भयो। यसपटकको गाउँ बसाइमा मैले नयाँ तथ्य पाएँ।
स्याङ्गजा बजार र पूर्वसांसद मरासिनी
आरुचौर बाट हेलुइ हुँदै पोखरा जाने बस बिहान ७ बजे पाइँदो रहेछ। मणिरत्न चापागाईँ हजुरबुवा र हजुरआमाको दर्शन गरी त्यहीँ बस चढ्नका लागि गैडा तिर हिँडेँ। बाटोमा मेरो बाल साखा ठुलोकान्छो दाइ उर्फ् तारा परियार भेटिए। हाम्रो पुरानै हसिमजाक शैलेमा उनले टोपी झिकेर मलाई नमस्ते भने र मैले पनि लामो स्वास लिएल पेट फुलाउँदै नमस्ते भने। दुवै जना हास्यौँ अनि सम्झियौँसँगै थाक्रो काट्न जंगल गएको, ठेलो फालेको आदो बाल्यकालका कुरा। बाटोमै भेट हुनुभयो नैनरी काका, खुट्टामा अलिकति समस्या भए पनि उहाँ उस्तै हुनुहुँदो रहेछ। रिल नहुने क्यामराबाट फोटा कैद गरे मुबाइलमा अनि गाडी आइपुग्यो, गाडी चढेँ। बसमा ठाकुर सिग्देल दम्पती पनि चढ्नुभयो पोखरा जानका लागि। ठाकुरजीसँग उहाँको स्वभाव अनुसार सामान्य नमस्कार मात्र भयो तर चिनु म्याडमसँग भने गफ गर्दै। गाउँका बारेमा धेरै कुरा सोध्दै कच्ची बाटोमा रापाकोट, कमले हुँदै बस यात्रा गरियो। स्याङ्जा बजार चोकमा म बसबाट ओर्लिएँ। दाजी र मधु मेरो प्रतीक्षामा पाएँ। दाजीलाई गाउँबाट ल्याएको सिफारिस र अन्य कागजात दिएपछि मेरा पुराना मित्र निवर्तमान प्रतिनिधिसभा सांसद नारायण मरासिनीलाई फोन गरेँ। शेरेचन थकाली होटलमा साँहु निर्मल शेरेचनजीसँग गफ गर्दै खाना खाएँ। अनि मालपोत कार्यालय गए। केहीँ मिनटमा नारायण मरासिनी सर मलाई खोज्दै त्यही आउनुभयो। यतिखेर अली लामो समयमा उहाँलाई भेट्न पाउँदा खुसी लाग्यो।
मालपोत कार्यालयमा अधिकृतदेखि अन्य धेरै कर्मचारीले मलाई चिन्दा रहेछन्। सबैको नमस्कार ग्रहण गरियो अनि काम पनि सहज किसिमले भयो। नारायण सर भन्दै हुनुहुन्थ्यो मास्टरी पेशाको फाइँदा यहीँ हो, जहाँ गएपनि आफ्ना चेलाचेली भेट हुने। मेरो अफिसियल काम सकियो। त्यसै बेला काष्ठमण्डप कलेज, काठमाडौँका सीइओ ऋषी कडेल सरको फोन आयो र थाहा पाए प्रिन्सिपल पेशल लुइटेल सर र उहाँ वालिङ्गबाट आफ्नै गाडीमा स्याङ्गजा आउँदै हुनुहुँदो रहेछ। नारायण सर र मैले चिया पिएर आउँदा उहाँहरू पनि आइपुग्नुभयो। अनि भेट हुनुभयो युवा नेता आरसी भट्टराई र अन्य नेताहरू पनि।
निवर्तमान सांसद् नारायण मरासिनीसँग गासिएको मेरो छुट्टै कथा छ। मरासिनी सर र मैले मास्टर डिग्रीसँगै त्रिवीबाट गरेका हौँ। उहाँले साइन्स विषयमा र मैले अंग्रेजीमा। हामी एउटै ब्याचको साथी। मरासिनी सर त्यो बेलापनि विद्यार्थी राजनीतिमा अत्यन्त सक्रिय हुनुहुन्थ्यो र म पनि उहाँसँग सहकार्य गर्थे। हाम्रो त्रिवीको अध्ययन पूरा भएपछि हामीसँगै पोखराको पृथ्वीनारायण क्याम्पसमा पढाउन थाल्यौँ। उहाले साइन्स, मैले अंग्रेजी। पृथ्वीनारायण क्याम्पसका अतिरिक्त मैले पोखरा बहुमुखी क्याम्पसमा पढाउथेँ भने उहाँले कुमुदुनी होम्समा पनि पढाउनुहुन्थ्यो। हामी मिल्ने साथी थियौँ र छौँ पनि। विद्यार्थी राजनीतिमा सक्रिय मरासिनी सरले प्राध्यापनको घेरामा सिमित भएको महसुस गर्न थाल्नु भएछ। एकदिन उहाँले मलाई आफ्नो घर स्याङ्गजा बजारमा लानुभयो र आफ्नो जग्गा देखाउँदै भन्नु भयो,'म यो जग्गामा एउटा राम्रो स्कूल स्थापना गरी संचालन र जिल्ला केन्द्रित राजनीति गर्ने विचार गरेको छु। प्राध्यापन पेशाले मेरो राजनीतिक स्वतन्त्रता नदिएको महसुस गरेँ, मलाई के सल्लाह दिनुहुन्छ?' भनेर सोध्नु भयो।
त्रिवीमा सक्रिय विद्यार्थी राजनीति गरेका मेरा मित्रको मनसाय र चाहना मैले बुझेँ। भने,'आयश्रोतको लागि तपाईँले जागिर गर्नुपर्छ भन्ने रहेनछ। त्यसैले मनले रुचाएको पेशा प्राध्यापनभन्दा राजनीति हो भने शिक्षासँग जोडिएर आफ्नै जिल्लामा राजनीति गरी समाज सेवासँग जोडिन राम्रो हुन्छ।'
त्यसको केही समयमा नै पृथ्वीनारायण क्याम्पसको प्राध्यापन पेशा चटक्कै छोडी पूर्णकालीन राजनीति गर्न स्याङ्गजा आउनुभयो। रोशनी स्कूल स्थापना गर्नुभयो जहाँ + २ सम्मको क्लास छन्। जिल्लाको प्रतिष्ठित स्कूलको रुपमा पनि चिनिन्छ। जिल्ला केन्द्रित राजनीतिमा सक्रिय रहँदा प्रतिनिधिसभाको सांसदसमेत हुनुभयो। नारायण सरको राजनीतिप्रतिको मोह र लगाव प्रसंसनीय छ।
स्याङ्जा बजारको एक पसलमा नेता गणसँग चिया पिउँदै स्याङ्जाको राजनीतिक अवस्था र रास्वपाका बारेमा गफगाफ सुनियो। डाइलेक्टिकल मटेरियालिजम र मार्क्सवादमा विश्वास गर्ने कम्युनिस्टहरूमा आलोचनात्मक चेत अनिवार्य शर्त भएको र कुनै नेता वा ब्याक्तिको वर्तमानलाई विगतसँग छुट्टाएर हेर्नु हुँदैन भन्ने तर्क गरेँ मैले। नेताहरुले स्वीकार गर्नुभयो। करिब एक घण्टाको यो गफगाफ मेरा लागि सूचनामुलक रह्यो।
स्याङ्जा-काठमाडौँ यात्रा
स्याङ्जा मालपोतको काम सकिएको हुँदा दाजी र मधु सार्वजनिक बसमा पोखरा फर्किनु सक्नुभएको थियो। म चाहिँ ऋषी/पेशल सरको गाडीमा पोखरा फर्किएँ। फर्किने क्रममा नारायण सरको रोशनी स्कूलको अवलोकन गरियो र थाहा पाइयो स्कूलबाट १९ वर्ष तलका दुई विद्यार्थी क्रिकेट खेलको राष्ट्रिय खेलाडीका रुपमा छनोटमा परेछन्। नारायण सरलाई बधाई दिएर ऋषी कडेल सर र पेशल लुइटेल सर अनि म पोखरा तिर लाग्यौँ।
पोखरा आइपुग्ने थाल्दा सरहरूले त्यही गाडीमा गफ गर्दै काठमाडौँ जाने प्रस्ताव ल्याउनुभयो। मेरो मुल काम सकिएकाले र रुखबाट भुइँमा पछारिँदा पनि कसैले कहाँ दुखेको छ भनी सोधे भने,'साथीहरूले जाहा भन्नुहुन्छ त्यहीँ दुखेको छ भन्ने स्वभाव भएकाले' मैले पनि हुन्छ भने। छोरेपाटन घर अगाडि गाडी रोकियो। दाजी र मधु आइपुग्नुभएको रहेनछ। घरमा बुहारी छोरी गीता मात्र रहेछिन्। उनीसँग विदा मागेँ र मैले घरमा छोडेका बाँकी कपडा झोलामा कोचेर, दाजी मधुसँग फोन मै विदा मागेर सरहरूसँग काठमाडौँ फिरेँ।
साँझको करिब पाँच बजेको थियो पोखराबाट प्रस्थान गर्दा। पोखरा एअरपोर्ट पस्ने चोकनेरी स्पाइसी याण्ड सावर भन्ने रेस्टुरेण्टमा खाजा खाई धादिङ्गको टुप्पी होटलमा खाना खाने गरी पेशल सरको कुशल ड्राइभिङ्गमा कुद्यौँ काठमाडौँ तिर।
बाटोमा ऋषी सरले मलाई कुटनीतिक र भूराजनीतिका बारेमा बिआरआई, एमसीसी आइपिएस र एसपिपीकोसमेत सन्दर्भ ल्याएर अत्यन्त गहन र पेचिला प्रश्न सोध्दै बाटो काट्ने गफगाफको ढोका खोल्नुभयो। यीनै विषयमा आफूसँग भएको सूचना/ज्ञान र तर्क पेश गर्दै अनि उहाँका ओजनदार तर्क सुन्दै गफमा बहकिँदा थाहै नपाई टुप्पी होटलमा आइपुगिएछ।
त्यहीँ खाना खाएर रमाइला गफगाफ गर्दै राति करिब १२ बजे काठमाडौँस्थित मेरै कुटीमा अवतरण गराइदिनुभयो पेशल सरले। उहाँको कुशल भरपर्दो ड्राइभिङ्ग शिपलाई सलाम गरेँ अनि उहाँहरूबाट छुट्टिएँ।
यो पटकको पोखरा, स्याङ्जा र गाउँको यात्रा मेरालागि सूचनामुलक, ज्ञानमूलक र निकै स्मरणीय रह्यो र रहनेछ आज पर्यान्त पनि।
जीवन आमाको गर्भदेखि घाट सम्मको यात्रा हो। शरीर मात्र बोटल हो, जीवन रक्सी हो। समय चौबिसघण्टे जड्याहा हो। जीवनरुपी रक्सी समय रुपी जड्याहाले अविश्रान्त कहिले बिस्तारै र कहिले घुटुक्कै पिउँदै जान्छ, पिइरहन्छ। जब रक्सी (जीवन) सकिन्छ, बोटल (शरीर) आर्यघाटमा फालिन्छ त्यहीँ हाम्रो स्थायी घर हो, अनि फेरि सुरु हुन्छ अनन्तताको यात्रा! यो छोटो यात्रा विवरण यहीँ बिट मार्ने अनुमति चाहन्छु।
अस्तु!!!
-डा. राजेन्द्र चापागाई "आहत"
अर्जुनचौपारी - ५ , आरुचौर
हाल - किर्तिपुर - २ ट्याङ्ग्लाफ़ाट, आहत कुटी।
Email: [email protected]