काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् ।
सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई शनिबार बिहान कास्की प्रहरीको जिम्मा लगाइएको हो।
उनलाई बिहान करिब २ बजेर ४५ मिनेटमा जिप्रका कास्की पुर्याइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार साँझ काठमाडौँस्थित रास्वपा कार्यालयबाट पक्राउ गरी उनलाई स्थलमार्ग हुँदै पोखरा पुर्याइएको हो।
पोखरा पुगेपछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्की पुर्याइएको थियो।
लामिछानेलाई कास्की प्रहरी कार्यालय पुर्याउँदा राप्रपा उपाध्यक्ष स्वर्णिम वाग्ले त्यहाँ पुगिसकेका थिए। उनीसँगै केही कार्यकर्ता पनि त्यहाँ थिए।
रास्वपाका अर्का उपाध्यक्ष डीपी अर्याल र पत्नी निकिता पौडेल पनि काठमाडौँबाट सडकमार्ग हुँदै त्यहाँ पुगेका थिए। हिरासतमा वाग्ले, अर्याल र पौडेलले उनलाई भेटेका थिए।
सहकारी ठगी प्रकरणमा सूर्य थापा नेतृत्वको समितिले अनुसन्धान सिफारिस गरेपछि लामिछाने पक्राउ परेका हुन्। लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको अनुसन्धान प्रतिवेदनमा छ।
यसअघि गोर्खा मिडियाका अर्का सञ्चालक छविराज जोशी पक्राउ परेर अनुसन्धानका लागि कास्की प्रहरीको थुनामा छन्।
सूर्यदर्शन सहकारीमा डेढ अर्ब अपचलन
उक्त सहकारी संस्थाको रु एक अर्ब ५० करोड ९० लाख ३० हजार पाँच सय तीन अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विसं २०७२ देखि नै उक्त सहकारीको रकम अपचलन हुँदै आएको थियो। रकम अपचलनका मुख्य आरोपी सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी राई)सँग मिलेर गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा सभापति लामिछानेमाथि यसअघि कास्की जिल्ला अदालतमा मुद्दा परेको थियो।
सोही मुद्दाका अर्का आरोपी छविलाल जोशी पनि अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन्। सहकारी ठगीका मुख्य आरोपी राई भने अझै फरार छन्। सूर्यदर्शन सहकारीपीडित सङ्घर्ष समितिले पूरक अनुसन्धान गरिपाउँ भन्दै विसं २०८० माघमा जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका थिए। उन्नाइस जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकामा पूर्वसञ्चालक शिवबहादुर गुरुङ, भविश्वर अर्याल, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामीलगायत पूर्पक्षका लागि थुनामा छन्।
राईसहित उहाँका दाजु भूपेन्द्र, व्यवस्थापक थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारीलगायत अझै फरार छन्। सहकारीको रकम अपचलन सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले पनि सभापति लामिछानेसहितलाई सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो।