काठमाडौँ । सडक विभागका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) एवम् सूचना अधिकारी अमितकुमार शर्मा नेपाल विद्याभूषण 'ख' २०८१ बाट सम्मानित हुने हुनुभएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै शर्मालगायतलाई सम्मान गर्न लागिएको जनाएको हो ।
शर्माले सन् २०२२ मा पोखरा विश्वविद्यालयबाट विज्ञान तथा प्रविधि संकायमा स्नातकोत्तर तहमा उत्कृष्ठ श्रेणी अर्थात् ४ जिपिए प्राप्त गर्नुभएको थियो । उहाँसहित विद्याभूषण 'ख' २०८१ बाट ३५ जना विद्यार्थी सम्मानित हुँदै हुनुहुन्छ ।
सिडिई शर्माले यसअघि नै स्नाकोत्तर तहमा ४ जिपिए प्राप्त गरेपछि पोखरा विश्वविद्यालयबाट गोल्ड मेडलसमेत पाइसक्नुभएको छ ।
२०७३ मा स्थानीय पूर्वाधार विभाग (डोली)मा इन्जिनियरका रुपमा निजामती सेवा सुरु गर्नुभएका शर्मा २०८० जेठमा उपसचिव सोसरह सिडिईमा नाम निकालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तरगतको सडक विभागमा कार्यरत हुनुहुन्छ ।
शर्माले २०८० असोजदेखि विभागको योजना शाखा प्रमुखसहित विभागको सूचना अधिकारी र सहायक प्रवक्ताको भूमिका निर्वाह गर्दै आउनुभएको छ । विभागमा रहेर जनसेवामा सक्रिय रहनुभएका सिडिई शर्माको कार्यकुशलता र इमान्दारिताको पनि चर्चा हुने गर्दछ ।
मन्त्रालयले हरेक वर्ष 'राष्ट्रिय शिक्षा दिवस असोज २' मा शिक्षा क्षेत्रमा विभिन्न विधाबाट योगदान पुर्याएका तथा उत्कृष्ठ कर्मचारी, शिक्षक, शिक्षण संस्था र विद्यार्थीलाई सम्मान गर्दै आएको छ ।