ललितपुर: ललितपुर महानगरपालिका–१ मा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने भएको छ । हरेक वर्षझै यस वर्ष पनि पहिलो दिन सङ्कटामार्ग मन्दिर परिसरबाट भैरव, गणेश र कुमारी देवतालाई खटमा राखी टोल परिक्रममा र पूजासहित जात्रा सुरु हुनेछ ।
जात्राको दोस्रो दिन लाखेनाचसहित टोल परिक्रममा गरेर पूजा आराधनासहित यस वर्षको जात्रा समापन गरिने इन्द्राजात्रा सञ्चालन उपभोक्ता समितिले जनाएको छ ।
मन्दिर परिसर, मुसिङ्गाल चोक, ग्यास डिपो, लीलाघर, कुमारी मन्दिर, नानिचा चोक, अमर शिशु, गणेशथान प्याराडाइज, मेनपावर सर्वाङ्ग हस्पिटल, बिगमार्ट, तीनखम्बा चोक, भजनमण्डल, मुसिङ्गाल चोक हँुदै मन्दिर परिसरसम्म परिक्रमा रुट तोकिएको छ ।
अन्य जिल्लामा हरेक वर्ष सहकालका देवताका रूपमा रहेका इन्द्रको पूजाआराधना गरी परम्परागत रूपमा जात्रा मनाउँदै आए पनि ललितपुरमा गत वर्षदेखि जात्रा सुरु गरेको ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकारले जनाउनुभयो । उहाँले भन्नुभयो, “इन्द्राजात्रा निकै ऐतिहासिक जात्रा हो । यो बाह्रौँ शताब्दीदेखि सुरु भएको किंवदन्ती छ । लतिलपुरमा भने सहकालको देवताका रूपमा मनाइने इन्द्रजात्रा ४० वर्षदेखि रोकिएको थियो । विशेषगरी नेवार समुदायले मनाउने यो जात्राको संरक्षणका लागि गत वर्षदेखि हामीले सुरुआत गरेका छौँ ।”
वाद्यवादनका लागि काठमाडौँ, भक्तपुर र ललितपुर गरी तीनवटै जिल्लाको बाज खलक सहभागी हुने र देवतालाई आयोजक समितिले तोकेअनुसार नौ ठाउँमा बिसाउने जनाइएको छ । रासस