काठमाडौँ: युवा साहित्यकार गणेशबाबु अधिकारीको पहिलो उपन्यास ‘रेजा’ सार्वजनिक भएको छ ।
राष्ट्रिय नाचघर जमलमा शनिबार एक कार्यक्रमका बिच पेज टर्नर प्रकाशनका अध्यक्ष भुवनहरि सिग्देल, कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, विशेष अतिथि छवि वैरागी, समालोचकद्वय महेश पौड्याल र सुमन वर्षाले उपन्यासको लोकार्पण गर्नुभयो ।
लोकार्पित कृतिमाथि समिक्षक महेश पौडेल र सुमन घिमिरे बर्षाले समिक्षा गर्नुभएको थियो भने प्रमूख अतिथि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पनि कृतिबारे आफ्नो टिप्णी राख्नुभएको थियो ।
उपन्यासकार अधिकारीले उपन्यासमा केही आफ्ना जीवन भोगाई र केही आम मानिसका कथाहरू बुनेर उपन्यास तयार गरेको बताउनु भयो ।
आख्यान लेखनमा रुचि राख्ने अधिकारीले स्वदेश र विदेश यात्राका क्रममा देखेका र भोगेका घटनालाई ‘रेजा’ मा समेट्ने प्रयास गरेको बताउनु भयो ।
रेजा प्रेम कथामा आधारित उपन्यास हो। प्रेमको परिभाषा हरेक व्यक्तिले फरक-फरक तरिकाले गर्न सक्छन्। प्रेमले सुख र खुसी मात्रै दिन्छ या पीडाबोध पनि गराउँ छ? जस्ता प्रश्नको उत्तर ‘रेजा’ मा समेटिएको उहाँको भनाइ छ।
गीत र गजल लेखनबाट साहित्यमा उदाएका अधिकारीको ‘मनका आँकुरा’ (गजल), हराएको जून (बालकथा सङ्ग्रह) प्रकाशित छन्। उहाँको ‘स्मृति’ गीति एल्बम पनि बजारमा उपलब्ध छ।