काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र आन्तरिक विवादका लागि विभिन्न प्रस्तावमाथि छलफल भइरहेका छन् । अध्यक्ष केपी शर्मा ओलीबाट असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उनीहरु निकट नेताहरुलाई सहमतिमा ल्याउने प्रयास एमालेले गरिरहेको छ ।
पार्टी एकताको प्रयास भइरहँदा नेपाल समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र विश्वासको मत दिएपछि विवाद फेरि उत्कर्षमा पुगेको थियो । र अहिले फेरि एमालेको एकताको प्रयास जारी राखिएको छ । माधवकुमारमाथि पद लोलुप्ताको आरोप लागिरहेका बेला उनले यसलाई खण्डन गर्ने गरी प्रस्ताव गरेका छन् ।
पार्टी एकताका लागि उनले गरेका तीन प्रस्तावमा आफूलाई अध्यक्ष दिनुपर्ने उल्लेख गरेका छैनन् । बरु वरिष्ठ नेता झलनाथ खनाल र वामदेव गौतमलाई थपेर तीन सदस्यीय वा खनाललाई मात्रै थपेर दुई अध्यक्ष बनाउने प्रस्ताव माधवकुमारले गरेका छन् ।
दोस्रो अध्यक्षको रुपमा नभएर समान अध्यक्ष बनाउनुपर्ने र समान अध्यक्ष ओलीसँगै खनालको नाम पनि प्रस्ताव गरेका हुन् । तीन अध्यक्षमण्डल बनाउने हो भने ओली, खनाल र वामदेव गौतमलाई राख्नुपर्नेे नेता नेपालको प्रस्ताव छ ।
दुई अध्यक्षमा ओली र खनाल वा तीन अध्यक्षमा ओली, खनाल र गौतमको नाम प्रस्ताव गरेका नेता माधवकुमारले तेस्रो प्रस्तावमा आफू र ओली पदीय जिम्मेवारीबाट बिदा लिने गरेका छन् । ओली र आफूहरु पदीय जिम्मेवारीबाट बिदा लिएर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने उनको प्रस्ताव हो ।
गत असार २७ गते ओली र नेपाल समूहका कार्यदलबीच भएको १० हुँदे समझदारीप्रति असमति जनाउँदै आएका माधवकुमारले पार्टी एकताका लागि तीनवटा उक्त प्रस्ताव गरेका हुन् ।