परिवर्तनशील समाजमा यसरी चाडपर्व मनाउने तौरतरिका पनि परिमार्जित हुन्छन्। तर कुन हदसम्म भन्ने कुराको ख्याल भने सम्बन्धित सबैमा हुनु जरुरी देखिन्छ। साच्चै भन्ने हो भने यस्ता सांस्कृतिक कार्यक्रममा प्रत्यक्ष जोडिएका अधिकांश व्यक्तिहरूमा सदभाव र हार्दिकताभन्दा बढी भड्किलोपन र छाडापन हाबी हुन थालेको छ।
नेपाल एउटा बहुसांस्कृतिक, बहुधार्मिक आस्था बोकेका विभिन्न जातजातिका मानिसहरू बस्ने थलो हो। यसलाई पुष्टि गर्ने हाम्रो समाजमा भएका थुप्रै चाडपर्व रितिरिवाज एवं संस्कृतिहरुले भूमिका खेलेका छन्। यस्ता चाडपर्वले मनोरञ्जन प्रदान गर्ने मात्र नभई एक आपसमा बलियो सामाजिक सम्बन्ध कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छन्। यी मध्येको एउटा महत्त्वपूर्ण चाड तीज पनि हो। यो चाड हरेक वर्षको भाद्र शुक्ल तृतीयाको दिन पर्दछ।
तीजलाई हरितालिका तीज पनि भनिन्छ। यो महिलाको विशेष चाडको रुपमा परिचित छ। यसले धार्मिक, सांस्कृतिक एवं सामाजिक महत्त्व बोकेको छ। धार्मिक हिसाबले हिन्दू धर्मग्रन्थ अनुसार पार्वतीका पिता हिमालयले आफ्नी छोरीको विवाह विष्णु भगवानसँग गराइदिने कुरा पार्वतीलाई मन नपरेपछि आफूले मन परेको वर(श्रीमान्) पाऊँ भनेर कठोर व्रत बसिन्। फलस्वरूप शिवजी प्रकट भई शिव र पार्वतीको विवाह हुन पुग्यो यहीँ शिव र माता पार्वतीको मिलन भएको दिनलाई तीज भनिन्छ। यहीँ कथनलाई विश्वास गरी नेपाली महिलाहरूले विशेषगरी हिन्दु महिलाहरुले यस दिनमा स्नान गरी शुद्ध भएर सक्नेले निर्जल, निराहार र नसक्नेले दूध फलफुल खाएर व्रत बसी, भगवान शिव र पार्वतीको पूजाआजा ,नाचगान गरी मनाउने चलन छ।
तीजमा अविवाहितले आफूले चाहेको असल, गुणी श्रीमान प्राप्त होस् भनी, विवाहितले श्रीमानको दीर्घायु तथा सफल दाम्पत्य जीवनको कामना गरी परिवारमा सुख शान्ति र समृद्धि प्राप्त होस् भनी व्रत बस्ने गरेको पाइन्छ। नेपालमा तीज पर्व सांस्कृतिक हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ। तीजमा खाने,लगाउने, पूजा गर्नेदेखि नाचगान गर्ने भिन्दै किसिमको संस्कार छ। जसमा विशेष गरेर महिला मात्र सहभागी हुने गर्दथे। आजभन्दा १५ /२० वर्ष अगाडिसम्म फर्केर हेर्दा महिला दिदीबहिनीहरू, आमा, भाउजुहरू रातो सारी, चुरापोते, आफ्नो गच्छे अनुसारका गरगहना र शृंगारमा सजिएर मठ, मन्दिर, गाउँ, टोल वा सार्वजनिक स्थलहरूमा र विद्यालयका प्राङ्गणमा भेला भई मादल बजाउँदै मुखले गीत गाउँदै नाच गान गरेको दृश्य हाम्रो मानस पटलमा आइहाल्छ। यसैले पनि यो चाड महिला विशेषको पृथक चाड हो।
तीज पर्वले धार्मिक, सांस्कृतिक साथै सामाजिक महत्व बोकेको अनुभूति गर्न सकिन्छ। यसले आआफ्नो दैनिकीमा व्यस्त आमा दिदीबहिनी साथीसंगीबीच भेटघाट साथसाथै तीता मिठा कुराकानी गर्ने दर खाने नाचगान गर्ने अवसर जुराइदिएको हुन्छ। यसले हाम्रो सामाजिकीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। यस्ता क्रियाकलापले हाम्रो नाता सम्बन्ध साथै छरछिमेकी इष्टमित्रसँग प्रगाड एवं सुमधुर सम्बन्ध बनाउन मद्दत पुर्याउँछ । यस्तो अवसर सौहार्दपूर्ण सभ्य समाजलाई अपरिहार्य छ। परम्परागत रुपमा तीजका गीतमा विशेष गरेर सामाजिक विसंगति, विकृति, सुकृति, नन्द भाउजुको र सासु बुहारीको सम्बन्धमा हुने गरेका शोषण, अत्याचारका साथै असल सम्बन्धको चर्चा परिचर्चा हुने गर्दथ्यो। जसले गर्दा समाजमा गीत मार्फत सचेतना जगाउने काम हुन्थ्यो।
अहिलेको परिवर्तित समाजमा तीज मनाउने मूल्य मान्यतामा पनि परिवर्तन हुँदै गएको छ। सामाजिक परिवर्तन अपरिहार्य छ र यसलाई हामीले समयअनुसार अनुसरण गर्नैपर्ने हुन्छ। हाम्रो दैनिकी नै पहिलेभन्दा फरक भएको छ। समाजमा भएका सामाजिक सम्बन्धमा नै परिवर्तन भएको हामी पाउँछौं। यस्ता परिवर्तनबाट हामीले मान्ने चाडपर्व पनि अछुतो रहन सक्दैनन्।
अघिल्ला वर्षमा जस्तै हाम्रो समाजमा तीज आउन थालेपछि धेरैतिर घरघरमा, टोलटोलमा, कार्य स्थलमा, सामाजिक संघसंस्थामा साथै राजनैतिक संगठनहरुमा र सामाजिक सञ्जालहरूमा समेत तीजको बारेमा चर्चा परिचर्चा, टिका टिप्पणी आउन थाल्छन् जुन स्वभाविक पनि हो। स्वभाविक यस अर्थमा हो कि सदियौंदेखि मनाउँदै आएको महिला विशेष पर्व अहिले पुरुष र महिला दर खाने ठाउँमा होस् वा नाच्ने ठाउँमा दुवै बराबरी जसो देख्न सकिन्छ। जुन हाम्रो आधुनिक तीज गीतमा महिला पुरुष दुवैले गाउने, नाच्ने, एक डेढ महिना अघिदेखि दर कार्यक्रमको आयोजना गर्ने गरेका क्रियाकलापले छर्लङ्ग पारेका छन्।
परिवर्तनशील समाजमा यसरी चाडपर्व मनाउने तौरतरिका पनि परिमार्जित हुन्छन्। तर कुन हदसम्म भन्ने कुराको ख्याल भने सम्बन्धित सबैमा हुनु जरुरी देखिन्छ। साच्चै भन्ने हो भने यस्ता सांस्कृतिक कार्यक्रममा प्रत्यक्ष जोडिएका अधिकांश व्यक्तिहरूमा सदभाव र हार्दिकताभन्दा बढी भड्किलोपन र छाडापन हाबी हुन थालेको छ। भाइरल हुनकै लागि र दर्शक बढाउनकै लागि अति उत्ताउला, समाजमा अपाच्य हुने र परिवारका सदस्य सबै सँगै बसेर हेर्न र सुन्न नमिल्ने शब्दका साथै नृत्यका हाउभाउ पनि सामाजिक सञ्चारका माध्यमहरूमा देख्न थालिएको छ। यस्ता विकृतिले संस्कृतिको विकास र जगेर्ना गर्नुको सट्टा विनाश गराउँदै लैजाने खतरा बढ्दै छ। यसो भनिरहँदा सम्पूर्ण गायक गायिका नृत्याङ्गना दिदीबहिनीहरू जसले मौलिकतामा आँच नपुग्ने गरी तीज पर्व मनाउने साथै यसलाई भेटघाटको अवसरको रुपमा लिएर भड्किलो नबनाइकन मनाउने गर्नुभएको छ उहाँहरु सबैलाई एउटै बास्केटमा राखेर हेर्न खोजिएको पक्कै होइन।
पहिले पहिले पनि तीज गीत गाउन र नाच्न साउने संक्रान्तिबाट सुरु हुने गरेको कुरा लेखक आफैले अनुभव गरेको हो। तर त्यतिबेला गाउँघरमा सबैले आफ्नो बेलुकाको घरधन्दा सकेर पालैपालो टोलका आँगन र दलान ठूलो भएका घरहरूमा महिलाहरू जम्मा भएर लगभग डेढ दुई घण्टा नाच्ने गाउने चलन थियो। आफ्नो घरमा यसरी जम्मा भएर नाचगान गरेका दिदीबहिनीलाई खाजाको रुपमा खिर, पुरी, अचार, चिया आदि खान दिइन्थ्यो।दर भनेर त केवल कृष्ण जन्माष्टमीको अघिल्लो दिन सानो तीजको भनेर र तीजको अघिल्लो दिन दर खाने दिन भनेर आफ्ना विवाहित अविवाहित दिदीबहिनी, फुपु,भान्जीहरूलाई जम्मा गरेर घरमा पुरुषहरुले (बुवा मामा दाजुभाई) पकाएर राति १०/ ११ बजेतिर खुवाउनु हुन्थ्यो। जसले गर्दा भोलिपल्ट व्रत बस्न सजिलो हुन्छ भन्ने विश्वास थियो। दरमा शुद्ध शाकाहारी भोजन जस्तै खिर, ढकनी,दही, मिठाई,खाजा (चाम्रे), फलफुल, जुलबी आदि र तरकारी अचार विशेष गरेर तामा, करेला,चिचिन्डो, काँक्रो आलु आदिको बनाउने गरिन्थ्यो।
अहिलेको बदलिएको समाजमा समयले कोल्टो फेरेको हो कि मान्छेले विकृति फैलाएको हो कतै कतै त दरका नाममा एक दुई महिना अगाडिबाट होटल, रेस्टुरा, पार्टी प्यालेस आदि बुक गरेर खान पनि नसक्ने गरी वा फेरि फेरि खानै नपर्ने हो कि जसरी अनेकौं खानाका परिकार महंगा वाइन बियर रक्सी हुक्का चुरोट तान्दै दर खाने चलन सहरी भेगमा र गाउँ गाउँका बजार क्षेत्रमा बस्ने आधुनिक परिवारलाई सामान्य नै भएको छ। के यही हो त वास्तवमा हामीले खोजेको सामाजिक सांस्कृतिक परिवर्तन? यसले कमजोर आर्थिक अवस्थाका महिलाहरू र उनीहरूका परिवारमा ठूलो समस्या सृजना गरेको छ। त्यस्ता कार्यक्रममाा भाग लिनको लागि आजभोलि त रङ्ग मिलाएर एकै खालका लुगा लगाउने र कार्यक्रम पिच्छे फरक हुनुपर्ने नभय फोटो र भिडियोमा हिनताबोध हुने माहोल सृजना भएको छ।
यसरी दरको आयोजना गर्ने र तीजलाई भड्किलो बनाउनेमा समाजमा रहेका हुने खाने अगुवा महिलाहरू एवं संघ संस्थामा आबद्ध महिला पुरुषहरु साथै अर्काको कमाइमा मोजमस्ती गर्नेहरू बढी जिम्मेवार छन्। हाम्रो समाजमा प्राय जसो मानिसहरू कुनै न कुनै राजनैतिक पार्टीसँग सम्बन्धित छन् र उनीहरू पार्टीका भातृ संघ/संगठनहरुले विभागीय संघ/संगठनहरुले आयोजना गरेको दर कार्यक्रममा सहभागी भइरहेको अवस्था छ।यसरी आयोजित कार्यक्रममा महिला पुरुष बराबरी नै सहभागी भइरहेका हुन्छन्। यस्ता क्रियाकलापमा सहभागी नहुन महिलालाई मात्र सामान्य तरिकाले शुभकामना आदानप्रदान गर्न र फजुल खर्च नगर्न पार्टीले निर्देशन गर्नु त कता हो कता उल्टै बढावा दिएको जस्तो भान हुनेगरी पार्टीका पुरुष नेताहरू दर खाने लाइनमा लर्को लागेर उभिएको देख्दा अचम्म मान्नु पर्दैन। समाज परिवर्तन गर्छौं भनेर नीतिभरको राजा चिनिने राजनीति गर्दै हिँड्ने महिलाहरूले हाम्रो सांस्कृतिक धरोहर मानिने पर्व तीजलाई आधुनिकताको नाममा विकृति नभित्र्याई मनाउने सुरुवात गर्न सक्दैनन् र? यो उनीहरूको लागि ठूलो चुनौती हो जसलाई उनीहरु आफैंले चिर्न सक्नुपर्छ। किनभने उनीहरू सामाजिक रूपान्तरणका सम्बाहक हुन्।
नेपालमा वि.स. २०४६ सालमा प्रजातन्त्र को स्थापना भए पश्चात केही वर्षका तीजहरुमा समाजमा भएका विकृति, विसंगति र जनचेतना जगाउने,नारी सशक्तिकरणका,हक, अधिकार र कर्तव्यको आशय बोकेका गीतहरु गाउने चलन थियो । त्यही चलनलाई फेरि अहिलेको समय सान्दर्भिक परिवेश समेटिएका गीत गाउने चलनको विकास गर्दै लैजान उपयुक्त हुने थियो ।अहिले मिडियामा आएका पुराना लय र शब्दमा समेटिएका साथै केही मात्रामा समय अनुरुप शब्दहरू परिमार्जित गरेका गीतहरू प्रसिद्ध भएका पनि छन्।
विगत एक दुई वर्षमा विभिन्न संघसंस्थामा आबद्ध दिदीबहिनीहरुले आफ्नै स्थानीय तीजको भाका र शब्दमा गीतहरू लेखी गाउँदै, बजाउँदै र नाच्दै युट्युबमा पोस्ट गरेको पनि पाइन्छ। कतिपय तीज गीतहरू यति मौलिक र राम्रा छन् कि सामाजिक परिवेशलाई टपक्क टिपेर तीजको संस्कृति झल्काएका छन्।
समग्रमा भन्नुपर्दा हाम्रो परम्परागत रूपमा सांस्कृतिक महत्त्वका साथ मनाउँदै आएको तीज पर्व समाज परिवर्तनको वाहकको रुपमा मनाउन सक्नुपर्छ। समय सापेक्ष सुधारले हाम्रो मौलिक पहिचान समृद्धि र सामाजिक सद्भावलाई कसिलो गरी बाँध्न सक्नुपर्छ। यसको निम्तिपनि आक्षेप र आलोचना होइन आत्मबोध र परिवर्तनप्रतिको जिम्मेवारीको भावनाबाट सञ्चालित हुन सक्नुपर्दछ।
लेखक बराल महालक्ष्मी- १ रातामकै चोकस्थित अक्षता किन्डर वर्ल्ड स्कुलको प्रिन्सिपल हुनुहुन्छ । उहाँले निम्स कलेज ललितपुरमा समाजशास्त्र विषय अध्यापन गराउनुहुन्छ । साथै समाजशास्त्र विषयमा त्रिभुवन विश्वविद्यालयमा पिएचडी अध्ययनरत हुनुहुन्छ ।