काठमाडौँ । सत्तारुढ दलहरुबीच सरकार र संसदको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकार संसदको कामलाई प्रभावकारी, सन्तुलित, व्यवस्थित ढंगबाट अघि बढाउने विषयमा छलफल भएको नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बताउनुभयो ।
उहाँले सरकारका समग्र काम प्रक्रियाहरुमा सिंगो सत्तापक्ष कसरी एकीकृत धारणाका साथ अघि बढ्ने ? भन्नेबारेमा पनि छलफल भएको बताउनु भयो । उहाँले न्युनतम साझा कार्यक्रमको प्रक्रिया अघि बढाउन शिर्ष नेताहरुबाट निर्णय भइसकेकाले सरकार निर्माणताका भएको सात बुँदे सम्झौताअनुसार नै सरकारको न्युनतम साझा कार्यक्रम बन्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आजको छलफल र बैठकको उद्देश्य भनेको सरकार र संसदको कामलाई कसरी प्रभावकारी ढंगबाट अघि बढाउने, सरकार संसदको कामलाई कसरी सन्तुलित ढंगबाट, व्यवस्थित ढंगबाट अघि बढाउने र सँगै सरकारलाई समग्र काम प्रक्रियाहरुमा सिंगो सत्तापक्ष कसरी एकीकृत धारणाका साथ अघि बढ्ने ? यिनै विषयहरुमा छलफल केन्द्रित थियो । यो सरकार निर्माणका केही समझदारीहरु पनि थिए । विशेष गरी नेपाली काँग्रेस र नेकपा एमालेको बीचमा ७ बुँदे समझदारी भएको थियो । त्यो समझदारीको जगबाट हामीले सरकार सञ्चालन गर्ने प्रतिवद्धता गरेका थियौँ । न्युनतम साझा कार्यक्रमको प्रक्रिया अघि बढाउन निर्णय भइसकेको छ ।’
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेकपा एमाले र नेपाली काँग्रेसबीच सरकार बन्ने बेलामा भएको सात बुँदे सहमतिको सेरोफेरोमा रहेर विस्तृत रुपमा सरकारका न्युनतम साझा कार्यक्रम बनाउने बताउनु भयो । उहाँले सात बुँदे सहमतिलाई अझ विस्तृत गर्नेगरी सरकारको न्युनतम साझा कार्यक्रम आउने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेकपा एमाले र नेपाली काँग्रेसबीच सरकार बन्ने बेलामा भएको सात बुँदे सहमति भएको थियो । यसलाई अझ विस्तृत रुपमा अघि बढाउने कुरामा सरकार लागेको छ । साझा न्युनतम कार्यक्रम अब सात बुँदे सहमतिअनुसार आउनेछ । त्यसलाई अझ विस्तृत रुपमा हामीले सात बुँदे सम्झौताअनुसार साझा न्युनतम कार्यक्रम ल्याउनेछौँ ।’
प्रमुख सचेतक घिमिरेले संविधान संशोधनमा बढी भन्दा बढी राजनीतिक दलहरुको सहमति जुटाएर संशोधन गर्ने पनि बताउनु भयो ।