काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. राजेद्रप्रसाद चापागाईंले शिक्षा समाजको मेरुदण्ड भएको बताउँदै शिक्षामा परिवर्तन जरुरी रहेको औल्याउनुभएको छ ।
नेपाल बुद्धिजीवी परिषद शिक्षा विभागको आयोजना गरिएको 'शैक्षिक बहस कार्यक्रम'मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
बहस कार्यक्रममा सहप्राध्यापक डा. चापागाईंले स्वागत मन्तव्य दिनुभएको थियो । सोही क्रममा उहाँले शिक्षा समाजको मेरुदण्ड हो भन्दै शिक्षामा परिवर्तन जरुरी रहेको बताउनुभएको हो । साथै राज्यले शिक्षालाई सबैभन्दा बढी महत्त्व दिई त्यस अनुरुप लगानी बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
शिक्षा क्षेत्रका विद्यमान समस्या र समाधानका उपायका बारेमा छलफल गर्नका लागि उक्त बहस कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सभापति बुद्धिजीवी परिषदका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख डा. बुद्धिप्रसाद सापकोटा रहनुभएको थियो भने प्रमुख अतिथि नेपाल बुद्धिजीवी परिषदका अध्यक्ष, पूर्वराष्टिय योजना आयोगका उपाध्यक्ष तथा वाग्मती प्रदेशसभा सदस्य डा. दिनेशचन्द्र देवकोटा हुनुहुन्थ्यो ।

सो कार्यक्रममा संघीय संसदका शिक्षा विभागका माननीय सदस्य दीपा शर्मा तथा नेकपा एमाले शिक्षा विभाग प्रमुख पार्वती रावलको उपस्थिति थियो ।
कार्यक्रममा विशेष अतिथि वक्ताको रुपमा शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइराला, हिसानका अध्यक्ष रमेश सिलवाल, सिटिइभिटिका पूर्वसदस्य सचिव जीनारायण काफ्ले, प्याब्सनका उपाध्यक्ष किशोर गौतमलगायत विज्ञहरुको उपस्थिति रहेको थियो ।