कुनै समय थियो, शिक्षा भन्ने चिज आधारभूत आवश्यकता नभएर पुग्नेहरू(धनीमानी)को पहुँच र शोखको विषय जसरी लिइन्थ्यो । गुरुकुल, चोक, पार्टी हुँदै औपचारिक रुपमा कक्षाकोठासम्म पुगेको शिक्षा प्रणालीको यात्रा पनि निकै चाखलाग्दो छ । जुन आजको आर्टिफिसिएल इन्टेलिजेन्स(एआई) पुस्ताका लागि एकादेशको कथा जस्तो लाग्न पनि सक्छ ।
मानव सभ्यताको विकास, विश्व व्यवस्थामा आएको परिवर्तन र यहीसँगै परिस्कृत भएको प्रविधिले हाम्रो पुरानो शिक्षा प्रणाली र त्यसका यादहरूलाई मेटाउँदै गएको छ । गुरु भगवान मान्ने त्यो तत्कालीन पुस्ताले गुरुले दिएको शिक्षालाई नै सबथोक मान्ने हुन्थ्यो ।
आज समय यस्तो आयो जहाँ शिक्षकले भनेको कुरामा विश्वास नलागेर विद्यार्थीले गुगल र एआई टेस्टसम्म गर्न भ्याउँछन् ।
प्राविधिक विकासले फस्टाएको ज्ञानको दायरा र नेपालमा शिक्षाको विकासक्रम र वर्तमान अवस्थाका बारेमा केलाउनु पूर्व हामीले नेपालको प्राचिन शिक्षा प्रणाली, विभिन्न परिवर्तन र त्यसको प्रभावसँगै शिक्षा विकासक्रमको इतिहासबारे जान्नु आवश्यक छ ।
प्राचिन समयमा शिक्षा
प्राचिन समयमा नेपालीहरू अध्ययनका लागि नालन्दा विश्वविद्यालयमा जान्थे । एघारौं शताब्दीमा पाटन, फर्पिङ, काठमाडौं विद्याका केन्द्र थिए । पाटनका पण्डित महाकरुणाकर प्रसिद्ध थिए । नेपाली विद्वान विभूतिचन्द्रले व्याकरण शास्त्रमा ठूलो पुस्तक लेखेका छन् । धेरै विहारहरू विद्याका केन्द्र थिए । जहाँ तन्त्रशास्त्र, मूर्तिकला पुस्तक लेखनकला, धातुकला आदिको शिक्षा दिइन्थ्यो । नेपालमा लिच्छविकालमा उच्च कोटिका संस्कृत, नेपालभाषा आदि भाषामा लेखिएका शिलालेखबाट पनि जनतामा प्रशस्त शिक्षा फैलिएको थाहा पाउन सकिन्छ । त्यसबेलाका चिनियाँ यात्री ध्वेनसा·ले लेखेका छन्, नेपालका लिच्छवि राजाहरू धेरै विद्वान छन् । अंशुवर्माले शब्द विद्यामा दैनिक जीवनसँग घनिस्ट सम्बन्ध राख्ने व्यावसायिक शिक्षामा जोड दिइएको देखिन्छ । यसका लागि प्रमाणस्वरुप कला शिक्षालाई लिनसकिन्छ । त्यतिबेला आजको जस्तो ह्वाइट बोर्ड अझ भनौ डिजिटल बोर्ड थिएन । घरका भित्ता, अगार र घासको मसीले लेखिन्थ्यो । मसी बनाउनकै लागि कति समय लगाएर घास र जडिबुटीको रस संकलन गरिन्थ्यो ।
मध्यकालमा शिक्षा
यस समयमा प्राचिन कालमाभन्दा अलिक सहज थियो । यस समयमा आध्यात्मिक शिक्षा र जीवनमूलक शिक्षालाई प्राथमिक रुपमा राखिएको थियो । जसमा धर्म, दर्शन, संगीत, चित्रकला, मूर्तिकला वास्तुकला आदि सिकाउने र सीपमूलक शक्तिको विकास गर्नुका साथै आत्मनिर्भरताको बाटोतर्फ लागेको पनि पाइन्छ । जसका साथै संगीत र धर्मका कुराले मानिसलाई शान्त र तनावमुक्त अवस्थामा लैजाने पनि हुन्थ्यो ।
मल्ल कालको प्रारम्भतिर नेपालको नजीक पर्ने भारतीय क्षेत्रका नालन्दा, विक्रमशीलजस्ता शैक्षिक केन्द्रहरूले शिक्षा प्रचारमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । पछि मुसलमानहरूको आक्रमणपछि त्यहाँ कैयौं शिक्षाविद्हरू शरण लिन नेपालभित्र पसे । यो घटनाले गर्दा यहाँको शिक्षा पद्धतिमा निकै परिवर्तन आयो ।
त्यसबेला नेपालको कला शिक्षाले नेपालमा मात्र नभएर छिमेकी देशमा पनि निकै प्रभाव पारेको थियो । प्रसिद्ध नेपाली कलाकार अरनिको र उनका प्रतिभा मध्यकालीन समाजले नै पाएको थियो । मध्यकालीन शिक्षा जीवनमूलक शिक्षाको रुपमा कलाले नै महत्त्वपूर्ण भूमिका खेलेको थियो । त्यसबेला चित्रकला र मूर्तिकलामा राम्रो ज्ञान हासिल गर्न विभिन्न शास्त्रहरूको अध्ययन गर्नुपथ्र्यो ।
चौंधौं शताब्दीमा शिक्षा
चौधौं शताब्दीमा जयस्थिति मल्लले आफ्ना प्रजालाई विभिन्न व्यावसायिक समूहमा विभाजन गरेर सीप सिकाउन व्यवस्था गरेका थिए । जयस्थिति मल्लले शिक्षा केन्द्रमा हेरविचार गर्न गुठीको व्यवस्था गरी शिक्षा विकासमा जोड दिएका थिए । उनले व्यवसायिक शिक्षाको सुरुआत गरे । पृथ्वीनारायण शाहको उदय भएपछि संस्कृत र फारसी शिक्षाको प्रारम्भ भएको देखिन्छ । यिनले राज्यबाट छात्रवृत्ति दिने प्रथाको प्रथम सुरुवात गरेका थिए । नेपालको एकीकरणपछि आफ्ना सैनिक जवानका टुहुरा बच्चाहरूलाई राष्ट्रको तर्फबाट छात्रवृत्ति दिने प्रथाको प्रथम सुरुवात भएको थियो । उनीपछिको रणबहादुर शाह तथा गीर्वाणयुद्ध विक्रम शाहको पालामा पनि लेखक, कवि तथा विद्वानहरूको कदर गर्ने परम्परा कायमै भएको पाइन्छ । गीर्वाणयुद्ध विक्रम शाहको पालामा ‘सत्कर्म रत्नावली’ भन्ने कृति प्रकाशित भएको थियो । उनकै पालामा भीमसेन थापाले फ्रेन्च अफिसर झिकाई आधुनिक सैनिक शिक्षा दिएका थिए । राजेन्द्रविक्रम शाहको पालामा सुन्दरानन्दको त्रिरत्न सौन्दर्य गाथाको रचना भएको थियो ।
राणाकालमा शिक्षा
तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा बेलायतबाट फर्केपछि वि.स. १९१० मा थापाथलीस्थित दरवारको दाख चोकमा नेपालको पहिलो अंग्रेजी विद्यालयको स्थापना गरेका थिए । जसमा राजाका छोराछोरी तथा राणाका सन्तानलाई शिक्षा दिने व्यवस्था मिलाइएको थियो ।
शिक्षामा आम नेपाली जनताको पहुँच
प्रधानमन्त्री वीर शमशेरका पालामा दरवार स्कुलमा सर्वसाधारण जनताका सन्तानले प्रवेश पाउने भए । उनको पालामा आएका भारतका गंगावाइ भन्ने एक महिलाले काठमाडौँमा आधारभूत प्राथमिक शिक्षा सुरु गरेकी थिइन् । यसैको प्रभावबाट नेपालमा महिला शिक्षाको सुरु गर्न प्रेरणा प्राप्त भएको मानिन्छ । प्रधानमन्त्री देव शमशेरको पालामा भाषा पाठशालाको स्थापना नारी मुलुकका विभिन्न भागमा प्राथमिक शिक्षा दिने परिपाटीको थालनी गरिएको थियो । देव शमशेरले विद्यार्थीहरूलाई लेख्ने सिलोट र अक्षरांक शिक्षा नामक पुस्तक निःशुल्क वितरण गर्ने व्यवस्था मिलाएका थए । देव शमशेर शिक्षाप्रेमी राणा प्रधानमन्त्रीमा गनिन्थे ।
नेपालको औपचारिक शिक्षामा उनको भूमिका निकै महत्त्वपूर्ण मानिन्छ । राजा, राणा र कुलीनहरूका सन्तानले मात्र अध्ययन गर्न पाउने भनी दमनकारी शिक्षा व्यवस्था रहेको मुलुकमा सामान्य जनताका सन्तानले पनि पढ्न पाउने गरी शिक्षा व्यवस्था ल्याउनु र विद्यालयको स्थापना गर्नु निकै प्रशंसनीय र मुलुकको विकासका लागि प्रभावकारी काम मानिन्छ । जसको तारिफ आज पर्यान्त पनि भएको पाइन्छ ।
सामान्य जनताहरूमा शिक्षा भए उनीहरूमा दमनात्मक चेत हुन्छ र आफूहरूको प्रभुत्वमा विरोध हुन्छ भनेर राजा/राणाहरूले जनतालाई शिक्षाबाट बन्चित गर्दथे र जनतालाई दासको रुपमा काम गराएर आफूले लाभ लिइरन्थे तत्कालीन समयका कुलिनहरूले ।
काठमाडौँ उपत्यका बाहिर शिक्षा
चन्द्रशमशेरले वि.स. १९७२ मा काठमाडौँ उपत्यका बाहिर पहिलो अङ्ग्रेजी स्कूलको रुपमा सिराहामा चन्द्रमिडिल स्कूलको स्थापना गरे । वि.स. १९७५ भदौ २७ गते चन्द्रशमशेरले त्रिचन्द्र कलेज स्थापना गरे ।
वि.स. १९८९ मा जुद्ध शमशेरले कृषि विकासका लागि कृषि स्कूलको स्थापना गरेका थिए । नेपालको शैक्षिक इतिहासमा वि.स. १९९० कार्तिक १६ का दिन एस.एल.सी. बोर्डको गठन भयो । नेपालमा एस.एल.सी. बोर्डको परीक्षा त्यही साल पुसको अन्तमा प्रथम पटक सुरु भएको थियो । वि.स. १९९५ चैत २८ गते जनताको तर्फबाट स्कूल खडा गर्ने स्वीकृति प्रधानमन्त्री जुद्ध शमशेरबाट दिइएको थियो ।
वि.स.२००२ मा पद्मशमशेर प्रधानमन्त्री भएपछि २००३ मा भक्तपुरमा पद्म हाइस्कूलको स्थापना गरियो । वि.स. २००४ मा आधारभूत शिक्षाअनुरुप ३०/४० वटा आधार स्कूलहरूको स्थापना भयो । आधार शिक्षाको प्रमुख काम स्कूलको शैक्षिक प्रशासन सुचारुरुपले सञ्चालन गर्नु हो । २००५ मा सर्वप्रथम काठमाडौंमा मन्टेश्वरी पूर्वप्राथमिक विद्यालयको स्थापना भएको थियो । सोही वर्ष विश्वविद्यालय स्थापनाको लागि एक सभाको गठन गरियो ।
प्रजातन्त्र पश्चात् नेपालको शिक्षा
शिक्षामा विकास निरन्तर रुपमा भएपनि २००७ पहिले नेपालको शिक्षा, त्यसको अवस्था र शिक्षामा सर्वसाधारणको पहुँच हेर्दा अवस्था दयनीय मान्न सकिन्छ । २००७ सम्म नेपालमा प्राथमिक विद्यालय ३१०, हाइस्कूल ११ संस्कृत विद्यालय ४०, कलेजहरू २ गरी जम्मा ३६३ थिए । त्यसमा पनि अघोषित रुपमा जनतालाई 'बाइकट' गर्ने कुरा त झनै दयनीय मान्न सकिन्छ ।
वि.स. २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्र प्राप्त भएपछि स्वतन्त्रपूर्वक सबै कार्य गर्न जनताले पाउने भए । २००७ मा शिक्षा मन्त्रालयको स्थापना भयो । अधिराज्यका विभिन्न गाउँ ता सहरहरूमा विद्यालयहरूको स्थापना गरियो । २०१० सालमा अधिराज्यलाई ७ डिभिजनमा विभाजित गरी प्रत्येक डिभिजनमा एउटा डिभिजन इन्सपेक्टर अफ स्कूलस कार्यालयहरूको स्थापना गरियो । डिभिजनल इन्सपेक्टर अफ स्कूलसको काम विद्यालयहरू स्थापना गर्ने, स्वीकृति दिने, सरकारबाट दिने आर्थिक सहायता वितरण गर्ने र विद्यालयहरुको निरीक्षण गर्ने आदि थिए ।
वि.स. २०११ मा नेपाल राष्ट्रिय शिक्षा योजना आयोग बन्यो । उक्त आयोगले दिन प्रतिदिन बढ्दै गएको शिक्षण संस्थाहरूको लागि स्थापना गरिएको डिभिजनल इन्स्पेक्टर कार्यालय अपर्याप्त भएको कुरा देखाउनुका साथै शैक्षिक निरीक्षण तथा विद्यालय प्रशासनको लागि त्यसबेला भएका २८ वटा जिल्लामा जिल्ला शिक्षा निरीक्षकको कार्यालय स्थापना गरी राजपत्र अनङ्कित कर्मचारीलाई जिल्ला शिक्षा निरीक्षक नियुक्त गरियो । वि.स. २०१८ मा नेपाल अधिराज्यलाई १४ अञ्चल ७५ जिल्लामा विभाजित गरियो । सोही वर्ष सर्वाङ्कीण राष्ट्रिय शिक्षा समिति गठन गरियो । त्यसबेला डिभिजनल इन्सपेक्टर अफ स्कूल कार्यालयलाई खारेज गरी १४ वटा अञ्चल शिक्षा अधिकारी कार्यालयको स्थापना गरियो ।
शिक्षामा आवश्यक सुधार ल्याउन २०२५ मा राष्ट्रिय शिक्षा सल्लाहकार समिति गठन भयो । २०२७ मा १४ वटा अञ्चल शिक्षा अधिकारी कार्यालय खारेज गरी स्कूलहरूको सङ्ख्या बढी भएका २९ जिल्लामा जिल्ला शिक्षा अधिकारीका कार्यालयहरू व्यवस्था गरिए ।
२०२८ सालमा राष्ट्रिय शिक्षा पद्धतिको योजना लागू भयो । यो शिक्षा योजनाले उत्पादनशीलता व्यवसायिकमूलक बनाई देशको राष्ट्रिय आवश्यकताअनुरुप बनाउन व्यवसायिक तथा प्राविधिक शिक्षामा जोड दिइएको थियो । अनि फेरि २०४९ मा राष्ट्रिय शिक्षा आयोग गठन गरियो । बहुदलीय व्यवस्थाको स्थापनापछि देशमा शिक्षा क्षेत्रमा व्यापक सुधार गर्नुपर्ने ठानियो ।
यसरी देशमा शैक्षिक विकास हुँदै आएको देखिन्छ । शिक्षाको विकास जनताको चेतना जागृतिको विकास सँगसँगै भएको छ । यसरी नेपालको शैक्षिक विकासको आफ्नै स्वरुप देखिन्छ ।
वर्तमान अवस्थामा नेपालको शिक्षा
नेपालको शिक्षाको यात्रा हेर्ने हो भने विगतदेखि वर्तमानको अवस्थामा आइपुग्दा निकै परिवर्तन देख्न सकिन्छ । खरिवाटीमा लेखेर, दियालो र टुकीबत्ती बालेर लिनुपर्ने तत्कालीन शिक्षाको अवस्था र यतिबेला डिजिटल बोर्डदेखि एआईसम्मको अवस्थासम्म आइपुग्दा नेपालको शिक्षामा उलेख्य रुपमा प्रगति भएको पाइन्छ ।
विश्व बजारमा नेपाली विद्यार्थी पनि प्रतिष्पर्धी शक्तिको रुपमा आउनसक्नु निकै लोभलाग्दो विषय हो । आइटी तथा टेक्नोलोजिका विभिन्न विधा हेर्ने हो भने झनै खुसी हुने मार्गहरू प्रसस्त मात्रामा भेट्न सकिन्छ ।
प्रत्यक वर्ष स्थातक तथा स्नातकोत्तर लेभल सक्काएर दिक्षित हुने विद्यार्थीको संख्या झनै लोभलाग्दो छ ।
केही सुझाब र अबको बाटो
राजनीतिक, सामाजिक, सांस्कृतिकका साथै आधुनिकता र विश्वव्यापिकरणको प्रभाव नेपाली र नेपाली शिक्षा व्यवस्थामा पनि परेको छ । नेपाली विद्यार्थीहरू विश्वका जुनसुकै विश्वविद्यालयमा गएर अध्ययन एवम् खोजमूलक कार्यमा सक्रिय रहने हैसित राख्दछन् भने नेपालमा पनि विभिन्न मुलुकबाट अध्ययनका लागि आउने विद्यार्थीको संख्या बढ्दो छ ।
यद्यपि सरकारको शिक्षा निती र प्रणाली वर्तमान समय सान्दर्भिकतातर्फ कम केन्द्रित हुनाले शिक्षाको व्यवहारिक पाटो र स्वरोजगारीको सिर्जनाका अवस्थामा हामी चुकेको भान हुन्छ ।
यस अवस्थाका लागि आयातित शिक्षा प्रणाली नभएर नेपाल र नेपाली भुगोलको आवश्यका अनुसारको शैक्षिक प्रणाली बन्न सके शैक्षिक बेरोजगारी घट्नुका साथै युवाको पलाएनलाई रोक्न सकिन्छ । यसका लागि सरोकारबाला सबै र राज्यको अहम भूमिका रहन्छ ।