कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा पाँच दशकअघिदेखि रतन जैरुले सिलाइकटाइको काम गर्दै आउनुभएको छ । यही पेसाबाट उहाँको जीविकोपार्जन हुँदै आएको छ ।
डडेल्धुराको खलङ्गाबाट ५५ वर्षअघि जैरु तराई झर्नुभएको हो । अहिले ६९ वर्ष पुग्नुभएका उहाँले भन्नुभयो, “पहाडमा जीविकोपार्जनमा समस्या हुन थालेपछि रोजगारीको खोजीमा तराई झरेको हो ।” तराई झरेको केही वर्षसम्म सङ्घर्षपूर्ण जीवन बितेको उहाँले सुनाउनुभयो ।
“पहाडमा हुँदा अलिअलि सिलाइकटाइ सिकेको थिएँ । तराई झरेपछि अरूको पसलमा मेसिन चलाउँदै गरेको, कपडा काट्दै गरेको कार्य हेरिरहन्थेँ । त्यसबेला म १५ वर्षको थिएँ”, जैरुले भन्नुभयो, “हेर्दाहेर्दै मेसिन चलाउन, कपडा काटन सिकेँ । कपडा सिलाइ गर्ने पसलमा काम पाएपछि मेसिनमा कपडा सिलाउन थालेँ, बिस्तारै सिकेको सीपले अहिले सक्षम बनाएको छ ।”
सीप निखार्न भारत भारतको बरेली पुगेको अनुभव जैरुले सुनाउनुभयो । “बीस÷बाइसको कलिलो उमेर थियो, बरेलीमा ‘टेलरिङ’ गर्ने पसलमा बसेर एक वर्ष काम गरेँ । काम गर्दै जाँदा सीप पनि सिकिँदो रहेछ”, उहाँले भन्नुभयो, “पाइन्ट र सर्ट बनाउनमा निपूर्ण भएपछि आत्मविश्वास पनि बढ्दै गायो ।” उहाँले त्यतिले व्यावसायिक सिलाइकटाइ गर्न नपुग्ने ठानेर कोटपाइन्ट, सुट बनाउने सीप सिक्न विसं २०३४ मा भारतको लखनऊ पुगेको स्मरण गर्नुभयो।
दुई वर्ष लखनऊमा बसेर जैरुले कोटपाईन्ट बनाउनमा दक्षता हासिल गरेपछि स्वदेश फर्किएको बताउनुभयो । एक वर्ष महेन्द्रनगर बजारमा अरुको पसल अगाडि बसेर सिलाइकटाइ गरेको सुनाउँदै उहाँले विसं २०३७ देखि झलारी बजारमा सिलाइकटाइ पसल राखेर काम थालेको उल्लेख गर्नुभयो ।
हालसम्म यही पेसालाई निरन्तरता दिएको बताउँदै जैरुले अहिले झलारी बजार क्षेत्रमा कोटपाइन्ट, सर्टमा सबैभन्दा राम्रो ‘फिनिसिङ्ग’ दिने टेलरका रुपमा परिचति भएकामा खुसी लाग्ने गरेको सुनाउनुभयो । “पहिला बजार क्षेत्रमा सिलाइकटाइ गर्ने प्रतिस्पर्धी थोरै हुँदा आम्दानी प्रशस्त थियो”, उहाँले भन्नुभयो, “महिनाको रु ५०÷६० हजार माथि कमाई हुन्थ्यो, अहिले बजार बढ्दै गएको छ, उमेरले पनि पहिलाको जस्तो साथ दिँदैन ।” अहिले मासिक रु ३० हजारसम्म आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो ।
जैरुले चार बहिनी, पाँच भाइको विवाहका साथै दुई छोराको सबै खर्च सिलाइकटाइबाट भएको आम्दानीले गराउनुभयो भने झलारी बजारमा घर र घरेडी जोड्नुभएको छ । सीप सिकेर आत्मनिर्भर भई व्यावसायिक रुपमा काम थालेपछि पैसाको कहिल्यै समस्या नपरेको अनुभव उहाँसँग छ । सीप सिकेर लगनशील भई कार्य गरे आत्मनिर्भर भइने उहाँको बुझाइ छ । (रासस)