गण्डकी: सप्ताहन्तको फुर्सदलाई पोखरेली वाङ्मयप्रेमीले साहित्यको रसस्वादनमा खर्चिए । कतै मुक्तक सुनिए, कहीँ गजल । उपन्यासमाथिको बहसदेखि नाट्यकृतिको लोकार्पण एकै दिन भए । पोखरा झरीको याममा पनि साहित्यमय बन्यो । पोखरा महानगरपालिका–२६ मा शनिबार आयोजित ‘वडा उत्सव’मा चर्चित गजलकार प्रदीप रोदन, मन क्षेत्री र कपिल शर्मा प्रस्तुत हुनुभयो । रोदनले सात, क्षेत्री र शर्माले छ÷छ गजल सुनाउनुभयो ।
‘गजब्बको माहोल जम्यो’, गजलकार क्षेत्रीले भन्नुभयो । वडा कार्यालयले गजलकारहरुलाई मञ्चमा उभ्याएको हो । तीनै गजलकारले झन्डै एक घण्टा गजलको महफिल जमाए । पत्रकार एवं आख्यानकार अखण्ड भण्डारी पनि शनिबार यहाँका पाठकमाझ प्रस्तुत हुनुभयो । आफ्नो उपन्यास कृति ‘बोरा’ माथिको परिचर्चा कार्यक्रममा उहाँले उपन्यास लेखनको अनुभव र रचनागर्भ सुनाउनुभयो । ‘¥यान्डम रिडर्स सोसाइटी’द्वारा आयोजित उक्त कार्यक्रममा उपप्राध्यापक राजिन पनेरुले ‘बोरा’माथिको समालोचनात्मक टिप्पणी गर्नुभयो ।
कार्यक्रममा उपन्यासबारे बौद्धिक पाठकहरुले जिज्ञासा तथा सुझाव राखेका थिए । पाठकसँगको संवादमा आख्यानकार भण्डारीले आफ्नो लेखकीय अनुभव बाँड्नुभयो । अन्नपूर्ण पोष्ट दैनिकका सम्पादकसमेत रहनुभएका उहाँले उपन्यास सत्य घटनामा आधारित रहेको बताउनुभयो । आफू पत्रकारसमेत भएकाले उपन्यासका माध्यमबाट समाजका घटना र प्रवृत्तिलाई पस्किन सहज भएको उहाँले सुनाउनुभयो ।
पुछारसिटे अभियानको आयोजनामा कवि सञ्जीव पौडेलको कवितासङ्ग्रह ‘जून ओर्लेको रात’माथि पनि शनिबार नै परिचर्चा गरियो । साहित्यकार सरु भक्त, तीर्थ श्रेष्ठलगायत सो कार्यक्रममा सहभागी भए । उक्त कविता कृतिमाथि डा भूमिराज बस्ताकोटीले टिप्पणी गर्नुभयो ।
नारी प्रतिभा वाङ्मय प्रतिष्ठान, नेपालको आयोजनामा कवि सिर्जना अर्यालको नाट्यकृति मुर्दाघरको लोकापर्ण पनि शनिबार नै भयो । गण्डकी प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा आयोजित उक्त कार्यक्रममा कवि अर्यालले एकल कविता वाचनसमेत गर्नुभयो । मुक्तक मञ्च केन्द्रीय समितिले एक सय ९५औँ मुक्तक वाचन शृङ्खला आयोजना ग¥यो । चौकीस मुक्तककारले आफ्नो चोटिला मुक्तक सुनाए ।
हरेक महिनाको अन्तिम शनिबार मुक्तक वाचन कार्यक्रम आयोजना गर्ने गरिएको मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यले जानकारी दिनुभयो । “मञ्चको कार्यक्रममा विशेषगरी चतुस्पदी मुक्तक सुनाउने गरिन्छ”, उहाँले भन्नुभयो । विसं २०६५ मा स्थापित उक्त संस्था मुक्तक विधाको उन्नयनमा समर्पित छ । शनिबार नै लोकगायक कल्याण शेरचनलाई पोखरामा सम्झिइयो । कल्याण शेरचन स्मृति प्रतिष्ठानको १४औँ वार्षिक साधारणसभामा उहाँको योगदानबारे चर्चा गरियो ।
पोखरामा भाषा, साहित्य र संस्कृतिका श्रीवृद्धिमा दर्जनौँ संस्था क्रियाशील छन् । उनीहरुले हरेक साता कुनै न कुनै साहित्यिक गतिविधि गर्दैआएका छन्। उनीहरुले साहित्यिक पुरस्कार तथा सम्मानसमेत प्रदान गर्दै आएका छन् । पोखरेली युवा सांस्कृतिक परिवारलगायत यसको अग्रणी भूमिकामा देखिन्छन्। नेपालमै पहिलोपटक २०३५ सालमा टिकटमा मुक्तक कार्यक्रम आयोजना गरेको श्रेय पनि उक्त परिवारलाई जान्छ । त्यसबेला उक्त कार्यक्रममा दिवङ्गत साहित्यकार हरिभक्त कटुवाल प्रमुख अतिथिका रुपमा पोखरा आउनुभएको थियो ।
पोखरेली सर्जक फणिन्द्र अकिञ्चनले कला, साहित्यको उत्थानमा संस्थागत पहल पोखरेली युवा सांस्कृतिक परिवार गठन भएयता सुरु भएको बताउनुभयो । “अहिले दर्जनौँ साहित्यिक संस्था यहाँ सक्रिय छन्, शनिबार त साहित्यिक कार्यक्रममा पुग्नै भ्याइनभ्याइ हुन्छ”, उहाँले भन्नुभयो, “पहिले रचना वाचन बढी हुन्थ्यो, अहिले साहित्यिक पुस्तकमाथि बौद्धिक र विमर्शका कार्यक्रम हुन थालेका छन् ।”
काठमाडौँमा बसेर लेखिरहेका कवि, लेखकहरु त्यस्ता कार्यक्रमका लागि बरोबर पोखरा आइरहन्छन् । ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीले नियमित रुपमा साहित्यिक कृतिमाथि परिचर्चा कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो । पोखरा कला, साहित्य र संस्कृतिले धनी सहर हो। बूकवर्म फाउन्डेसनले गर्दै आएको नेपाल साहित्य महोत्सव पनि केही वर्षदेखि पोखरामा हुँदै आएको छ । रासस