तनहुँ : जिल्लामा एक वर्षको अवधिमा नागरिकताभन्दा बढी राहदानी वितरण भएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०८०÷८१ मा १५ हजार सात सय ७७ राहदानी वितरण गरेको छ ।
राहदानी लिनेमध्ये छ हजार सात सय ३४ महिला र नौ हजार ५३ पुरुष रहेका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सोही अवधिमा १६ हजार सात सय ४३ राहदानी सिफारिस गरिएको छ ।
कार्यालयले एक वर्षको अवधिमा आठ हजार नौ सय ५५ नागरिकता वितरण गरेको छ । तीमध्ये वंशजको आधारमा आठ हजार नौ सय ४६ र वैवाहिक अङ्गीकृतको आधारमा नौजनालाई नागरिकता वितरण गरिएको छ । नागरिकता प्राप्त गर्नेमध्ये चार हजार सात सय २८ महिला र चार हजार दुई सय २६ पुरुष छन् ।
यसैगरी, सात हजार छ सय ६१ जनालाई नागरिकताको प्रतिलिपि र ४३ जनालाई गैरआवासीय नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ । साथै सोही अवधिमा नौ महिला र १९ पुरुष गरी २८ जनाको नागरिकता रद्द गरिएको प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीमा जाने जिल्लामध्ये गण्डकी प्रदेशमा तनहुँ उच्च भएकाले पनि नागरिकताभन्दा बढी राहदानी वितरण भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो । उहाँका अनुसार कार्यालयबाट पाँच सय १५ जनालाई नाबालक परिचयपत्र, १४ जनालाई प्रतिलिपि वितरण गरिएको छ । २५ हजार दुई सय २७ जनाको राष्ट्रिय परिचयपत्र नयाँ दर्ता गरिएको छभने एक हजार १४ परिचयपत्र वितरण गरिएको कार्यालयले जनाएको छ ।
आठ सय ४५ लाई जनजाति प्रमाणित, चार सय १८ लाई दलित प्रमाणित, एक सयलाई विपन्न खस आर्य प्रमाणित, ३८ लाई मुस्लिम प्रमाणित गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार एक सय ५८ जनाको तिब्बतीयन शरणार्थी परिचयपत्र नवीकरण गरिएको छभने १२ जनालाई यात्रा अनुमतिपत्र सिफारिस गरिएको छ ।
सोही अवधिमा कार्यालयमा एक सय ४५ मुद्दा दर्ता भएकामा ७९ फछ्र्यौट भएका छन् । संस्था दर्तातर्फ २५ नयाँ, छ सय ८७ नवीकरण, हातहतियारतर्फ तीन नवीकरण र एक नामसारी भएका छन् ।
कार्यालयले संस्था दर्ताबाट रु १० लाख ३० हजार छ सय १०, हातहतियारबाट रु छ लाख एक हजार एक सय २५, राहदानी दस्तुरबाट रु आठ करोड ४६ लाख ५३ हजार पाँच सय, न्यायिक दण्ड जरिवानाबाट रु ११ लाख ५० हजार छ सय ३८, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट रु दुई लाख २३ हजार राजश्व सङ्कलन गरेको जनाएको छ । (रासस)