काठमाडौँ । नेपाल इनभेस्टमेन्ट मेगा बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईएमबी एस क्यापिटल लिमिटेड १३ वर्षमा प्रवेश गरेको छ । १२ वर्ष अगाडि बाट मर्चेन्ट बैकिंक तथा इन्भेस्टमेन्ट बैकिंक क्षेत्रमा सेवा प्रदान गर्दै आएको क्यापिटल ले शुक्रबार १२ औं वार्षिकोत्सव मनाएको हो ।
धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त मर्चेन्ट बैंकरको रूपमा यस कम्पनीले आइपिओ जारी तथा बिक्री व्यवस्थापन, सेयर रजिस्टार, डिम्याट सेवा, प्रत्याभूति सेवा र लगानी व्यवस्थापन सेवा जस्ता सुविधाहरू प्रदान गर्दै आएको छ ।
एनआईएमबी एस क्यापिटलले सन् २०१४ मा नेपालको पहिलो म्युचुअल फण्ड योजना र २०१९ मा पहिलो खुला रुपी म्युचुअल फण्ड लन्च गरेको थियो ।
वार्षिकोत्सवका अवशरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले कर्मचारीले राम्रोसँग काम गरेका कारण कम्पनी यो ठाउँमा आएको बताए ।
उनले भने,‘कम्पनी १२ वर्षको हुनमा सबैभन्दा ठूलो योगदान हाम्रा प्रिय ग्राहकवर्गको छ । साथमा अथक मेहेनत र लगावका साथ काम गर्ने हाम्रा कर्मचारी लगायत हाम्रो सिंगो टिम बिना यो उपलब्धी सम्भव हुने थिएन। भविष्यमा पनि लगानीकर्ता तथा ग्राहकवर्गको लगानीमा उच्चतम् आम्दानी प्रदान गर्ने हाम्रो प्रतिबद्धता कायम गर्ने वाचा गर्दछु ।’
हाल एनआईएमबी एस क्यापिटलले रु. १० अर्बभन्दा बढी मूल्याङ्कन भएका पाँचवटा म्युचुअल फण्डहरूको व्यवस्थापन र लगानी व्यवस्थापन सेवा अन्तर्गत लगानीकर्ताको रु. ६ अर्ब भन्दा बढी रकमको लगानी व्यवस्थापन गरेको छ । कम्पनीले हालसम्म ४१ लाख भन्दा बढी ग्राहकहरूलाई आफ्नो सेवा प्रदान गरेको जनाएको छ ।
यस्तै ५ लाख भन्दा बढी डिम्याट खाताहरू व्यवस्थापन गर्नुका साथै २०० भन्दाबढी आइपिओ/एफपिओ जारी गर्न सफल भएको कम्पनीको भनाइ छ ।
एनआईएमबी एस क्यापिटलले प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्ड प्रबन्धकको रूपमा समेत धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त गरेको छ । यस कम्पनीले १० अर्बभन्दा धेरैको लगानी क्षमता रहेको प्राइभेट इक्विटी फन्ड-एनआईबिएल इक्विटी पार्टनर्सको व्यवस्थापन पनि गर्दछ ।
हालसम्म एनआईबिएल इक्विटी पार्टनर्सले एक अर्बभन्दा बढी लगानी गरिसकेको र भविष्यमा सक्रिय रूपमा थप कोष लगानी गर्ने योजना रहको कम्पनीले जनाएको छ ।
एनआईएमबी एस क्यापिटलले नेपालमा पहिलो खुलामुखी म्युचुअल फन्ड बजारमा ल्याउनुका साथै लगानीकर्ताको लागि विभिन्न विकल्पहरु प्रदान गर्दै आइरहेको छ । एनआईएमबी एस क्यापिटलले लगानीकर्ताको लागि भविष्यमा थप लगानी विकल्पहरू ल्याउने प्रतिबद्धता जनाएको छ ।