काठमाडौँ: मानिसको धर्म नै मानवता हो । मानिसमा हुनुपर्ने मानवीय गुणहरुको विकास र पूर्णतालाई नै मानव धर्म भनिन्छ । धर्म भनेको प्राणीको कल्याण गर्नु हो । निःस्वार्थपूर्वक गरिने मानव सेवाबाट मात्रै धर्म प्राप्तिको ढोका खुल्दछ । सेवा यति नै गर्नुपर्छ भन्ने छैन, जति सकिन्छ, त्यति गर्ने हो, मात्र पवित्र उद्देश्यका साथ गर्नुपर्छ । सामाजिक सेवा गर्नु भनेको मानवीय धर्म हो, जीवन सार्थक बनाउने प्रयास हो । यही पवित्र विचार राखेर मानवीय सेवामा लागि पर्नुभएको छ, राधिका शाक्य । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीको धर्मपत्नीका रुपमा मात्र नभई समाजसेवी, परोपकारी र आश्रयविहीनहरुको आमाका रुपमा धेरैले चिन्न थालेका छन् ।
सत्ता र शक्तिको आडमा धेरैले आफ्नो विगत बिर्सन्छन् र आफूलाई अरूभन्दा फरक ठान्छन् । सत्ता र शक्तिको दुरुपयोग गरेर अकुत सम्पत्ति जोड्नेदेखि आफ्ना नातागोता र आसेपासेहरुलाई पोस्न खोज्नेहरु हाम्रै समाजमा छन् तर सबै यस्तै हुन्छन् भन्ने पनि होइन, उहाँजस्ता व्यक्ति पनि छन्, जसलाई सत्ता र शक्तिको भोक र उन्मादले कहिल्यै छोएन । सबैप्रति उत्तिकै प्रेम, स्नेह र अभिभावकत्व नै उहाँको पहिचान बनेको छ । आफूलाई सधैँ सामान्य राख्न चाहने र अरूका लागि सक्दो सहयोग र स्नेह भाव राख्ने व्यक्तित्व हुनुहुन्छ उहाँ । सादा जीवन उच्च विचार भन्ने आदर्शबाट प्रभावित उहाँमा कहिल्यै आडम्बर, घमण्ड आएन । मुलुकको चारपटक प्रधानमन्त्री बनिसक्नुभएका ओलीको धर्मपत्नी उहाँ एक साधारण महिला मात्र नभएर धेरैलाई मातृत्व भाव दिनसक्ने आमा पनि हुनुहुन्छ ।
सन्तान जन्माउने धेरै महिलाले आफ्ना सन्तानलाई जसरी मातृत्व पोख्न सक्छिन्, आफ्नै कोखबाट सन्तान नजन्माए पनि उहाँले धेरै असहायलाई आमा जत्तिकै स्नेह र ममता दिनुभएको छ । उहाँकै मातृत्वमा आज धेरैले न्यानो स्नेह र माया पाएका छन्, अभिभावक पाएका छन् । साँच्ची भन्नुपर्दा आमा पाएका छन् । सन्तानको खुसी उन्नतिको सधैँ प्राथना गर्ने आमामा हुने धेरै गुणहरु उहाँमा रहेको पाइन्छ । उहाँ भन्नुहुन्छ, “आफ्नै कोखबाट सन्तानलाई जन्म नदिएकाले सन्तानलाई गरिने माया कस्तो हुन्छ मलाई थाहा छैन । यदि मेरा छोराछोरी भएको भए पनि उनीहरूको भन्दा धेरै माया तिनै असहायहरु र असहायको सेवामा समर्पित अभियन्ताहरुको लाग्ने गर्दथ्यो होला ।’’ आमाले दिने माया संसारमा अरूबाट पाउने मायासँग तुलना गर्न सकिन्न ।
“मेरो विवाह हुनुमा पनि मानवीयताले काम गरेको छ”, उहाँ भन्नुहुन्छ, “१४ वर्षसम्म जेलमा बिताएका, हेर्दै दुब्लो, पातलो ख्याउटे, र राज्यको नजरमा देशद्रोही मानिएको व्यक्ति जो राज्यबाट कुनै पनि बेला मारिन सक्थ्यो, त्यस्तो व्यक्तिसँग मैले बिहे गुर्नको मूल कारण मानवताप्रतिको सच्चा निष्ठा थियो ।” पाटनकी रैथाने नेवारकी छोरी, स्नातकोत्तर पास गरिसकेकी उहाँले भनेजस्तो केटा नपाउने कुरै थिएन । उहाँ सम्झनुहुन्छ, ‘‘कतिपयले मलाई भनेका पनि थिए तिमीले ओलीसँग विवाह गरेर ठूलो गल्ती ग¥यौै तर मभित्रको मानवताले देश बनाउन हिँडेको मान्छेलाई साथ दिनुपर्छ, सहयोगी बन्नुपर्छ, विवाह धनदौलत र रुपसँग गरिने होइन भन्ने भावले जित्यो । सम्पूर्ण जीवन उहाँसँगै बिताउने निधो गरेँ, यसैमा खुसी छु ।”
मध्यम वर्गको परिवारमा जन्मेहुर्केकी उहाँलाई गरिबी, दुःख, अभाव के हो भन्ने राम्रोसँग थाहा छ । उहाँ भन्नुहुन्छ, “सानैदेखि गरिब, दुःखी बाटोमा मागेर बस्नेप्रति निकै माया लाग्थ्यो । उनीहरूका निम्ति केही सहयोग गर्न पाए हुन्थ्यो भन्ने भावले सधैँ पछ्याइरहन्थ्यो ।” उहाँलाई एउटै कुराको चिन्ता छ, समाजमा रहेको आर्थिक–सामाजिक विभेद कहिले अन्त्य होला ? मानिसहरुले एकछाक खान र सुविस्ताले बस्न कहिले पाऊलान् ? जसरी एउटी आमा आफ्ना सन्तानले दुःख पाएको हेर्न सक्दिनन्, त्यसैगरी, उहाँ पनि असहाय, सहाराविहीन अवस्थामा रहेका बाआमा, बाबुनानीहरुको अवस्था देख्दा निकै चिन्तित बन्नुहुन्छ ।
उहाँभित्रको परोपकारी र सहयोगी भावनाले साक्षात आमाको अभाव पूरा गर्दछ । गोरखा भूकम्पका बेला होस् वा कोरोना महामारीका बेला उहाँ आफैँ अस्पतालमा पुगेर थुप्रैको सहारा बन्नुभएको थियो । महिला भएर पनि उहाँमा कहिल्यै गरगहना, लवाइखुवाइमा कुनै सोख छैन । फजुल खर्चलाई सेवामा लगाउन उहाँको आग्रह छ । निःस्वार्थपूर्वक सेवामा समर्पित हुँदै आइरहेका थुप्रै परोपकारी समाजिक सङ्घसंस्थालाई हरतरहबाट नियमित साथ र सहयोग समेत प्रदान गर्दै आइरहनुभएको उहाँलाई केही सहयोग गर्न पाएको क्षण औधी रमाइलो लाग्छ ।
उहाँको विचारमा आध्यात्मिक हुनु भनेको धार्मिक हुनु, मठमन्दिरमै गएर पूजापाठ गर्नुपर्छ भन्ने होइन, आफ्नो धर्म संस्कृतिको सार बुझेर त्यसैअनुसार आफ्नो जीवनलाई अगाडि बढाउनु हो । मानवीय भावनाको विकासले नै सभ्य र अनुशासित समाजको निर्माण गर्न सकिन्छ । यसका लागि ठूलो लगानी आवश्यक पर्दैन । हामीले आफ्ना जन्मदिन, विवाहोत्सव, पितृ कार्यहरुमा मानवसेवामा क्रियाशील संस्थाहरुमार्फत मानवसेवामा आफ्नो पनि सहभागिता जनाउन सकिन्छ । उहाँ भन्नुहन्छ, “केही वर्षयता म र मेरो श्रीमान् दुवैको जन्मदिन, अभिभावकका पुण्यतिथि एवं खुसीका क्षणहरु मानवसेवा आश्रम लगाएर विभिन्न परोपकारी सेवामा समर्पित आश्रमहरुमा गएर मनाउँछौँ । यसो गर्न पाउँदा खुसी मिल्छ ।” उहाँले यसै वर्ष पनि श्रावण सङ्क्रान्तिका अवसर एवं प्रधानमन्त्रीको नियुक्ति भएको दिन मानवसेवा आश्रममा आश्रित आमाबुबा र बाबुनानीहरूका लागि एक दिनको विशेष भोजन सेवा प्रदान गर्नुभएको थियो ।
जीवनमा मानव भएर जन्मेपछि सार्थकता पाउने एउटै मात्र बाटो निःस्वार्थपूर्वक गरिने मानवसेवा नै हो । मानव जस्तो अत्यन्त विकसित, महत्वपूर्ण र मूल्यवान् धर्तीको उपज, सृष्टि, त्यसले यही धर्तीमा भौँतारिएर बाँच्नुपर्ने, सहाराविहीन हुनुपर्ने, गाँस बास र कपासको प्रबन्ध, हेरविचार हेरचाह, बन्धुत्व, मित्रता केही पनि नपाएर बस्नुपर्ने जस्ता कुरा मानव समाजका लागि पटक्कै शोभनीय होइनन् । मानिस चाहे शारीरिक अपाङ्गता, अशक्त होस् अथवा गरिखान नसक्ने, मानसिक अस्वस्थता, प्राकृतिक विपत्ति अथवा अरू जेसुकै कारण भए पनि कोही पनि मानवोचित जीवनबाट वञ्चित हुन नपरोस् भन्ने नै आफ्नो अभीष्ट रहेको उहाँ बताउनुहुन्छ ।
मानिसमा नभई नहुने अर्को महत्वपूर्ण गुण हो, परोपकारी भावना । परोपकार गर्नु पुण्य हो भने अरूलाई दुःख दिनु पाप हो भन्ने बुद्धको भनाइ नै उहाँको जीवनको आदर्श बनेको छ । उहाँ भन्नुहुन्छ, “परोपकार नै ठूलो धर्म हो । गरिब, असहाय, दीनदुःखीको सेवा हामी सबैले गर्नुपर्छ । उनीहरूको सेवा गर्नु नै भगवान्को सेवा गर्नु सरह हो ।” संसारमा भएका सबै धर्मले पनि यही भनेको छ । आज मान्छेले मानवताको महान् लक्ष्य र आधारलाई बिर्सेर आफूलाई सङ्कीर्ण सीमाभित्र राखेको देख्दा उहाँलाई दुःख लाग्छ । उहाँ भन्नुहुन्छ, “हरेक मान्छे आफूलाई हिन्दु हुँ, मुसलमान हुँ, इसाई हुँ, शिख हुँ, बौद्घिष्ट हुँ भन्छ तर हिन्दु, मुस्लिम, शिख, इसाई अथवा बौद्घिष्ट हुनुभन्दा पहिले हामी मानव हौँ भन्ने कुरा उसले बिर्सेको छ ।’’ मानव हुनुको नाताले मानवको वास्तविक धर्म मानव धर्म हो भन्ने बुझ्न नसक्नेलाई बुझाउन जरुरी रहेको उहाँ बताउनुहुन्छ ।
मानवसेवा आश्रममा यसरी जोडिनुभयो राधिका
उहाँको यही मानव धर्मप्रतिको प्रतिबद्धता र सेवा भावले मानवसेवा आश्रमसँग गहिरो सम्बन्ध जोडिएको छ । मानवसेवा आश्रमसँग सम्बन्ध जोडिएको भने त्यति धेरै भएको छैन । २०७५ चैतमा एक दिन कुनै ‘अनलाइन मिडिया’मा काठमाडौँ महानगरपालिका र मानवसेवा आश्रमको सहकार्यमा सडकमा बेवारिस अवस्थामा रहेका मानवको उद्धार गरी एक महिलालाई सामाखुशीस्थित मानव सेवा आश्रममा राखिएको भन्ने समाचारमा उहाँको नजर पुग्यो । समाचारले उहाँलाई ती असहायहरुसँग भेट्ने इच्छा जाग्यो । उहाँ आश्रमको ठेगाना सोध्दै सामाखुशीस्थित आश्रममा पुग्नुभयो र त्यहाँ रहेका आश्रितहरुसँग कुराकानी गर्नुभयो । तिनीहरुका कुराले उहाँलाई निकै भावुक बनायो । निस्कने बेलामा आश्रमलाई रु २५ हजार सहयोग दिनुभयो र त्यहाँ रहेका स्वयंसेविकालाई भन्नुभयो, “भरे तपाइँहरुको मुख्य अभियन्तालाई मलाई सम्पर्क गर्न भनिदिनुहोला ।” उहाँले दिएको सहयोग रसिदमा नाम र सम्पर्क नम्बर उल्लेख थियो ।
साँझ दैनिक समीक्षामा सहयोग गर्ने दाता को रहेछ भनी बुझ्दा प्रधानमन्त्री पत्नी रहेको थाहा पाएपछि सम्पर्क गर्दा उहाँले आफू आश्रमको सेवा कार्यबाट निकै प्रभावित भएको बताउँदै उहाँले भोलिपल्ट बिहानै बालुवाटारमा बोलाउनुभयो । त्यतिबेला केपी शर्मा ओली दोस्रोपटक मुलुकको प्रधानमन्त्री हुनुहुन्थ्यो । आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी भन्नुहुन्छ, “उहाँसँगको भेट र उहाँले प्रदान गर्नुभएको स्नेहले मानवीय सेवामा समर्पित हामी अभियन्ताहरुलाई एउटा जिम्मेवार अभिभावक पाएको अनुभूति भयो । २०६९ सालदेखि आश्रम सुरु गरेको भए पनि राज्यबाट जिम्मेवारपूर्ण सहयोग र अभिभावकत्व पाएका थिएनौँ । हाम्रा कामहरुका बारेमा राज्यका उच्च निकायका व्यक्तित्वहरुसँग राख्ने अवसर नै पाएका थिएनौँ तर राधिका आमाले हामीलाई प्रधानमन्त्रीकै उपस्थितिमा आश्रम सञ्चालन गर्दाका समस्याहरु र हाम्रा अपेक्षाहरुको प्रस्तुति राख्ने वातावरण बनाइदिनुभयो ।”
मानवसेवा आश्रमले केही वर्षदेखि सञ्चालन गर्दै आएको मेची महाकाली राष्ट्रिय उद्धार यात्रालाई उहाँको निरन्तर सहयोग र सद्भाव रहँदै आएको छ । उहाँ भन्नुहुन्छ, “अभियानमा आफू प्रत्यक्ष सहभागी हुन नसके पनि दीनदुःखी र असहायको सेवा गर्दा मनमा शान्ति मिल्छ, पुण्य सङ्ग्र्रह बढ्छ । मानवसेवा आश्रमले गरिरहेको सत्कर्मको पुण्य मलाई पनि मिलोस् भनेर अभियानप्रति मेरो समर्थन र साथ रहँदै आएको छ ।” आश्रमका हरेक गतिविधिहरुमा उहाँ सम्भव भएसम्म आफैँ सहभागी हुनुहुन्छ, नभए शुभेच्छा दिनुहुन्छ । पहिलोपटक २०७७ पुस महिनामा भएको मेची–महाकाली राष्ट्रिय उद्धार अभियानमा निस्केका आश्रमका अभियन्तालाई शाक्यले उद्धार सेवामा आवश्यक सामग्रीहरु दिँदै प्रधानमन्त्रीकै उपस्थितिमा बालुवाटारबाटै बिदाइ गर्नुभएको थियो । मानवसेवा आश्रमले आनी छोइङ डोल्मा फाउन्डेसनको सहकार्यमा गत वर्ष पनि बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवहरुको उद्धार, पारिवारिक पुनर्मिलनदेखि उनीहरुसँगै दसैँ, तिहार, छठजस्ता पर्वहरु मनाउने गरी एकमहिने अभियान सञ्चालन गर्दा पनि उहाँले हरेक दिन अभियानकर्मीहरुलाई फोन गरेरै उत्साह भर्ने गर्नुभएको थियो ।
आश्रमले छाटो समयमै घरपरिवार र आफन्तविहीन भई खुला आकाशमुनि कष्टपूर्ण जीवनयापन गर्न बाध्य, आफ्नो लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभई सडक आश्रित हुन पुगेका सहयोगापेक्षी सडक आश्रित मानवहरूको मानवसेवा आश्रमले उचित संरक्षण र पालनपोषण गर्दै आएको कार्यबाट प्रधानमन्त्री पनि निकै प्रभावित हुनुहुन्छ । प्रधानमन्त्रीले विभिन्न कारणबाट सडक आश्रित हुन पुगेका सहयोगापेक्षी सडक आश्रित मानवको अभिभावक राज्य बन्नुपर्ने र सहयोगापेक्षी सडक मानवमुक्त गराउने मानवसेवा आश्रमको अभियानमा सरकार साथमा रहेको र यसका लागि आवश्यक अभिभाकत्व रहिरहने बताउनुभएको छ । उहाँ यसपटक प्रधानमन्त्री भएलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले २०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त गराउने निर्णय गरेको बताउनुभयो ।
विसं २०८२ भित्र नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गरी घोषणा गर्ने मानवसेवा आश्रमको सङ्कल्पलाई सरकारले अभिभाकत्व ग्रहण गरी आफ्नो नीति तथा कार्यक्रममा प्राथमिकताको साथ राखेको छ । सरकारको सहयोगी बनेर २०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त बनाउने अभियानमा सक्रियतापूर्वक सातै प्रदेशहरुमा मानवता प्रवद्र्धन, जागरण एवं सहयोगापेक्षीहरुको उद्धारका कार्यक्रमहरु नियमितरुपमा सञ्चालन भइरहेको अधिकारी बताउनुहुन्छ ।
आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्यसहित देशव्यापीरूपमा सडकपेटी र सार्वजनिकस्थलहरूमा कष्टपूर्ण जीवन बिताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारीरिक तथा मानसिक रूपमा अतिकमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण एवं पारिवारिक पुनर्मिलन गराउँदै आएको छ । हाल देशभर सात प्रदेशको १९ जिल्लामा २४ वटा सेवा केन्द्र सञ्चालनमा रहेको आश्रमले ७७ जिल्लाबाट सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गर्दै आइरहेको छ । आजसम्म एक हजार सात सय बेसहारा सडक मानवको प्रत्यक्ष संरक्षण गर्दै आइरहेको यस आश्रमले १० हजारभन्दा बढीको उद्धार गर्नाका साथै चार हजारभन्दा बढीको सफल पारिवारिक पुनर्मिलन गराउन सफल भइसकेकाले पनि अभियानलाई निष्कर्षमा पु¥याउन सबै नेपालीको साथ सहयोग हुनुपर्ने उहाँको धारणा छ ।
कुशल गृहिणीदेखि लेखिकासम्म
मुलुकको प्रमुख राजनीतिक पार्टीको अध्यक्ष तथा पटकपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका व्यक्तिको अर्धाङ्गिनी उहाँ भने राजनीतिलाई भन्दा समाजसेवामै रमाउन चाहनुहुन्छ । उहाँले चाहनुभएको भए सांसद, मन्त्री वा अन्य महत्वपूर्ण जिम्मेवारी नपाउने कुरै थिएन तर त्यसतर्फ उहाँको कहिल्यै ध्यान गएन । उहाँलाई पनि राजनीतिमा चासो नभएको त होइन तर राजनीतिलाई स्वार्थका लागि प्रयोग गरिनुहुन्न भन्ने मान्यता राख्नुहुन्छ । “राजनीति समाजसेवा हो, देश र जनताका लागि गरिने विशुद्ध कर्म हो तर हामी कहाँ त पदमा पुग्ने, कमाउने माध्यम बनेको छ”, उहाँ भन्नुहुन्छ । विभिन्न नियुक्ति, ठेक्कापट्टा वा अवसरका लागि आउने नातागोता वा चिनेजानेका जो कोहीलाई पनि उहाँको एउटै जवाफ हुन्छ, “हामीले नै यसरी भनसुन गर्न लाग्यौँ भने त्यस्तो गराउन नसक्नेको अवस्था के होला ? सबैले आफ्नो क्षमताअनुसार अवसर पाउनुपर्छ ।”
उहाँ एक उदाहरणीय श्रीमती हुनुहुन्छ, जसको ढाडस, हौसला र साथले नै ठूला रोगहरु लाग्दा पनि प्रधानमन्त्री ओलीले त्यसलाई सजिलै जित्न सक्नुभएको छ । ओलीको स्वास्थ्य अवस्थाले ओछ्यानमा जाउलो खाएर बस्नुपर्नेमा मुलुकको गहन जिम्मेवारी सहजै फूर्तिसाथ बोक्नुभएको छ । राजनीतिका अनेक उतारचढावलाई पनि सजिलै पार लगाउन सक्नु सामान्य कुरा होइन । साढे तीन दशकदेखिको श्रीमतीको प्रेम, हेरचाह र सकारात्मक भावकै कारण ओली देशको राजनेता बन्नुभएको छ । उहाँको बेदाग छवि र हौसलाले जस्तोसुकै चुनौती र समस्यासँग जुध्दै सफलता चुम्न बल पुगेको छ । उहाँ अनावश्यक मान्छेहरुसँग भेट्न चाहनुहुन्न । आफ्नै घरधन्दाले एकछिन फुर्सद हुँदैन । घरमा आउने नेता, कार्यकर्तालाई चियापान भयो भएन भन्नेदेखि घरमा सहयोग गर्नेहरुको खानपिन, श्रीमानको हेरविचार र करेसावारीको कामधन्दाले धेरै कुरा सोच्ने फुर्सद नै हुँदैन । घरको छतमा गर्नुभएको कौसीखेती हेर्नलायक छ । “अब बालुवाटार आएकी छु, अलि घरधन्दाको बोझ कम हुन्छ कि ? उहाँ भन्नुहुन्छ, “तर घरको चिन्ता पनि उत्तिकै छ ।”
उहाँमा एक समाजसेवी, असल गृहिणी मात्र नभएर सफल लेखिकाको परिचय पनि थपिएको छ । विवाहपश्चात् जीवनका विभिन्न कालखण्डमा भोगेका केही रोचक र अधिकांश क्रूरतम् र पीडादायी क्षणहरूका अनुभूतिहरूलाई आँसुका शब्दमा उहाँले ‘मेरा अनुभूति’ नामक पुस्तक लेखेर जीवनका अनेक भोगाइहरुलाई निकै मिठासपूर्ण ढङ्गबाट प्रस्तुत गर्नुभएको छ । पुस्तक पढ्ने जो कोहीले पनि उहाँको लेखनकलाको प्रशंसा नगरी रहन सक्दैन । पुस्तकबाट थुप्रै ऐतिहासिक जानकारी पाउन सकिन्छ । श्रीमानको उपचारका क्रममा स्वदेश र विदेशका अस्पतालहरुमा बस्दाका क्षणदेखि राजनीतिक रुपमा सहनुपरेका अनेक हण्डरहरुलाई निकै भावुक रुपमा अक्षरमा उतार्नुभएको छ । कृष्ण अधिकारी/रासस