काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । नेपाली कांग्रेससहितको समर्थनमा नयाँ सरकार गठनको दाबी पेस गरेका ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नियुक्त गर्ने तयारी गरेका छन् ।
संविधानको धारा ७६ (२) नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको समर्थन लिएर शुक्रबार साँझ ओलीले नयाँ सरकार गठनको दाबी पेस गरेका थिए ।
राष्ट्रपतिले आइतबार साँझ ५ बजेसम्मका लागि समयसीमा दिएर सरकार गठनको आह्वान गरेका छन् । आज ओलीलाई प्रधानमन्त्री नियुक्त गरेर सोमबार बिहान ११ बजे आसपासको समयमा शपथ ग्रहण कार्यक्रम राख्ने तयारी राष्ट्रपति कार्यालयको छ ।
नियुक्त गरेर आइतबार नै शपथ ग्रहणका लागि निम्तो दिन नभ्याउने भएपछि सोमबारका लागि राष्ट्रपति कार्यालयले शपथको तयारी गरेको हो ।
ओलीले भने आफू नियुक्त हुनेबित्तिकै कांग्रेस र एमालेका भागमा परेका सबै मन्त्रीलााई सोमबार नै शपथ ग्रहण गराउनेगरी तयारी थालेका छन् ।
यी दुवै दलले मन्त्रालय र मन्त्रीको संख्या टुंग्याउन तीव्र छलफल गरिरहेका छन् । शनिबार दिउँसो देउवाले पार्टी कार्यसम्पादन समितिको बैठक नै राखेर मन्त्रीहरूको बारेमा छलफल गरेका थिए ।
ओली यससँगै चौथो पटक मुलुकको प्रधानमन्त्री बन्न लागेका हुन् । उनी यसअघि ओली पहिलोपटक २०७२ साल असोज २५ गते मुलुकको प्रधानमन्त्री बनेका थिए । त्यसपछि ओली २०७४ फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि उनी २०७८ सालमा तेस्रो पटक मुलुकको प्रधानमन्त्री बनेका थिए ।
यही असार १७ गते मध्यरातमा प्रमुख राजनीतिक दल कांग्रेससँग सत्ता साझेदारीको सहमति भएपछि ओलीले नेकपा माओवादी केन्द्रसँगको गठबन्धन तोडेका थिए । कांग्रेससँग आलोपालो सरकार चलाउने सहमति भए अनुसार सुरुमा ओली प्रधानमन्त्री बन्न लागेका हुन् ।
ओलीको करिब दुई वर्षको कार्यकालपछि कांग्रेसका सभापति देउवा मुलुकको प्रधानमन्त्री बन्नेछन् ।