काठमाडौं : प्रतिनिधिसभा बैठक सुरू भएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिने कार्यसूची छ। संसदमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धनसहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले १८ महिनाको अवधिमा आज पाँचौ पटक विश्वासको मत लिन लाग्नु भएको हो ।
पछिल्लो पटक उहँलाई समर्थन गरेको दल एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा ९२० अनुसार विश्वासको मत लिन लाग्नु भएको हो ।
संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ। सोही प्रावधानअनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लाग्नु भएको हो ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सीट आवश्यक पर्छ। अहिले सबैभन्दा ठूलो दल नेपाली कांग्रेस ८८ र दोस्रो ठूलो दल नेकपा एमाले सँग ७९ जना सांसद छन्। यी दुवैलाई जोड्दा पनि बहुमत पुग्ने अर्थात् १६७ सीट पुग्ने अवस्था छ। एमाले सांसदमध्ये सभामुख देवराज घिमिरेले बराबर मत नभएमा मतदान गर्न पाउने छैनन् भने सांसद टोपबहादुर रायमाझी निलम्बित छन्।
प्रचण्डसँग नेकपा माओवादी केन्द्रको (३२),रास्वपा (२१) र एकीकृत समाजवादी (१०) गरी जम्मा ६३ मत मत मात्रै छ। प्रमुख दुई ठूला दल कांग्रेस र एमालेमात्रै नभइ सरकारमा रहेका साना दलले पनि प्रचण्डको विपक्षमा मत हाल्ने निर्णय गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा),जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन्।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएमा आजै नयाँ सरकार गठनको प्रक्रिया सुरू हुनेछ।