कास्की । अविरल वर्षापछि पहिरो जाँदा पोखरामा एकै परिवारका सातसहित ११ जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका- १९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले पुरिँदा एकै परिवारका सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
पहिरोमा पुरिँएर कुलबहादुरसहित उहाँकी आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र छोरी राधिका परियारको निधन भएको हो ।
पहिरो गएराति १०ः३० बजेको समयमा परिवारका सबै सदस्य जम्मा भएको बसेको समय खसेको बताइन्छ । घटनामा दुई जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र नौ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । ११ वर्षीया अनुस्का ओझा बेपत्ता छन् । यसैगरी पहिरोमा परी बेपत्ता भएकी मादी गाउँपालिका- ११ मा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङको शब फेला परेको छ ।
यसैगरी पहिरोले घर पुरिँदा तुलप्रसाद र उहाँकी श्रीमती बालकुमारी न्यौपानेको आज बिहान मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
पहिरोमा परेका ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक शर्माले पहिरोमा परेर मृत्यु भएका सबैको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको जानकारी दिनुभयो ।
पहिरोमा बेपत्ताको खोजी भइरहेको बताइन्छ ।