स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी श्रीमती भ्रष्टाचार मुद्दाको प्रारम्भिक अनुसन्धानका क्रममा शुक्रबार न्यायाधीशसमक्ष बयान दिन म्याड्रिडको अदालतमा पुग्नुभएको छ ।
निजी क्षेत्रमा भ्रष्टाचार र तस्करीको अपराधको आरोपमा बेगोना गोमेजलाई गत महिना म्याड्रिडको अदालतले जुलाई ५ मा ‘अनुसन्धान पक्ष’को रूपमा सोधपुछका लागि बोलाएको थियो ।
उहाँ बिहान १०ः३० बजे म्याड्रिडको अदालतमा आइपुग्नुभएको हो । अदालतमा प्रारम्भिक अनुसान्धान चलाइरहेका न्यायधीश जुआन कार्लोस पेनाडोसमक्ष बन्द इजलासमा उहाँले बयान दिनुहुने एएफपी संवाददाताले जानकारी गराए ।
भ्रष्टाचार विरोधी एनजिओ मनोस लिम्पियास (क्लिन ह्यान्ड्स) ले गोमेजविरुद्ध उजुरी दर्ता गरेपछि अप्रिल १६ बाट मुद्दाको प्रारम्भिक अनुसन्धान सुरु गरिएको हो ।
दक्षिणपन्थी विपक्षीले सान्चेज र उहाँको वामपन्थी सरकार भ्रष्ट भएको दाबी गरेको प्रमाणको रूपमा यस मामिलामा आक्रमण गरेको हो । तर उहाँले आफ्नो सरकारलाई अपदस्थ गर्ने उद्देश्यले यो आरोप लगाएको भन्दै यस अभियानको निन्दा गर्नुभएको छ ।
अप्रिल महिनाको अन्त्यमा अनुसन्धानको खबर आएपछि सान्चेजले दक्षिणपन्थीद्वारा राजनीतिक उत्पीडनको अभियानको रूपमा यो आरोप लगाएको भन्दै राजीनामा दिने विचार गरिरहेको बताउनुभएको थियो ।
म्याड्रिडका अभियोजकहरूले प्रमाणको अभावमा मुद्दा खारेज गर्न अनुरोध गरेका थिए तर अदालतले उक्त अपिल मान्य नभएको भन्दै अनुसन्धान न्यायाधीशले जुलाईका लागि समाह्वान जारी गर्नुभएको थियो ।
कानुनी कागजातले गोमेज र सल्लाहकार कार्लोस ब्यारेब्स बीचको व्यावसायिक सम्बन्धमा अनुसन्धान केन्द्रित रहेको देखाउँछ ।
मे महिनाको अन्त्यमा प्रकाशित गरिएका कागजातहरूमा अदालतले गोमेजले सन् २०२० मा धेरै सार्वजनिक अनुबन्धका लागि संयुक्त उद्यम बोलीमा प्रदान गरेको समर्थनको खोजी गरिरहेको बताएको थियो ।
यस हप्ताको सुरुमा अनुसन्धान न्यायाधीशले गोमेजलाई ‘उहाँको श्रीमान प्रधानमन्त्री बनेदेखिको गोमेजको सबै कार्य, आचरण र व्यवहारको अनुसन्धान भइरहेको बताउनुभएको थियो । (रासस/एएफपी)