काठमाडौँ । नेपालको नयाँ प्रधानमन्त्री अब नेकपा एमालेका अध्यक्ष अब पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बन्ने पक्का भएको छ ।
सोमबार मध्यरातसम्मा सत्ता सहकार्यका लागि नेकपा एमाले र नेपाली कांग्रेसकाबीच चलेको छलफलले ओलीलाई प्रधानमन्त्री बनाएर सरकारमा जाने सहमति गरेको हो ।
उक्त छलफलमा एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय भाग लगाएर नयाँ सत्ता सहकार्य गर्ने गरी सहमतिमा हस्ताक्षर भएको छ ।
कांग्रेस सभापति देउवा र एमालेका अध्यक्ष ओलीबिच भएको सहमतिमा कुन दलले कति मन्त्रालयले लिने, कुन प्रदेशमा कसले सरकारको नेतृत्वगर्ने र कति समय सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने महत्त्वपूर्ण विषयमा सहमति भएको हो ।
शीर्ष नेताको सहमतिमा सुरुको ढेड वर्ष एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्नेछ । राष्ट्रिय सहमतिका आधारमा ओली नेतृत्वमा सरकार बन्ने सहमतिको मस्यौदा गरेका एक नेताले जानकारी दिए ।
सुरुमा बन्ने ओली नेतृत्वको सरकारमा एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको नेतृत्व गर्नेछ भने कांग्रेसले गृहमन्त्रीसहित १० वटा मन्त्रालय लिनेछ ।
सहमति अनुसार अब प्रदेश अन्तर्गत एमालेले कोसी, लुम्बिनी र कर्णालीमा सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व लिनेछ ।
मधेशमा भने मधेशवादी दललाई नेतृत्व दिने सहमति भएको छ। सत्ता सहकार्यसँगै एमाले र कांग्रेसले संविधान संशोधनको सहमतिसमेत गरेका छन् । संविधान संशोधन सुझाव समिति बनाएर अगाडि बढ्ने सहमति गरेका हुन् । सहमतिको औपचारिक पत्र भने नेताहरुले सार्वजनिक गरेका छैनन् । सहमतिको मस्यौदामा सहभागी नेताका अनुसार मंगलबार सहमतिको औपचारिक पत्र सार्वजनिक हुनेछ ।
ललितपुरस्थित होटल भिभान्तामा दुवै दलका दोस्रो तहका नेताहरूले तयार पारेको सहमतिको मस्यौदालाई अन्तिम रुप दिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्माले सोमबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् ।
दुई शीर्ष नेताले हस्ताक्षर गरेको सहमति पत्रसहित सबै विवरण आज मंगलबार सार्वजनिक हुँदैछ ।
दुई दलबीच एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने कुरामा सहमति भइसकेको उनले बताए । अब राष्ट्रतिसँग आवश्यक परामर्श सकेर नयाँ सरकार गठनको टुंगो लाग्ने उनको बुझाइ छ ।
यी दुई दलले संविधानको धारा ७६ को उपधारा दुईअनुसार सरकार गठन गर्ने गरी रणनीति बनाएका छन् ।
मंगलबार बिहानै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई नयाँ सरकार गठनबारे जानकारी गराउने भएका छन् ।