पर्वत: कच्ची सडकको सुविधा पुगेको डेढ दशकपछि पर्वतको जलजला गाउँपालिकाको मल्लाज क्षेत्रमा सडक कालोपत्र गर्न थालिएको छ । लामो समयदेखि कच्ची सडकमा आवागमन गर्दा कारण सास्ती व्यहोर्न बाध्य जलजला–२, ३ र ४ का स्थानीय सडक कालोपत्र भएपछि हर्षित बनेका छन् ।
एकीकृत बस्तीको अवधारणा अनुसार ग्रामीण सडक कालोपत्र गरिएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले जनाएको छ । एकीकृत बस्ती विकास कार्यक्रममार्फत जलजलाको मल्लाज क्षेत्रमा पर्ने वडा नं २, ३ र ४ का बस्तीलाई समेटेर चार दशमलव आठ किलोमिटर सडक कालोपत्र गरिएको कार्यालयका सबइञ्जिनियर अमृत क्षेत्रीले बताउनुभयो ।
“पहिलो चरणमा मल्लाजको खाल्टीबाट समिको रुखसम्मको एक हजार चार सय मिटरमा ‘प्राइमकोर्ट’ विछ्याएर प्रिमिक्स कारपेटिङ प्रविधिको कालोपत्र गरिएको छ । दोस्रो चरणमा बाँकी भाग कालोपत्र गरिने छ”, सबइञ्जिनियर अमृत क्षेत्रीले भन्नुभयो । कच्ची सडकलाई फराकिलो पार्ने, नाली, कल्भर्ट, पर्खाल निर्माण, सब बेस र बेस विछ्याउने काम सकेर प्राइमकोट (बिटुमिन) विछ्याएर कालोपत्रको काम तीव्र गतिमा भइरहेको उहाँले जानकारी दिनुभयो ।
सबइञ्जिनियर अमृत क्षेत्रीका अनुसार साढे पाँच मिटरदेखि छ मिटरको चौडाइमा प्रिमिक्स कारपेटिङ प्रविधिको कालोपत्र गरिएको छ । मौसमले अनुकुल भएमा यसै साताभित्र कालोपत्र गरिसक्ने योजनाका साथ मजदुर र उपकरण परिचालन गरिएको निर्माण कम्पनी गणेशकुण्ड आइएस निर्माण सेवा जेभीका प्रतिनिधि रामेश्वर ढकालले जानकारी दिनुभयो । “एक हजार चार सय मिटरमा प्राइमकोर्ट विछ्याउने काम गरेका छौँ”, उहाँले भन्नुभयो, “मौसमले साथ दिए एक हप्ताभित्रमा कालोपत्रको काम सक्छौँ ।”
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले विसं २०७९ असार १९ गते दुई वर्षभित्रमा योजना सम्पन्न गर्न रु ११ करोड १२ लाख ३१ हजार सात सय ४६ मा ठेक्का सम्झौता गरेको थियो ।
सडक कालोपत्र भएपछि जलजला–२, ३ र ४ नम्बर वडाका स्थानीयलाई आवतजावतमा सहज हुने वडा नं ४ का वडाध्यक्ष भरतबहादुर क्षेत्रीले बताउनुभयो । सडक स्तरोन्नतिका क्रममा आइपर्ने समस्यालाई जनप्रतिनिधिले सहजीकरण गरेकाले समयमै योजना सम्पन्न हुने चरणमा रहेको उहाँको भनाइ छ ।
घना बस्ती रहेको मल्लाजको माझफाँटका तीनवटा वडालाई कालोपत्र सडकले जोडिएसँगै यहाँको विकास र समृद्धिको ढोका खुल्ने अपेक्षा गरिएको वडाध्यक्ष क्षेत्रीले बताउनुभयो । सडक कालोपत्र भएसँगै माझफाँटमा एकीकृत बस्ती विकासका लागि आवश्यक पर्ने अन्य पूर्वाधार निर्माण गर्न सम्बन्धित निकायमा योजना माग गरिने गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।