रामेछाप: रामेछापको उमाकुण्ड गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि ५३ करोड ३१ लाख बजेट सार्वजनिक गरेको छ ।
आइतबार गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारको अध्यक्षतामा बसेको १६ औं गाउँसभाको बैठकमा उपाध्यक्ष सावित्री सुनुवारले आर्थिक वर्ष २०८१/०८२ को लागि ५३ करोड ३१ लाख २५ हजार नौ सय रुपैयाँको बजेट सार्वजनिक गर्नुभयो ।
गाउँपालिकाले चालु खर्च कार्यालय सञ्चालन तथा व्यवस्थापन तर्फ ८ करोड ६३ लाख ९२ हजार छ सय ११ रुपैयाँ विनियोजन गरेको छ ।
बजेट तथा नीति कार्यक्रममा गाउँपालिकाले पूर्वाधार विकासलाई जोड दिएर ४ करोड ४० लाख विनियोजन गरेको छ ।
त्यसैगरी, शैक्षिक गुणस्तर सुधारका लागि शिक्षामा ३ करोड ३० लाख, स्वास्थ्यमा ३ करोड ७५ लाख, कृषि तथा पशु व्यवसायमा १ करोड ७० लाख, बजेट विनियोजन गरेको छ ।
त्यस्तै, युवा लाक्षित खेलकुद कार्यक्रम तर्फ ७० लाख, सामाजिक समावेशिकरण तर्फ ६३ लाख वन बातावरण तथा विपद् व्यवस्थापनमा ५० लाख, खानेपानी सरसफाईमा ४९ लाख , सिंचाईमा ३५ लाख, पर्यटन प्रवद्धनका लागि ३३ लाख, उद्योग व्यवसायमा १२ लाख , न्याय तथा सुशासन प्रवद्धनका लागि ३० लाख, इलाका प्रशासन कार्यालय व्यवस्थापन लागि २० लाख ६ हजार २ सय अठासी विनियोजन गरेको हो ।
साथै, समपुरक योजनाका लागि ३ करोड ,विशेष अनुदान ८० लाख विनियोजन गरेको छ भने शसर्त अनुदानमा संघ र प्रदेशबाट प्राप्त योजनाको कार्यक्रम अनुसारको विनियोजन रकम २० करोड ९५ लाख २७ हजार छ ।
त्यस्तै प्रधानमन्त्री रोजगारका लागि ५४ लाख २२ हजार समेत समावेश गरिएको छ ।
यसका साथै पालिकाले सार्वजनिक गरेको उक्त बजेटले कृषि लगानी प्रवर्द्धन तथा पशुपालन व्यवसायमा आत्मनिर्भरता , गरिबी न्यूनीकरण गर्नका लागि गरिबी न्यूनीकरण लक्षित कार्यक्रम, गुणस्तरिय भौतिक पूर्वाधार निर्माण , स्वोरोजगार उन्मुख कार्यक्रम संचालनलाई प्रमुख प्राथमिकतामा राखेको छ ।