काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर आज स्वदेश फर्कँदै हुनुहुन्छ। उहाँ जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज नेपाल फर्कने कार्यक्रम रहेको छ ।
मंगलबार राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदुत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाई गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
यसअघि सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो ।
सो अवसरमा दुईदेश बीचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ । दुईपक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।
सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ ।
जर्मनीमा रहँदा राष्ट्रपति पौडेलले आइतबार जर्मनीका विज्ञान प्रविधि तथा अनुसन्धानसँग सम्बन्धित विभिन्न संस्थाहरूको अवलोकन गर्नुभएको थियो।
अवलोकनका क्रममा वैज्ञानिकहरूले जलवायु परिवर्तनका असरहरूबारे जानकारी गराएपछि राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरबारे अनुसन्धानका साथै यो असर घटाउन विकसित मुलुकले तत्काल गर्नुपर्ने समाधानका उपायबारे सुझाव दिन आग्रह गर्नुभएको थियो।
यसअघि स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उदघाट्न सत्रलाई जेठ ३१ गते राष्ट्रपति पौडेलले मूख्य वक्ताका रुपमा सम्बोधन गर्नुभएको थियो।
यसैगरी राष्ट्रपति पौडेल र अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक गिलबर्ट एफ हुंग्बोबीच पनि जेनेभामा शिष्टाचार भेट भएको थियो । नेपालका राष्ट्रपति र स्वीट्जरल्याण्डका राष्ट्रपतिबीच २५ वर्षपछि पहिलो पटक भएको भेटले दुवै देशको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।
राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते साँझ त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ।