काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन् नहुने बताएको छ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि रास्वपा सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिसोध साँधेर पक्राउ गरेको आरोप लगाएपछि महामन्त्री मुकुल ढकालले जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत भएको उल्लेख गरेका छन् ।
महामन्त्री डा। ढकालद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन, यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ, न्यायको विधि पुगोस्, सञ्चारमाध्यमहरू लोभ, त्रास र सौदाबाजीका अस्त्र बने भने राज्य जाग्नपर्छ भन्ने सन्देश जनतामा जाओस्, अन्ततः लोकतान्त्रिक कानुनी राज्यको जीत होस् ।’
रास्वपाले विगतमा लोकतन्त्र स्थापनाका लागि लडेकाहरूप्रति पार्टीको उच्च सम्मान रहेको बताएको छ। तर एक समयको योगदानको बहानामा केही व्यक्ति, दल र संस्था भ्रष्टाचार र गैर कानुनी मिलीभगतमा निरन्तर संलग्न भएको पाइएमा पनि कानुनी उन्मुक्ति हुने अनैतिक अपेक्षा अस्वीकार्य रहेको बताएको छ।
पक्राउ परेलगत्तै मंगलबार सिरोहियाले आफूलाई कान्तिपुरमा प्रकाशित समाचारको प्रतिशोध साँध्न गृहमन्त्री रवि लामिछानेले यो घटना घटाएको आरोप लगाएका थिए।