काठमाडौँ । महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश गरेको छ । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंक ज्येष्ठ ७ गतेदेखि ३० औँ वर्षमा प्रवेश गरेको हो ।
बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा वित्तीय साक्षरता र्याली तथा आफ्ना ८ वटा शाखाहरू मार्फत रक्तदान कार्यक्रम गरेको थियो ।
यस्तै बैंकले सो अवसरमा मंगलबार केन्द्रिय कार्यालय दरबारमार्गमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ भने बुधबार सोही ठाउँमा आँखा शिविर सञ्चालन गर्ने छ ।
बैंकले वार्षिकोत्सवको अवसरमा ज्येष्ठ ६ गते, आइतबार आठ शाखा कार्यालयहरू मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरी कुल २९५ पिन्ट रगत संकलन गरेको थियो ।
स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
त्यस्तै, केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरू तथा शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा ज्येष्ठ ५ गते, शनिबार बिहान ७ः३० देखि ८ः३० बजेसम्म वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम गरिएको बैंकको भनाइ छ ।
बैंकका अनुसार उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ सेवाहरू जस्तै मोबाइल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरूको प्रयोग गरिएको थियो ।
बैंकले जेष्ठ ७ गते, सोमबार केन्द्रिय, प्रादेशिक तथा शाखा कार्यालयहरू मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरूलाई स्थानीय भेषभुषामा बैंकमा उपस्थित गराएर सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको थियो ।
यस्तै बैंकले सो अवसरमा आँउदो ज्येष्ठ २२ गतेदेखि महालक्ष्मी कर्पोरेट क्रिकेटको तेस्रो शृङ्खला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग- २०२४) आयोजना गर्ने जनाएको छ । यो लिग १६ टिमको सहभागितामा ज्येष्ठ २२ देखि २४ गतेसम्म सञ्चालन हुने छ ।
बैंकले महालक्ष्मी कर्पोरेट क्रिकेट लिग विगत २ वर्षदेखि सञ्चालन गर्दै आएको छ ।
'सबल बैंक, सफल सहकार्य' को नाराका साथ विगत ३० वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरूबाट ७ लाखभन्दा बढी ग्राहलाई सेवा दिइरहेको छ ।