काठमाडौँ । विहादी गाउँपालिका सेवा समाज काठमाडौँले शनिबार काठमाडौँमा चियापान कार्यक्रम गरेको छ ।
अध्ययन, व्यावसाय तथा रोजगारीको शिलशिलामा काठमाडौँमा बस्ने पर्वत जिल्लाको विहादी गाउँपालिकाका मानिसहरूको सामूहिक सामाजिक संस्थाले आज चियापान तथा नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।
काठमाडौँको कलंकीस्थित जनपथ माविमा भएको उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष टीकाराम शर्माले गर्नुभएको थियो भने प्रमुख अतिथ्यता समाजसेवी तथा सफल व्यावसायी पर्वतका आशालाग्दा युवा नेता सुन्दर भुसालले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष तिलकबहादुर कुँवर, मोतिबहादुर कुँवर, गोविन्द र भुसाल विशेष अतिथीको रूपमा उपस्थित हुनुभएको थियो ।
उक्त कार्यक्रममा संस्थाका सहअध्यक्ष जितबहादुर लामिछाने, वरिष्ठ उपाध्यक्ष रोशन तिवारी, उपाध्यक्ष प्रबिन भुसाल, पुनम खड्का र यमकला शर्माले आफ्नो भनाई राख्दै शुभकामना आदानप्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुन्दर भुसालले विहादी गाउँपालिका सेवा समाज सबैको साँझा चौतारी भएको बताउनुभयो । 'विहादी गाउँपालिका सेवा समाज सबैको साँझा चौतारी हो,' उहाँले भन्नुभयो, 'विहादी दु:ख-सुख साटासाट गर्ने हाम्रो घर हो ।'
व्यापार र समाज सेवाका क्रममा विश्वका ६६ मुलुकको भ्रमण गरिसक्नुभएका भुसालले आफूले अनुभव र सफलता त्यही विहादीबाट प्राप्त गरेको बताउनुभयो । यसका साथै उहाँले समाजलाई आफूले धेरैं योगदान दिने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।
सामाजिक कार्यमा सक्रिय उहाँले राजनीतिलाई समाजसेवाबाट टाढा राख्नुपर्नेमा समेत जोड दिनुभएको छ ।
कार्यक्रममा नेपाल सरकारका पूर्वसहसचिव तथा जलस्रोत विज्ञ मोतिबहादुर कुँवरले विहादीको पुरानो इतिहास कालीगण्डकीको सभ्यता रहेको बताउँदै यसको विशेष महत्त्व रहेको जनाउनुभयो ।
यस्तै, संस्थाका पूर्वअध्यक्ष तिलकबहादुर कुँवरले विहादी समाजलाई सर्वप्रिय र उपयोगी संस्थाको रुपमा लैजानुपर्नेमा जोड दिनुभयो ।
संस्थाका सल्लाहकार गोविन्द भुसालले समाज निर्माणमा सबैको महत्त्वपूर्ण भूमिका रहने भएकाले समाजका सम्पूर्ण सदस्यहरूको क्रियाशीलता नै समाज निर्माणको मेरुदण्ड भएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका सहअध्यक्ष जितबहादुर लामिछानेले यो विशुद्ध सामाजिक कार्य गर्ने संस्था भएकाले समाजको मर्म बुझेर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
संस्थाका सल्लाहकार यामबहादुर बस्यालले समाज विकास क्रमिक रुपमा भएको बताउँदै यसलाई आत्मसाथ गर्दै हामीले हाम्रो समाजको विकासमा लाग्नुपर्ने बताउनुभयो ।
विहादी घर भई काठमाडौँमा बस्नेहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव वेदप्रसाद भुसालले गर्नुभएको थियो भने समापन संस्थाका अध्यक्ष टीकाराम शर्माले गर्नुभएको थियो ।