काठमाडौं । नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने भएको छ ।
सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध सहकारी ठगी प्रकरणमा छानबिन गर्न तयार नभएको भन्दै कांग्रेसले अवरोध जारी राख्ने बताएको हो ।
बिहीबार बसेको कांग्रेस शीर्ष नेताको बैठकपछि प्रवक्ता डा। प्रकाशशरण महतले सरकारले सहकारी ठगीको मूल समस्या छाडेर घटनालाई अन्यत्र मोड्ने हिसाबले मात्र समिति गठन गर्न खोजेको आरोप लगाए । उनले जो व्यक्तिमाथि छानबिन मागेको हो उसलाई जोगाउने गरी हुने छानबिनको अर्थ नहुने र कांग्रेसलाई स्वीकार्य पनि नहुने बताए ।
त्थस्तै कांग्रेस सहमहामन्त्री जीवन परियारले सत्ता पक्षसँग छलफल गरेपनि संसदीय छानबिन समिति गठनको विषयमा सहमति नभएको महतले बताए । ‘उहाँहरूले फासपुसे समिति बनाउन खोज्नु भयो । हामीले त्यो मानेनौँ,’ उनले भने, गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठनमा सहमति नभए संसद् चल्न नदिने हामीले निष्कर्ष निकालेका हौँ ।’
प्रतिनिधिसभा बैठकअघि बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा कांग्रेसका शीर्ष नेताबीच छलफल भएको थियो ।
छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, सहमहामन्त्री जीवन परियार, प्रवक्ता प्रकाशशरण महत, संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलगायत सहभागी थिए ।