काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टी-स्टेटको जग्गा बिक्री गर्ने निर्णय एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेलामा गरेको आरोप लगाएका छन् ।
आज बिहिबार प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफुले बेचेको जग्गा कांग्रेसले बेच्यो भनेर आरोप लगाएको भन्दै ओली जस्तो नेताले यस्तो कुरा बोल्न नसुहाउने टिप्पणी गरेका हुन् ।
ओलीले बुधबार एमालेको संसदीय दलको बैठकमा गिरीबन्धु टी-स्टेटको जग्गा कांग्रेसले ७० बिघा बेचेको आरोप लगाएपछि कांग्रेस सभापति देउवाको यस्तो टिप्पणी आएको हो ।
बिहीबार देउवाले त्यसैको जवाफ दिँदै कांग्रेसले सरकारको नेतृत्व गरेको बेला यसबारे कुनै निर्णय नभएको दाबी गरेका छन् ।
अदालतले फैसला गरेपछि गिरीबन्धु टी–इस्टेटको निर्णय कांग्रेसको पालामा भएको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएको विषय बाहिर आएको उनले उल्लेख गरे । उनले आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति र? भनी प्रश्न समेत गरे । उनले गलत कुरा केपी ओली सरहको नेताले भन्न नसुहाउने पनि टिप्पणी गरे ।
‘अहिले यो नेपालको राजनीतिमा ओलीजीले बोलेको भनेर बाहिर आएको छ । अदालतले फैसला गरेपछि गिरीबन्धु टिस्टेटको निर्णय कांग्रेसको पालामा भएको भनेर । आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ । कहिले, कसको पालामा भयो, के भयो भनिदिए भइहाल्यो नि ! त्यसकारण यस्तो कुरा उहाँ जस्तो नेताले भन्न सुहाउँदैन, आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति छ । अदालतले उहाँलाई भनेको छ, उहाँ के भन्नुहुन्छ भने काँग्रेसको पालामा भएको छ । काँग्रेसको पालामा गिरिजाबाबु र म हो हाम्रो पालामा भएकै छैन । यस्तो कुरा उहाँले बोल्नुभयो, उहाँ जस्तो नेताले यस्तो बोल्नु हुँदैन थियो ।’