काठमाडौं । भारतमा संसद्को तल्लो सदन लोकसभाको निर्वाचनअन्तर्गत आज चौथो चरणको मतदान हुँदै छ ।
स्थानीय समयअनुसार बिहान सात बजे सुरु भएको मतदान साँझ ६ बजेसम्म जारी रहने छ । आज कुल १० राज्य र केन्द्र शासित प्रदेशका ९६ सिटमा मतदान भइरहेको भारतीय निर्वाचन आयोगले जनाएको छ ।
आज आन्ध्र प्रदेशका सबै २५ सिट, बिहारका ५, जम्मू कश्मीरका १, झारखण्डका ४, मध्य प्रदेशका ८, महाराष्ट्रका ११, ओडिशाका ४, तेलंगानाका १७, उत्तर प्रदेशका १३, र पश्चिम बंगालका ८ निर्वाचन क्षेत्रमा मतदान हुँदै छ । त्यस्तै आन्ध्र प्रदेशमा प्रदेशसभाका १७५ सदस्य चयनका लागि पनि आजै मतदान हुँदै छ ।
आज हुने मतदानमा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, पूर्व क्रिकेटर युसुफ पठान, अभिनेता तथा नेता शत्रुघ्न सिन्हासहित कुल १७१७ उम्मेदवार मैदानमा रहेका छन् ।
यस चरणमा, कुल १७.७० करोड मतदाताहरूले १९ लाख भन्दा बढी मतदान केन्द्रहरूमा मतदान गर्दैछन्, जसमध्ये ८.९७ करोड मतदाता पुरुष र ८.७३ करोड महिला मतदाता छन्।
चौथो चरणको निर्वाचनमा १७ करोड ७० लाख मतदाताले निर्वाचनमा सहभागिता जनाउने त्यहाँको निर्वाचन आयोगले जनाएको छ । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले मतदान गर्न जनतालाई अपिल गरेका छन् ।