काठमाडौँ । सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका ६२ वर्षीय रिचर्ड रिक स्लेम्यानको अमेरिकाको म्यासाचुसेट्स राज्यमा मृत्यु भएको छ ।सुँगुरको मिर्गौला प्रत्यारोपण गरेको करिब २ महिनापछि उनको मृत्यु भएको हो ।
रिचर्डलाई मार्चमा आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । यो मृगौलाले रिचर्डको शरीरमा कम्तिमा २ वर्षसम्म राम्रोसँग काम गर्न सक्ने चिकित्सकहरूले बताएका थिए ।
प्रत्यारोपण गरिएको अस्पतालले रिचर्डको मृत्युको कारण सुँगुरको मिर्गौला नभएको बताएको छ । प्रत्यारोपण टोलीले रिचर्डको मृत्युप्रति दुःख व्यक्त गरेको छ । सुँगुरको मृगौला आफ्नो शरीरमा प्रत्यारोपण गर्ने रिचर्ड पहिलो व्यक्ति थिए ।
यसअघि प्रयोगका रुपमा सुँगुरको मिर्गौला एकजना मस्तिष्क मृत्यु भैसकेको मानिसमा अस्थायी रुपमा प्रत्यारोपित गरिएको थियो । अन्य दुई व्यक्तिहरुमा सुँगुरको मुटु पनि प्रत्यारोपण गरिएको थियो । यद्यपि केही महिनापछि दुवै जनाको मृत्यु भयो ।
सुँगुरको मुटु पनि दुई जनामा प्रत्यारोपण गरिएको छ । तर, शल्यक्रिया गरेको केही महिनामै उनको मृत्यु भयो । रिचर्डको पहिलो मृगौला प्रत्यारोपण सन् २०१८ मा भएको थियो । तर, त्यो मृगौला पनि फेल भएर फेरि डायलासिस गर्नुपर्यो ।
रिचर्डको शल्यक्रिया भएको एक महिनापछि, अप्रिलमा, न्यू जर्सीकी लिसा पिसानो नामकी महिलाको पनि आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । यसबाहेक उनको मुटुको धड्कन जारी राख्नका लागि मेकानिकल पम्प पनि जडान गरिएको थियो ।
हाल अमेरिकामा करिब १ लाख १० हजार मानिस अंग प्रत्यारोपणको पर्खाइमा छन् । तीमध्ये धेरैजसो मृगौला प्रत्यारोपणको पर्खाइमा छ । अमेरिकामा हरेक वर्ष अंग प्रत्यारोपणको अभावमा ६ हजारभन्दा बढी बिरामीको मृत्यु हुने गरेको आँकडा रहेको छ ।