काठमाडौँ: जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खाँनले मुलुकमा सामाजिक–लोकतान्त्रिक अवधारणाको आर्थिक नीति आवश्यक रहेको बताएका छन् । पार्टीले यस वर्ष गणतन्त्र दिवसका अवसरमा आगामी जेठ १५ गते काठमाडौँमा बृहत्सभा गर्न लागेको उनले जानकारी दिए ।
प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापतिसमेत रहेका खाँनले पार्टी सुदृढीकरण गर्दै देशलाई नयाँ निकास दिने उद्देश्यले आयोजना हुने उक्त कार्यक्रममार्फत नौलो गणतन्त्र र सामाजिक लोकतन्त्रको आगामी मार्गको शङ्खघोष गरिने बताए ।
वरिष्ठ उपाध्यक्ष खाँनले संविधानमा आर्थिक नीतिमा समाजवाद लेखिएको उल्लेख गर्दै त्यो प्रावधानले सबै कलकारखानादेखि उद्योगधन्दा राज्यले नै सञ्चालन गर्ने, नियन्त्रण र स्वामित्व ग्रहण गर्ने भन्ने बुझाउने उल्लेख गरे ।
“समाजवाद धेरै व्यापक विषय हो । नेपालमा हालसम्म पुँजीवादको अवस्था आएको र पुँजीवादी क्रान्ति भएकै छैन । त्यो नभई समाजवाद कसरी सम्भव छ”, उनले भने । हाल अभ्यासमा रहेको समाजावादसम्बन्धी आर्थिक नीति परिवर्तन गरी सामाजिक–लोकतान्त्रिक अवधारणा ल्याउन आवश्यक रहेको वरिष्ठ उपाध्यक्ष खाँनले बताए ।
अमेरिका र युरोपका केही मुलुकले आत्मसात् गरेको समाजवाद र पुँजीवाद मिश्रित अर्थव्यवस्था नेपालका लागि उपयुक्त हुनसक्ने उल्लेख गर्दै उनले देशको आर्थिक विकास र समृद्धि हासिल गर्न त्यो बाटोबाट जान सकिने तर्क गरे । वरिष्ठ उपाध्यक्ष खाँनले सामाजिक लोकतान्त्रिक अर्थ नीति आत्मसात् गरिएको खण्डमा वैदेशिक लगानी बढ्ने दाबी गरे ।
मुलुकमा प्रमुख चुनौतीका रुपमा रहेको राजनीतिक अस्थिरताको अन्त्य गर्न प्रधानमन्त्रीसहित देशका सबै महत्वपूर्ण पदमा रहने व्यक्तिको चयन प्रत्यक्ष निर्वाचनबाट हुनुपर्ने आवश्यकतामा उनले जोड दिए ।
आर्थिक समृद्धि हासिल नहुँदा संसद् सञ्चालनदेखि शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा अवरोध झेल्न परिरहेको जिकिर गर्दै वरिष्ठ उपाध्यक्ष खाँनले आफ्नो पार्टीले सार्वजनिक गर्ने नीति र सिद्धान्तलाई स्थानीय तहसम्म बहस र छलफलका लागि लैजाने जानकारी दिए ।