काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेता स्वर्गिय निर्मल लामा एक असल राजनीतिज्ञ भएको बताएका छन् ।
बिहीबार बिहान माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा निर्मला लामाको २४ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्मला असल राजनीतिज्ञ भएको बताएका हुन् ।
कम्युनिस्ट आन्दोलनको विकास र रणनीति एवं कार्यदिशामा नेता लामा आदर्श नेता रहेको प्रचण्डको भनाइ छ ।
नेता लामालाई सम्झँदै प्रधानमन्त्रीले भन्नुभयो, “निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्व हो । मुख्यतः २०३३/०३४ सालतिर नेपालमा जनवादी क्रान्तिको बहसका सन्दर्भमा उहाँले प्रस्तुत गर्नुभएको विचार महत्वपूर्ण छन् । कम्युनिस्ट आन्दोलनको विकास र रणनीति एवं कार्यदिशामा उहाँ आदर्श नेता हुनुहुन्थ्यो ।”
प्रधानमन्त्रीले निर्मल लामाको जीवनबाट नेपालका कम्युनिस्ट नेताहरूले प्रेरणा लिएकोसमेत बताए ।
उनले भने, ‘उहाँ पारदर्शी नेता हुनुहुन्थ्यो, खुला हुनुहुन्थ्यो, आफ्नो निष्ठामा दृढ र गरिखाने वर्गप्रति प्रतिवद्ध हुनुहुन्थ्यो। राम्रो विचार र स्पष्टवक्ता नेता हुनुहुन्थ्यो। समग्रमा उहाँ एक असल राजनीतिज्ञ हुनुहुन्थ्यो ।’
कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले समेत सम्बोधन गरेका थिए ।