काठमाडौं: नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबिच अस्थिरताबाट मुलुक जोगाउन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सहमति, सहकार्य र संवाद आवश्यक रहने बताएका छन्।
नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक लेखकले अहिलेको सरकार समीकरणमा नेकपा (एमाले) भित्र पनि असन्तुष्टि रहेको उल्लेख गर्दै सत्ता समीकरणबारे आफैँमा विरोधाभास र आशङ्का रहेको धारणा राखेकाछन् ।
“नेपाली कांग्रेस र एमालेभित्र ठूला दल मिलेर सरकार बनाउनुपर्छ भन्ने मत बलियो छ,” उनले भने, “जनता पनि ठूला दल मिलेर मुलुकलाई सही दिशामा लैजानुपर्छ भन्नेमा छन् ।” कांग्रेस र एमालेबीचको सत्तासहकार्य गर्ने विषयमा ठोस छलफल नभएको प्रमुख सचेतक लेखकको भनाइ थियो ।
सरकार सञ्चालनका निम्ति नभए पनि मुलुकलाई अस्थिरतातर्फ जान नदिन, संविधानको रक्षा गर्न र लोकतन्त्रको सुदृढीकरणका लागि ठूला दलहरूबीच सहकार्य र छलफल आवश्यक रहेको प्रमुख सचेतक लेखक बताउछन्।
लेखकले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि छानबिन हुनुपर्छ भन्ने अडानमा पार्टी रहेको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पछिल्लो समय सहकारीका विषयमा समग्र छानबिनको कुरा ल्याएको प्रसंग उल्लेख गर्दै लेखकले गृहमन्त्री लामिछानेको संलग्नतामाथि पनि छानबिन हुनुपर्ने बताए।
“सहकारीको रकम अपचलन भएको लगायतको विषय छानबिन गर्ने निकायको जिम्मेवारीमा रहेका पनि आरोपित छन्,” उनले भने, “हामीले राजीनामा होइन, छानबिनको माग गरेका हौँ ।”
यही वैशाख २८ गते संसद् बैठक बस्नुअघि उक्त विषय सम्बोधन हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।