काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । गण्डकी प्रदेशको आज अपराहन्न ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
शनिबार बसेको सत्ता गठबन्धन एमाले–माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।
मुख्यमन्त्री अधिकारी विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार लगायतका अन्य काम गर्ने तयारीमा छन् । अधिकारीले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिनेछन् ।
एमाले, माओवादी केन्द्र र राजीव गुरुङ (दीपक मनाङे) को समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लागेका हुन् ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीसहित ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट रहेको छ।
बहुमतको लागि उनलाई ३१ मत आवश्यक पर्दछ । एमालेका सभामुख बाहेक २१ ,माओवादीका नेसपा बाहेक ७ र एकीकृत समाजवादीको एक गरि २९ मत मात्र पुग्दछ । त्यस्तै बाबुरामको नेसपाका एक सांसदले मत दिए पनि ३० मत मात्र हुने भएकाले विश्वासको मत पाउन सहज देखिएको छैन ।