काठमाडौँ । नेपाल र चीनबीच मानव संशाधन विकास र बोनम्यारो प्रत्यारोपण सम्बन्धी दुई सम्झौतामा हस्ताक्षर भएको छ ।
बिहीबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
उक्त सम्झौता अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा चीनका तर्फबाट चाइना इन्टरनेशनल डेभलेपमेण्ट को–अपरेशन एजेन्सीका प्रमुख लियु झाओ हुईले हस्ताक्षर गर्नुभयो ।
चाइना इन्टरनेशनल डेभलेपमेण्ट को–अपरेशन एजेन्सीले चीनको वैदेशिक सहायताको रणनीति मापदण्ड बनाउने, सो सम्बन्धी नीति र योजना बनाउने तथा वैदेशिक सहायतासम्बन्धी सुधारका एजेण्डामा काम गर्दै आएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको गत असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा श्ुरु गर्न सहयोग गर्ने प्रतिव्द्धता जनाए अनुरुप नै स्वास्थ्य मन्त्रालय र चाइना इन्टरनेशनल डेभलेपमेण्ट को–अपरेशन एजेन्सीबीच सम्झौता भएको छ । सम्झौताअनुसार चीनले बीपी कोईराला मेमोरियल क्यान्स अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्ने भएको छ । त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थमन्त्री वर्षमान पुनले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा थप सहयोग वृद्धि हुने अपेक्षा गरेको बताउनु भयो । उहाँले नेपाल र चीनबीच गहिरो, विविधतापूर्ण र निरन्तर दिगो सम्बन्ध रहेको चर्चा गर्दै आगामी दिनमाआपसी सहयोग र मित्रतालाइ थप सुदृढ बनाउने बताउनु भयो । उहाँले चीनका राष्ट्रपति सी जिन पिङले ५ वर्षअघि गरेको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई उचाईमा पुर्याएको बताउनु भयो ।
उहाँले उच्चस्तरीय भ्रममणमा भएका द्विपक्षीय सम्झौताहरु कार्यान्यवन हुन बाँकी भएको भन्दै कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताउनु भयो । उहाँले विश्वमै वैदेशिक लगानी गर्ने मुलुकमा चीन अग्रस्थानमा रहेको र नेपालमा पनि लगानी वृद्धि भइरहेको भन्दै आगामी दिनमा थप सहायता र लगानी बढाउन आग्रह गर्नुभयो । उहाँले नेपालले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्न लागेको भन्दै नेपालमा चिनियाँ लगानी आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले रिङरोड दास्रो खण्डको सडक आयोजनाका विषयमा कानून निर्माण लगायतका काम बाँकी भएकाले सम्झौता सम्भव नभएको भन्दै चाँडै सम्झौता गरिने बताउनु भयो ।
सम्झौतामा हस्ताक्षरपछि चाइना इन्टरनेशनल डेभलेपमेण्ट को–अपरेशन एजेन्सीका प्रमुख लियु झाओ हुईले नेपालसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौताका लागि र लगानी सम्मेलनमा सहभागिता जनाउनको लागि नेपाल आएको बताउनु भयो ।
उहाँले पछिल्लो समय नेपालको अर्थतन्त्रमा सुधार हुँदै गएको र गत वर्ष १० लाख पर्यटक भित्र्याउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले २०१९ को चीनका राष्ट्रपति राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण र गत वर्षको प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा भएका दुई पक्षीय सम्झौतालाई कार्यान्वयनमा लैजाने बताउनु भयो ।
उहाँले चीन सरकारले गर्ने साहयता र अनुदान लगायतका सहयोग आदानप्रदानलाई निरन्तरता दिँदै जानेमा विश्वास व्यक्त गर्नुभयो ।