काठमाडौं: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त नभएको बताएकी छिन् ।
बिहीबार ललितपुरको सानेपामा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा मनमोहन अधिकारीको २५औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजको स्वतन्त्रता मनमोहन अधिकारीजस्ता पहिलो पुस्ताका नेताहरूको उन्नत स्तरको चेतना, त्याग र अठोटबाट पाएको बताइन् ।
उनले मनमोहन अधिकारीको जीवन नयाँ पुस्ताका लागि पढ्नै पर्ने खुला किताब रहेको बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले मनमोहन अधिकारी नेतृत्वको सरकारले अघि सारेका आफ्नो गाउँ आफैँ बनाऔँ, ज्येष्ठ नागरिकका लागि वृद्धभत्ताजस्ता लोकप्रिय कार्यक्रममार्फत कम्युनिस्ट पार्टीले सरकार सञ्चालन गर्दा कसरी लोककल्याणकारी काम गर्दछ भन्ने दृष्टान्त प्रस्तुत गर्न सफल भएको बताइन् ।
उनले मनमोहन अधिकारी नेतृत्वको सरकारले २०५१ सालबाट सुरु गरेको वृद्धभत्ता दक्षिण एसियामै सामाजिक सुरक्षाको एउटा नमुना कार्यक्रमका रूपमा रहेको जिकिर गरिन् ।
उनले ज्येष्ठ नागरिकहरूको सम्मानमा थालनी गरिएको वृद्धभत्ता कार्यक्रमलाई थप सुदृढ गर्दै वर्तमान नेपालको संविधानले ज्येष्ठ नागरिकका अधिकारलाई मौलिक अधिकारका रूपमा संस्थागत गर्ने काम गरेको बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले वृद्ध भत्ता दिने कार्यक्रमले ज्येष्ठ नागरिकप्रति राज्य, समाज र परिवारको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र उनीहरूको आत्मसम्मान बढाउन सबै ठूलो योगदान गर्नुका साथै जीवनयापनमा पनि महत्त्वपूर्ण सहयोग पुर्याएको दाबी गरिन् ।
कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले शिक्षा क्षेत्रमा मनमोहन अधिकारीको विशेष रुचि भएकाले मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना भइसकेको र ज्येष्ठ नागरिकहरूलाई प्रतिष्ठानले सम्मान गर्दै आइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा डा।बेदुराम भुषाल र ढाकाराम सापकोटाले लेख्नुभएको मनमोहन अधिकारीको जीवन गाथालाई समेटिएको पुस्तक ‘मनमोहन अधिकारी’ को विमोचन पूर्वराष्ट्रपति भण्डारी र एमाले उपाध्यक्ष पोखरेलले गर्नुभएको थियो ।