काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको छ ।
नेपाल भ्रमणमा रहनुभएका कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच आज सोल्टी होटलमा द्विपक्षीय भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा नेपाल र कतारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय हित, आपसी चासो, सम्बन्ध बिस्तार एवं साझा हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार रुपक सापकोटाले जानकारी दिनुभयो ।
भेटवार्तापछि दुई देशबीच सञ्चार, खेलकूद, विज्ञान प्रविधि, कला र संस्कृति,अध्ययन शिक्षा, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी कूटनीतिक तालिम , यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन्।
हस्ताक्षर कार्यक्रम पछि अब प्रधानमन्त्री दाहालले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ। त्यसपछि कतारी टोली आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ।
कतारका अमिर अल थानी राष्ट्रपति रामचन्द्र पौडेलको आमन्त्रणमा दुई दिने राजकीय भ्रमणका लागि मङ्गलबार यहाँ आउनुभएको हो ।