काठमाडौँ: कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा दिउँसो ३: ३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । कतारका राजाले नेपाल भ्रमण गरेको यो पहिलो पटक हो ।
राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणमा थानी बंगलादेश भ्रमण सकेर उनी राजधानी ढाकाबाट विशेष विमानमार्फत् काठमाडौँ आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन्।
कतारी अमिरलाई विमानस्थलको अतिविशिष्ट कक्षमा २१ तोपको सलामी दिएर सम्मान गरिनेछ। आजै बेलुका राष्ट्रपति पौडेलसँग थानीको भेटवार्ता हुनेछ। त्यसपछि सोल्टी होटलमा राष्ट्रपति पौडेलले कतारी अमिरको सम्मानमा रात्रिभोज आयोजना गरेका छन्।
भोलि बिहान कतारी अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुनेछ।
कतार नेपालको महत्वपूर्ण श्रम गन्तव्य देश हो। प्रधानमन्त्री र अमिर थानीबीच भेटवार्तापछि द्विपक्षीय सहकार्यसम्बन्धी आपसी सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ।
प्रतिनिधिमण्डलस्तरीय बैठकपछि दुई देशबिच विभिन्न ५ क्षेत्रमा समझदारी हुने तयारी छ। उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान तथा युवा र खेलकुदका विषयमा सहकार्य प्राथमिकतामा छ।
नेपालले कतारी राजासँग हमास लडाकु समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रहसमेत गर्ने छ।
अल थानीलाई एक जोडी हात्ती उपहार दिने तयारी सरकारले गरेको छ। चितवनमा पालिएका हात्ती उपहार दिन लागिएको हो।
कतारका राजा भोलि स्वदेश फर्किने कार्यक्रम छ ।