काठमाडौं । जनआन्दोलन सम्पन्न भएको दिन बैसाख ११ गते आज १८औँ लोकतन्त्र दिवस मनाइँदैछ । १९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको र जनताले जितेको दिनको सम्झनामा लोकतन्त्र दिवस मनाउने गरिन्छ ।
१९ दिनसम्म चलेको जनआन्दोलनबाट २०६३ साल बैसाख ११ गतेदेखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । संसद् पुनर्स्थापना भएको दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाइने गरिएको छ।
०६२-६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो । ०६३ सालमा वैशाख ११ गते संसद् पुनर्स्थापनासहित नागरिकले अधिकार पाएका थिए ।
तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ गते संसद विघटित गरेर २०६३ बैसाख ११ गते पुनर्स्थापना गरेका थिए।
७ दल र सशस्त्र युद्धरत माओवादीबीच भएको १२ बुँदे समझदारीअनुसार ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध आन्दोलन भएको थियो। आन्दोलनरत दलले तयार पारेकै मस्यौदाका आधारमा राज ज्ञानेन्द्रले ०६३ बैसाख ११ गते राति संसद पुनर्स्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरेका थिए।
२०६३ जेठ ४ गते बसेको पुनर्स्थापित संसद बैठकले राजदरवारको अधिकार कटौती गरेको थियो। बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्तावसमेत पारित गरेको थियो। २०६३ मंसिर ११ मा माओवादी हतियार बिसाउँदै शान्तिपूर्ण राजनीतिमा आएको हो।
यसैको जगमा २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो। संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २ सय ४० वर्षदेखि रहेको राजसंस्थाको विधिवत अन्त्य गर्दै गणतन्त्र स्थापना भएको ऐतिहासिक घोषणा गरेको थियो। भने २०७२ असोज ३ मा नेपालको संविधान जारी भयो।
हाल लोकतन्त्र स्थापना भएको दिन बैसाख ११ र गणतन्त्र स्थापना भएको दिन जेठ १५ मा हुँदै आएको सार्वजनिक बिदा सरकारले कटौती गर्नुका साथै औपचारिक कार्यक्रम पनि आयोजना गरेको छैन। यसको सट्टा सरकारले संविधान जारी भएको दिन २०७२ साल असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाउने र सो दिन सार्वजनिक बिदा दिने गरेको छ।