पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना श्रीमान् स्वर्गीय मदन भण्डारीलाई सम्झेर भक्कानिएकी छन् ।
सोमबार ललितपुरको गोदावरीमा नेकपा एमालेले आयोजना गरेको हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रम सम्बोधनका क्रममा पूर्वराष्ट्रपति भण्डारी भक्कानिएकी हुन् ।
उनले श्रीमान् नेकपा एमालेका तत्कालीन महासचिव भण्डारीको निधनपछि आफ्नो राजनीतिक यात्राले नयाँ मोड लिएको बताएकी थिइन् । मदन भण्डारीलाई स्मरण गर्दा निकै भावुक भएकी भण्डारीले एमालेको प्रेरणा र प्रोत्साहन एवं जनताको चाहना अनुरुप मदन भण्डारीका अधुरा सपना साकार पार्न राजनीतिमा सक्रिय हुने परिवेश सिर्जना भएको बताइन् ।
'एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ०५० जेठ ३ गते रहस्यमय जीप दुर्घटनामा निधन भएपछि मेरो राजनीतिक यात्राले नयाँ मोड लिएको थियो,' उनले भावुक हुँदै भनिन्।
त्यस्तै भण्डारीले कम्युनिष्ट आन्दोलनमा पटक पटक देखिने गरेको फुट र विभाजनका बारेमा गम्भीर रुपमा समिक्षा गर्नुपर्ने बेला आएको पनि बताइन्।उनले मदनले विकास गरेको जनताको बहुदलीय जनवादलाई थप कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औंल्याइन्। उनले संविधानले मार्ग निर्देशन गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि सबै एकजुट भएर काम गर्नुपर्ने बताइन्।
भण्डारीलाई आज नेकपा एमालेले राष्ट्रिय गौरवको पदकबाट सम्मान गरेको छ। अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भण्डारीलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
पूर्वराष्ट्रपति भण्डारीले आफूलाई पार्टीले दिएको सम्मानले थप जिम्मेवारी महशुस भएको प्रतिक्रिया दिइन्।