काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल सुरू भएको छ । प्रतिवेदनमाथि छलफल गर्न ६ वटा समूह बनाइएको छ ।
लतिलपुरको गोदावारीस्थित सनराइज हलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमाथि छलफल सुरु भएको हो ।
परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमाथि पनि एकैसाथ छलफल सुरु भएको छ ।
लोकतान्त्रिक भित्तोको व्यवस्था
सो पार्टीका केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले समूहगत छलफलका साथै व्यक्तिगत र लिखितरुपमा थप विचार-सुझाव दिन चाहने प्रतिनिधिका लागि लोकतान्त्रिक भित्तोको व्यवस्था गरिएको जनाए ।
उक्त भित्तोमा लिखित सुझाव टाँस्न सकिने र नेतृत्वले त्यसलाई अध्ययन गरी प्रतिवेदनमा आवश्यकताका आधारमा समावेश गर्नेछ ।
'विभिन्न समूह र लोकतान्त्रिक भित्तो गरी दुवै माध्यममा आमरुपमा लोकतान्त्रिक विधिबाट प्रतिवेदनहरुमाथि उत्साहजनकरुपमा छलफल भइरहेको छ', नेता गौतमले भने ।
बैठकमा दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी छन् ।