मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथो पटक विश्वासको मत लिने भएका छन् । त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ।
केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेस सरकारबाट गत चैत ५ गते नेपाली कांग्रेस बाहिरिएको थियो भने नेकपा एमाले सहभागी भएको थियो। कांग्रेसले सरकारबाट बाहिरिँदै चैत ९ गते सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।
सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । मुख्यमन्त्री यादवले १५ महिनामा यसरी विश्वासको मत लिन लागेको चौथो पटक हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा रहेको मधेस सरकारमा अहिले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र नेकपा एकीकृत समाजवादी रहेका छन्।
१०७ सदस्यीय मधेस प्रदेश सभामा एमाले सबैभन्दा ठूलो दल छ। उसका २५ सांसद छन्। नेपाली काँग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमत पार्टीका १३ सांसद छन्।
यस्तै नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टीका १–१ र एक स्वतन्त्र सांसद छन् । मधेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।