काठमाडौं : एसीसी प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हङकङविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर बलिङ गरेको नेपालका लागि करण केसीले हङकङको विकेट लिएका हुन्। २.१ ओभरमा हङकङका मार्टिन कोएत्जी केसीको बलमा आसिफ शेखबाट क्याच आउट भएका हुन्। उनले ७ बलमा ८ रन बनाए।
नेपालका लागि पहिलो विकेट करण केसीले लिएका थिए । उनले हङकङका ओपनर मार्टिन कोयट्जीलाई विकेट किपर आसिफ शेखको हातबाट क्याचआउट गराए ।
१२ रनमा पहिलो विकेट गुमाएपछि अंशुमान रथले कप्तान निजाकत खानसँग मिलेर इनिङ सम्हाल्ने प्रयास गरेका थिए । तर, ५.४ ओभरमा दीपेन्द्रले सटिक थ्रो गर्दै निजाकतलाई रनआउट गरेपछि हङकङ दबाबमा आएको छ ।
गुल्शन झाले फ्याकेको बलमा एक रन चोर्ने प्रयास गर्दा निजाकतले विकेट गुमाएका हुन् । दिपेन्द्रले मिड विकेटबाट फ्याकेको बल सिधै स्टम्पमा लागेको थियो । डाइभ प्रयास नगरेका निजाकत केही इन्च पछाडि परे ।
नेपाल पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई पराजित गर्दै विजयी भएको थियो। समूह ‘ए’मा साउदी अरब दोस्रो,मलेसिया तेस्रो, हङकङ चौथो स्थानमा छन्। हङकङले सेमिफाइनलको यात्रा तय गर्न आज नेपाललाई हराउनुपर्ने दबाब छ।
समूह ‘बी’मा ओमान,युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। समूह ‘बी’मा ओमान चार अंकका साथ शीर्ष स्थानर युएई चार अंककै साथ दोस्रो स्थानमा छ।
अघिल्लो संस्करणमा पनि नेपाल प्रिमियर कपको विजेता बन्दै एसिया कपमा छनोट भएको थियो। समूह चरणको अन्तिम खेल वैशाख ४ गते साउदी अरबसँग हुनेछ। प्रतियोगितामा वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ।