काठमाडौं । नेपाली कांग्रेसले हिउँदे अधिवेशन अन्त्यको निर्णय गरेर सरकारले संसदीय मूल्य मान्यता र अलोकतान्त्रिक काम गरेको टिप्पणी गरेको छ ।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद अधिवेशन अन्त्य गरेर सरकार भागेको निष्कर्ष निकालेको हो ।
कांग्रेसका मुख्य सचेतक रमेश लेखकले बजेट अधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै पनि अप्रत्याशितरूपमा चालू अधिवेशन अन्त्य गरेकोमा गम्भीर ध्यानाकर्षण भएको बताए ।
यसप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रमुख सचेतक लेखकले भने, ‘सरकारले सदनमा बहुसंख्यक सदस्यहरुले उठाएको विषयबारे गम्भीर, सार्थक गरी निष्कर्षमा पुग्नुपर्नेमा जनताको सरोकारको विषयमा बेवास्ता गर्दै संसदबाट भाग्ने काम गरेको छ ।’
मन्त्रीको संलग्नता थिएन भने छानबिन समिति किन बनाइएन भन्ने प्रश्नको जवाफ सरकारसँग नभएको उल्लेख गर्दै उनले कांग्रेस सधैँ सहकारी पीडित जनताको पक्षमा दृढ रहेको बताए ।
संसदीय दलको बैठकपछि बोल्दै लेखकले सरकारको तानाशाही प्रवृत्तिका कारण आफूहरूले २ दिनमात्रै संसद अवरोध गरेको र यसको जिम्मा सरकारले लिनुपर्ने जिकिर गरे ।
कांग्रेसले यो विषयमा मन्त्री लामिछानेमाथि छानबिन माग गर्दै संसद अवरुद्ध समेत गरेको थियो । यही सन्दर्भमा गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आइतबार मध्यराति १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।