सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबी पेश गर्ने समय आज सकिँदै छ। मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले दश दिनको म्याद दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आइतबार साँझ पाँचबजे सम्मको समय दिएका थिए।
अहिलेसम्मको अवस्थामा प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारको दाबी गर्ने बताइएको छ। तर नाउपा भित्रको आन्तरिक विवादले अहिले पनि सरकार दाबी बारे स्पष्ट भएको छैन। नाउपाको अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षले आफू पक्षका सांसद कैलाश चौधरीलाई मुख्यमन्त्रीको रूपमा अगाडी सार्ने तयारी गरेकी छन्।
एमाले माओवादीसहितको सत्ता गठबन्धनमा अहिलेसम्म नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री पाउने भद्र सहमति भएको बताइएको छ । तर, नेकपा एकीकृत समाजवादीले पनि आफ्नो दाबी कायमै राखेको छ । नागरिक उन्मुक्ति पार्टीभित्रको तीव्र विवादले मुख्यमन्त्रीको लिखित सहमति हुन ढिलाइ भइरहेको नेताहरूले बताउँछन् ।
अहिलेको नयाँ सत्ता समीकरणमा एमालेका १०, माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्तिका ५ (घनश्याम चौधरी निलम्बन भएपछि), एकीकृत समाजवादीका ४ सांसद छन्। सरकार गठनका लागि २७ सांसदको आवश्यकता छ । अहिले आह्वान भएको १६८ (२) अनुसार सरकार गठन हुन नसकेमा पुनः १६८ (३) बमोजिम प्रदेश सरकार सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने छ।
नागरिक उन्मुक्ति पार्टीबाट मुख्यमन्त्री पाउँदा कसलाई बनाउने भन्ने विषयमा विवाद चर्किएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउने भन्दै अघि सारेकी छन् भने चार सांसदले लक्ष्मण किशोर चौधरीको नाममा सहमति गरेका छन् ।
यता नेकपा एकीकृत समाजवादीले पनि नाउपाभित्र विवाद रहेको र सात प्रदेशमध्ये एक प्रदेशमा आफ्नो मुख्यमन्त्री हुनुपर्ने अडान राखेको छ ।
एमाले र माओवादी भने सुदूरपश्चिम प्रदेशमा नेतृत्व गर्ने भन्ने विषयमा लागेका छैनन् ।