काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यसअघि विश्व बैंकले चालु आर्थिक वर्षमा ३ दशमलव ३ प्रतिशतले नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण गरेको थियो ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसियाली विकास बैंक (एडिबी) को प्रकाशन एशियन डेभलपमेण्ट आउटलुक (एसियाली विकास परिदृश्य) २०८० ले आर्थिक वर्ष २०८०/८१ मा नेपाली अर्थतन्त्र ३.६ प्रतिशत (बजार मूल्यमा) ले वृद्धि हुने प्रक्षेपण गरेको हो। गएको वर्ष भने नेपालको अर्थतन्त्र १ दशमलव ८६ प्रतिशतले मात्रै बढेको थियो ।
बैंकले कर्जा क्षेत्रमा देखिएको सहजता, ब्याजदरमा आएको गिरावट, पर्यटन तथा कृषि क्षेत्रको सुधार एवं निर्माणाधीन केही महत्वपूर्ण जलविद्युत् परियोजनाको उत्पादन सुरु भएसँगै औद्योगिक क्षेत्रमा परेको सकारात्मक प्रभावका कारण नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएको छ ।
नेपाल सरकारको मौद्रिक नीतिमा क्रमिकरूपमा लचकता अपनाउँदै उपभोक्ता र लगानीकर्ताको विश्वास जित्ने र पछिल्लो छ महिनामा पुँजीगत खर्चमा तीव्रता दिने नीतिगत व्यवस्थाका कारण अर्थतन्त्र क्रमशः सुधारको दिशामा अघि बढेको बैंकले स्पष्ट गरेको छ ।
एडीबीका वरिष्ठ आर्थिक अधिकारी मानवर एस खड्काले यस आर्थिक वर्षमा नेपालमा कृषिको उत्पादन सन्तोषजनक रहने बताउनुभयो । उहाँले मलखादको व्यवस्थापनमा विगतमा जस्तो समस्या नरहेकाले र विपदबाट पनि धेरै क्षति नभएकाले कृषि उत्पादन सन्तोषजनक रहने बताउनुभयो । उहाँले ऊर्जा क्षेत्रमा सबस्टेशन, ट्रान्समिसन लाइन बनिरहनुले पनि अर्थतन्त्रमा सकारात्मक ऊर्जा प्रवाह गरेको बताउनुभयो । पर्यटकको आवागमनबाट पनि अर्थतन्त्रमा ऊर्जा थपिएको उहाँले उल्लेख गर्नुभयो ।
यो वर्ष आन्तरिक खपत बिस्तारै बढेको, जलविद्युत् उत्पादन बढेको र पर्यटन क्षेत्रमा पुनरुत्थान भएको, इन्धनको मूल्य घटेको तथा व्यापार घाटामा कमी र रेमिट्यान्सको वृद्धिले समग्र आर्थिक वृद्धिमा सकारात्मक असर परेको एसियाली विकास बैंकले जनाएको छ । यस्तै आउँदो वर्ष अर्थात् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ८ पुग्ने एडीबीको अनुमान छ ।